अन्तरालमा वीपीका कवितामा भिजे दर्शकश्रोता



अमृता जैसी । नेपालगन्ज ।

नेपालगन्जस्थित वेस्टर्न मार्टको दोस्रोतलामा रहेको एउटा हलमा भुइँमा बिछ्याइएको सेतो तन्नामाथि पलेटीमा बसेका थिए–नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलगायत पाँच सय रूपैयाँको टिकट लिएर कविता सुन्न आएका बाँके बर्दियाका साहित्यानुरागीहरू ।

काठमाडौँबाट सन्जोगले नेपालगन्ज आइपुगेका कवि नवराज लम्साल र सुर्खेतबाट आइपुगेका थिए यसैवर्षको जगदम्बाश्री पुरस्कारले पुरस्कृत वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरी पनि पलेटीमै बसेर कवितामा झुमिरहेका थिए । मञ्चमा संगीतकर्मीहरूसहित कवि भएका कवि वीपी अस्तुले कार्यक्रमको सुरुमै भने, ‘यो मेरो हजुर आमाको समयको प्रेमकहानी हो’ । अनि हार्माेनियम, गितार र बाँसुरीको धुनमा सुनाए कविता, ‘हामी त पिरती लाउँथ्यौँ ।’

नेपालगन्जमा कुनै कविको एकल कविता वाचन भएको पहिलो कार्यक्रममा प्रस्तुत भएका कवि वीपी अस्तुका कवितासँगै सहभागीहरू पनि हाँसे, रोए । अन्तरालले आयोजना गरेको पाश्र्व संगीतसहित कविता प्रस्तुतिको कार्यक्रममा अस्तुले रोजगारीका लागि परदेशिनुपर्ने पीडामाथि लेखेको कविता ‘नखस्नु’ सुनाउँदा आफूलाई सम्हाल्न सकेनन् । उनले उक्त कविता वाचन गरिरहँदा हलभरी पनि सुक्क सुक्कको आवाज गुञ्जिरहेको थियो ।

अस्तुले परदेशिन नसकेका युवाहरूको अनुभूतिमाथि लेखेको ‘थुप्रै कारण’ र सन्तान परदेशिएका अभिभावकको अनुभूतिमाथि लेखेको ‘बिर्सेछौँ’ शीर्षकको कविताको भावमा पनि दर्शकश्रोताहरू एकाकार भएको देख्न सकिन्थ्यो । कवि अस्तुले ऋग्वैदिक नारी ऋषि वागाम्भृणिलाई विम्ब बनाएर अहिलेका नारीहरूको भोगाइलाई प्रस्तुत गरेको कविता ‘वागाम्भृणि’ले आफूहरूलाई उद्वेलित बनाएको सहभागीहरूले बताए ।
यसैगरी कवि अस्तुले आत्मानुभूति प्रधान कविता ‘एकदिन रूख हुनेछु’,मा भने,

हुरीमा पनि जीवनगीत गुनगुनाइरहनेछु
झरीको पनि यात्रागान सुनाइरहनेछु
आफ्नै तरंगहरूदेखि भागिहिँड्ने छैन
मर्न तयार हुनेछु, तर माटो छोड्ने छैन
एकदिन रूख हुनेछु ।

‘आत्मबन्दी’ ‘गन्तव्य’ कविता सुनाउँदा दर्शकश्रोताहरू एकाग्रपूर्ण भएर कविता सुने । उनले आफैँलाई आलोचना गरेको भने सुनाएको ‘डरपोक समय’ कवितामा भने,

म इतिहासकै डरपोक समय
जब जब डर लाग्यो मैले चिच्याएर कसैको जयगान गाएँ
सुरक्षा खोज्दै राक्षसको शरणमा पुगेँ

यस्तै ‘डिप फेक’मा उनले वर्तमान समयको दुर्बलतामाथि बोले भने ‘प्रेमकल्प’ र ‘दाग’ कवितामा प्रेमिल भएर प्रस्तुत भए । उनले पर्यावरण ह्रासको समस्यामाथि लेखिएको पानीको चेनावनी कवितामा भने,

ए मान्छे
तैले कहिल्यै तेरो डिएनएलाई सन्चो बिसन्चो सोधेको छस् ?
उसका आँखाहरूलाई प्यास लागेको पो छ कि ?
तेरो मरुभूमिमा रुपान्तरित मस्तिष्कले जन्माएको
घमण्डका क्याक्टसबारे तेरो के धारणा छ ?

कवि अस्तुले पर्यावरण ह्रासकै समस्यामाथि लेखेको कविता ‘बिन्दु’ र नेपालगन्जको एक सीमान्तकृत समुदायको समस्यामाथि लेखिएको ‘अनिदो जीवन’ शीर्षकको कविता पनि कार्यक्रममा सुनाए । कविता सुनिसकेपछि कवि लम्सालले भने, ‘अहिले कविता कि वस्तुवादी भएर लेखिएका छन् कि आत्मगत भएर । वीपीले सुनाएका कवितामा वस्तुवादी भएर पनि आत्मगत चिन्तनको गहिरो अनुभूति मिसिएको पाएँ । हाम्रो आयु एक वर्ष बढाइदिएकोमा वीपी तिमिलाई धन्यवाद ।’

वरिष्ठ संगीतकर्मी गिरीले आफूले संगीतका धेरै कार्यक्रममा सहभागिता जनाए पनि अन्तरालको कार्यक्रम शब्द र संगीतको बेजोड संगमको रूपमा उत्कृष्ठ कार्यक्रमको रूपमा पाएको बताए । साहित्यकार ऋचा लुईँटेलले भनिन्, ‘अस्तुका कविता सुनिरहँदा आफैँ कविताको भावमा आफू पनि एकाकार भएको जस्तो लाग्यो । कविताका पात्रहरूजस्तै आफू पनि भोक्ता भएको हुनाले झनै मलाई मनसम्मै छोएको अनुभूति भयो।’

लेखक नरेन्द्रजंग पिटरले भने, ‘आज कविता नसुन्ने भन्ने ठानिनेहरूले पनि पूरा समय बसेर कविता सुने । अन्तरालले वीपीलाई सुन्ने मञ्च दिएर जरुरी काम गरेको छ ।’ डेढ दशकबढी समयदेखि सञ्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था अन्तरालले करिब डेढ दशकपछि पलेटीँमा बसेर साहित्य र संगीत श्रवण गर्ने कार्यक्रम आयोजना गरेको हो ।

यसअघि साहित्यकै गजल विधामा भोजराज शर्मा नादिरका गजल गायनको कार्यक्रम गरेको अन्तरालले कवितामा पाश्र्व संगीतको पहिलो कार्यक्रम गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘अब यस्तो कार्यक्रमको आयोजनालाई निरन्तरता दिनेछौँ । अहिले एआईले गीत गाउने समयमा कवि र संगीतकर्मीहरूलाई आँखैअघि बसेर पलेटीमा सुन्ने कार्यक्रम अर्थपूर्ण र प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ,’ शाहले भने ।

वीपीलाई पाश्र्व संगीतमा गायक महेन्द्र सेडाई, तबलामा अनुभव अधिकारी, हमिङमा भोकलिष्ट सुरज घिमिरे, गितारमा रेनिस सेडाई, बाँसुरीमा समराज पोखरेल लगायतले साथ दिएका थिए । अन्तराल शृंखला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भइरहेको शाहले बताएका छन्। ‘कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा श्रोताहरूले मन पराउने हाम्रो विश्वास छ,’ अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, ‘अन्तरालको यो मञ्चमा आगामी महिनाहरूमा कला, साहित्य, गीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार