
नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा पाश्र्वसंगीतसहित आज शनिबार हुने कविता प्रस्तुति कार्यक्रमको तयारी पूरा भएको छ । अन्तरालले आयोजना गरेको कवि बीपी अस्तुको एकल कविता वाचनको अभ्यास (रियल्सर्ल) लगायतको तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा कवि अस्तुका एक दर्जनबढी कविताहरू पाश्र्व संगितसहित प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
आत्मआलोचना, समाज, प्रेम र वातावरण सम्बन्धी कविता प्रस्तुत गर्न लागेको कवि अस्तुले बताएका छन् । पाश्र्व संगीतका लागि गायक महेन्द्र सेडाई, तबलामा अनुभव अधिकारी, हमिङमा भोकलिष्ट सुरज घिमिरे, गितारमा रेनिस सेडाई, बाँसुरीमा समराज पोखरेल लगायतले साथ दिँदैछन् । लामो समयपछि संगीतसहित कार्यक्रम हुनुले यस क्षेत्रको साहित्यको गरिमा बढाएको महसुस भइरहेको छ ।
कार्यक्रममा वरिष्ठ वाध्यवाधक तथा लोकगीत संकलक प्रेमदेव गिरी र वरिष्ठ लेखक तथा सञ्चारकर्मी डा. नवराज लम्सालको विशेष सहभागिता हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् । नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सःशुल्क सहभागिताको व्यवस्था गरिएको छ । कार्यक्रममा प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।
अन्तराल डेढ दशक बढी समयदेखि सञ्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो । कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । अन्तराल शृङ्खला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भइरहेको आयोजकले जनाएको छ ।
‘कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरूले मन पराउने हाम्रो विश्वास छ,’ अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, ‘अन्तरालको यो मंचमा आगामी महिनाहरूमा कला, साहित्य, सगीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ । कार्यक्रम निर्धारित समयमा सुरु हुने र दर्शकहरू पलेंटीमा बस्ने प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ । कार्यक्रम अघिको आधा घण्टा भलाकुसारी र जलपानका लागि छुट्याइएको छ । कार्यक्रम सुरु हुनु १० मिनेट अघि हलको ढोका खुल्ने र एक घण्टा कविता प्रस्तुतिको कार्यक्रम रहनेछ ।









प्रतिक्रिया दिनुहोस्