कैलाली ।
आगामी निर्वाचनका लागि कैलाली जिल्लामा निर्धारण गरिएको २३७ मतदानस्थलमध्ये १०८ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन् । जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधिसभाको फागुन २१ गते तोकिएको निर्वाचनका लागि निर्धारण गरिएका ती मतदानस्थलहरू सुरक्षाका दृष्टीले अतिसंवेदनशिल सूचीमा परेका हुन् ।
१०६ मतदानस्थल संवेदनशील सूचीमा छन् भने २३ मतदानस्थल मात्रै सामान्य सूचीमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार २३७ मतदानस्थलहरूमा ६२९ वटा मतदान केन्द्र तोकिएको छ । अधिकांश मतदानस्थल संवेदनशील र अतिसंवेदनशील भएपनि सुरक्षा व्यवस्थापन चूनौतीपूर्ण बनेको छ । आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट खोखिएका हातहतियार, फरार कैदीबन्दी, खुला सीमा तथा सीमापार अपराधका खतराले निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिम रहेकाले मतदानस्थलको वर्गीकरण गरिएको छ ।
नागरिकका लागि सुरक्षित भई मतदान गर्ने वातावरण बनाउनुपर्नेमा राज्यका सबै निकाय गम्भीर हुनुपर्ने देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सुदूरपश्चिम संयोजक खडक जोशीले पछिल्लो परिस्थितिमा सबै राजनीतिक दल र जेनजी समूह निर्वाचन प्रक्रियामा एकजुट हुनुपर्नेमा बताए । उनले अहिलेको राजनीतिक निकासको बाटो प्रतिनिधिसभाको निर्वाचन नै रहेको हुँदा निर्वाचनका लागि जेनजी, राजनीतिक दल सबै निर्वाचनका लागि अग्रसर हुनुपर्ने बताए ।
हतियार लुटिनु, कैदी फरार हुनु जस्ता घटनाले सुरक्षाकर्मीको मनोबलसमेत प्रभावित भएको जोशीले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा रणनीति तयार पारिएको जनाएको छ । सो रणनीति अनुसार अतिसंवेदनशील मतदानस्थलहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी तीन वटै सुरक्षा निकायलाई परिचालन गरिने बताए ।
उनले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन आधुनिक उपकरण व्यवस्थापनका लागि निर्वाचन आयोगसँग माग गरिएको जनाए । ‘खुला सीमा र पछिल्लो सुरक्षाजन्य अवस्थालाई मध्यनजर गर्दै बहुआयामिक रणनीति तयार गरिएको छ,’ उनले भने, ‘राजनीतिक दलहरू जिम्मेवार बने निर्वाचन सफल बनाउन ठूलो चुनौती छैन । सबै पक्ष तयार भए निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ ।’
निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचनको तयारी तीव्र बनाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम यसअघि नै सकिएको छ । मतदान प्रक्रियामा आवश्यक सामग्री, जनशक्ति व्यवस्थापन लगायतका तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।
‘मतदाता नामावलीसँगै आवश्यक सामग्रीका लागि निर्वाचन आयोगसँग माग गरिसकेका छौँ,’ उनले भने, ‘मतदानस्थलमा पानी, शौचालयलगायतका आधारभूत व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ । केही सामग्री हामीसँग उपलब्ध छ ।’









प्रतिक्रिया दिनुहोस्