बुटवल ।
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा भारतीय उद्योगीहरूको अवलोकन गरेका छन् । रुपन्देही उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवमा भारतीय उद्योगीहरूले अवलोकन गरेका हुन् । उक्त अवसरमा भारतीय व्यवसायीहरूसँग अन्तरदेशीय व्यापार साझेदारीका विषयमा अन्तक्र्रियासमेत गरिएको छ ।
भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन तथा अन्तक्र्रिया गरेको हो । प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरहरूमा रहेका औद्योगिक क्षेत्रका संस्थाहरूलाई भ्रमणको निमन्त्रणा गरेको थियो ।
सोही क्रममा यसअघि गोरखपुरको औद्योगिक क्षेत्रको एक टोलीले प्रदर्शनीको अवलोकन गरिसकेको आयोजक रुपन्देही उद्योग वाणिज्य संघले जनाएको छ । बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरूको टोलीलाई प्रदर्शनीको अवलोकन तथा दुवै क्षेत्रमा उद्योगी व्यवसायीहरूलाई सहज बजार प्रबन्धनका विषयमा अन्तक्र्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक किरण खरेलले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा देखिएको ठूलो उत्साहलाई देखेर भ्रमण टोलीमा आएका भारतीय उद्योगीहरू निकै खुसी भएका छन् । नेपालमा उद्योगको साथै प्रर्यटन प्रवद्धर्नमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको उनले बताए । संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले भारतीय उद्योगीहरूको उपस्थितिले महोत्सव झन प्रभावकारी भएको उनले बताए । भ्रमणमा गीडा औद्योगिक क्षेत्रको नेतृत्व गरेर आएका गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै धेरै उत्साह नेपाली उद्योगी र अवलोकनकर्तामा पाएको बताए ।
‘हामीले भारतमा बस्दा केही नेपाली साथीहरूसँग मात्रै कुरा भएको थियो तर एकै प्रदर्शनीमा यति धेरै सहभागिता देखेर हामीले त नेपालमा ठूलो उद्योग र पर्यटनको सम्भावना देखेका छौँ, हामी अब सहकार्य गरेर जानसक्छौँ, धेरै क्षेत्रमा सहकार्यका आधार यो भ्रमणले देखायो, निकै खुसी छौँ’ उनले भने । महोत्सव आगामी पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।








प्रतिक्रिया दिनुहोस्