पोखरा ।
छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप आगामी माघ ९ देखि १७ गतेसम्म हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपमा ४ विदेशी टोलीसहित १४ टोलीले सहभागिता जनाउनेछन् । पुरुष र महिलातर्फ ७–७ टोलीले सहभागिता जनाउने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र भारतको गुजरात भलिबल क्लब विदेशी टोलीको रूपमा रहनेछ । स्वदेशीको टोलीको रूपमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपिएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब, थाईल्याण्ड र थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रूपमा सहभागी छन् । तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेष्ट भलिबल क्लब महिलातर्फ सहभागी छन् ।
यसपटक गत वर्षको तुलनामा पुरस्कार राशीमा वृद्धि गरिएको छ । पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रूपैयाँँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रूपैयाँँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रूपैयाँँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रूपैयाँँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए । खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रूपैयाँँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्