
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मंसिर २८ गते गर्भ खसेको शिशुको अन्त्येष्टि गर्न लाग्दा जीवनका संकेतहरू देखिएको घटनापछि उत्पन्न प्रतिक्रियाहरू सेलाउन नपाउँदै अर्को एक शिशुको प्रसुति गराउने क्रममै ज्यान गएको घटना सार्वजनिक भयो । उक्त घटनामा आफन्तहरूले अस्पतालका चिकित्सकको लापरवाहीले शिशुको ज्यान गएको आरोप लगाइरहेका छन् ।
नेपालगन्ज– ११ कि २६ वर्षीया ती गर्भवति महिलालाई सामान्य अवस्था रहेको भन्दै चिकित्सकहरूले सिजेरियन अर्थात् अप्रेसन गरेर भन्दा पनि सामान्य रूपमैै सुत्केरी गराउने प्रयास गर्दा शिशुको मृत्यु हुन पुगेको अस्पतालले नै स्वीकार गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घटनामा शिशु उल्टो रहेपनि आमाको सामान्य अवस्था र डेलिभरीको प्रक्रिया पनि सामान्य नै देखिएपछि अप्रेसन गर्नुभन्दा सामान्य रूपमैै सुत्ेकरी गराउन पर्यत्न गर्दा शिशु बचाउन नसकिएको बताए।
डा. सुवेदीका अनुसार अप्रेसन गर्दा आमालाई पनि लामो समयसम्म अप्ठ्यारो हुने भएकोले सरकारले नै सकेसम्म सामान्य रूपमैै सुत्केरी गराउन प्रोत्साहन गर्छ भने चिकित्सक र स्वास्थ्यकर्मीहरूको प्रयास पनि सकेसम्म नर्मल डेलिभरी गराउनेमै हुन्छ । उक्त सुत्केरीको केशमा पनि सामान्य रूपमैै सुत्केरी गराउन खोजिएको बताउँदै उनले भने, ‘स्वास्थ्यकर्मीहरूको डिसिजन के थियो भने नर्मल नै भइरहेको छ । २३ सय ग्रामको बच्चा नर्मर्ली नै हुनसक्छ, किन अप्रेसन गर्नुपर्याे भन्ने उहाँको डिसिजन थियो ।’
अन्तिम समयमा आएर अरु सबै भाग बाहिर आएपनि टाउका आउन नसकेपछि अप्रेसनको तयारी गर्दागर्दै शिशुको मृत्यु हुन पुगेको उनले बताए । बिरामीका आफन्तहरू पनि आफूहरूले अप्रेसन गर्नका लागि आग्रह गर्दा पनि सामान्य सुत्केरी नै हुन्छ भनेर भनिएपनि अन्तिममा बच्चा नै गुमेको बताइएको भन्दै आक्रोश पोखिरहेका छन् । आफन्तहरू चिकित्सकलाई स्वास्थ्यकर्मीहरूले समयमै सुत्केरी आमाको अवस्थाबारे खबर नगरेकोले शिशु नै गुमाउनुपरेको बताउँछन् ।
यस सम्बन्धमा सम्बद्ध स्वास्थ्यकर्मीलाई निलम्बनमा राखेर छानबिन सुरु गरिएको जानकारी दिँदै अस्पतालका मेसु डा. सुवेदीले आगामी दिनमा निर्णय प्रक्रिया चुस्तता ल्याउन, उपचारमा परिवारको कुरालाई गम्भीरतापूर्वक लिन निर्देशन दिइएको जानकारी दिएका छन् । यसअघि मंसिर २८ गते प्रसुति वार्डबाटै मृत भनेर परिवारजनलाई सुम्पिएका २३ हप्ता अर्थात् पाँच महिनामै गर्भ खसेर जन्मिएका शिशुमा अन्त्येष्टि गर्न लागेको बेला जीवनका संकेतहरू देखिए । त्यसपछि आफन्तहरूले उक्त शिशुलाई नेपालगन्जको सन्जिवनी अस्पतालमा लगेर उपचारमा राखे । २९ गते उक्त शिशु मृत रहेको पुनः घोषणा गरियो ।
यो घटना चिकित्सा विज्ञानले दुर्लभ केशहरूमा हुने भनेर अध्ययन अनुसन्धानले बताएको जस्तै घटना भएको अस्पतालले दाबी गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै गर्भ खसेको अवस्थाबाट जन्मिएको अपरिपक्व शिशुबारे बिरामीका आफन्तहरूलाई सही तरिकाले बुझाउन नसक्दा अस्पताल र स्वास्थ्यकर्मीबारे अनावश्यकरूपमा सार्वजनिक टिप्पणीहरू भएका बताएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले उक्त दुर्लभ घटनाले परिवारजनमा परेको पीडाप्रति दुःख व्यक्त गरे । उनले उक्त घटनाबारे प्रश्न उठेपछि गठन गरेको अस्पतालको आन्तरिक छानबिन समितिले आफन्तहरूलाई सही तरिकाले बुझाउन प्रभावकारी सञ्चार र परामर्शमा कमजोरी भएको निश्कर्ष निकालेको जानकारी दिए ।
डा. सुवेदीले शिशु गर्भावस्थामा रहेको २३ हप्ता ५ दिनमात्रै पुगेको, तौल ६ सय १७ ग्राम मात्रै देखिएको, मुटुको चाल कम रहेको, आमालाई ज्वरो आएको, पाठेघरमा हुनुपर्ने पानी शून्यप्राय रहेको र रगतमा संक्रमणका लक्षणहरू देखिएको कारणले गर्भावस्थालाई निरन्तरता दिन नसक्ने अवस्था देखिएपछि आमाको जीवन बचाएर गर्भ खसाउनुपरेको बताए । गर्भ खसेपछि जन्मिएको शिशुमा जीवनका कुनै संकेत नदेखिएपछि आफन्तहरूको जिम्मा लगाएर पठाइएको उनको भनाइ छ ।
तर, २८ हप्ताभन्दा कमको गर्भ र एक हजार ग्रामभन्दा कम तौलको शिशुमा अपवादको रूपमा सस्पेण्डेड एनिमेशन र लजारस फेनमेननले लामो समयपछि पनि जीवनका संकेतहरू देखिनसक्ने सम्भावनाबारे परिवारजनलाई बुझाउन भने अस्पताल चुकेको डा. सुवेदीले स्वीकार गरे ।
डा. सुवेदीका अनुसार सस्पेण्डेड एनिमेशन भनेको जीवनक्रियाहरू सास, मुटुको धड्कन, पाचन प्रणाली अत्यन्तै न्यून वा लगभग रोकिएको अवस्थामा पुग्नु, तर व्यक्ति पूर्णरूपमा मरेको नहुने अवस्था हो ।
२३ हप्ताको शिशुमा फोक्सो, मुटु, स्नायु प्रणाली पूर्ण विकसित नहुने हुँदा शिशु मरेको जस्तो देखिने, मुटुको धड्कन स्टेथोस्कोपले समेत नसमात्ने उनले बताए । यस्ता शिशुमा सास र धड्कन देखिन नसक्ने स्तरमा झर्ने, केही समयपछि तातो, हावा वा हल्ला पाएपछि पुनः सक्रिय हुन सक्ने उनले बताए । यसैगरी लजारस फेनमेनन भनेको सास रोकिसकेपछि र व्यक्तिलाई मृत घोषणा गरिसकेपछि पनि अचानक मुटु चल्नु वा सास आउनुलाई भन्ने गरिएको उनले बताए ।
चिकित्सा विज्ञानले यसो हुनुका कारणहरूमा सिपिआर गर्दा फोक्सोभित्र थुनिएको हावा बिस्तारै बाहिर निस्कँदा मुटुमा पुनः रक्तसञ्चार सुरु हुनु, मुटुको औषधिको ढिलो प्रभाव देखिनु, इलेक्ट्रोलाइट सन्तुलन अचानक ठीक हुनु, मुटुको विद्युतीय गतिविधि ढिलो तर अचानक सक्रिय हुनुलाई मानिन्छ । लजारस फेनमेनन अत्यन्तै दुर्लभ घटना हुने विभिन्न चिकित्सकीय जर्नलमा रिपोर्टमा पनि उल्लेख छ ।
तर, अस्पतालले २३ हप्ताको शिशुमा उक्त समस्या देखिन सक्ने कुरालाई ध्यानमा राख्दै यस विषयमा आफन्तहरूलाई पर्याप्त काउन्सिलिङ नभएको स्वीकार्दैे उक्त कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको छ । अस्पतालका एक नर्सका अनुसार बिहान ८ बजेतिर गर्भ खसेकोमा शिशुलाई दिउसो १२ बजेसम्म अस्पतालमै राख्नुको कारण पनि जीवनका संकेतहरू लामो समयपछि पनि देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी गर्नु नै थियो ।
डा. सुवेदीका अनुसार २३ हप्ता र ६ सय ग्राम तौल भएका शिशुलाई उच्च स्तरको प्रविधिसहितको सुविधा हुँदा पनि २० देखि ४० प्रतिशत शिशुहरू मात्रै बचाउन सकिने हुन्छ । त्यसरी बचाइएका शिशुमा पनि ८० देखि शतप्रतिशत शिशुमा स्नायुसम्बन्धि समस्याहरू देखिन सक्छन् ।
डा. सुवेदीले आगामी दिनमा यस्ता घटनामा अस्पतालले अधिकतम सतर्कता अपनाउने, प्रभावकारी सञ्चारलाई बढावा दिने र बिरामीलाई उपचारका निर्णयप्रक्रियामा अधिकतम सहभागिता गराउने प्रतिबद्धता जनाएका छन् ।
यी दुई घटनामा पूर्णतया लापरवाही नरहेपनि केही कमीकमजोरीहरू भएका अस्पतालले स्वीकार गरेको छ भने त्यस्ता कमजोरी आगामी दिनमा नदोहो¥याउने प्रतिबद्धता जनाएको छ । साथै अस्पतालका केही सीमितताका कारण प्रसुति वार्डको सेवाको व्यवस्थापनमा समस्या आइरहेको तर्फ पनि आम नागरिकले ध्यान पु¥याइदिन आग्रह गरेको छ ।
सेवाग्राहीहरू प्रसुति वार्डमा कार्यरत नर्सहरूले बिरामी र आफन्तप्रति रुखो व्यवहार गर्ने गरेको, कुरा र गुनासा सुन्नभन्दा हप्काउने गरेको र बिरामहरूको समस्यालाई बेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको छ । प्रसुति वार्डका नर्सिङ इन्चार्ज शिला शर्मा सबै नर्सहरूलाई एकै डालोमा हाल्न नहुने र नर्सहरूमाथिको चाप तथा नागरिकहरूको नर्सप्रतिको व्यवहार पनि सम्मानजनक बनाउन सबैले पहल गर्नुपर्ने बताउँछिन् ।
‘निजि अस्पतालले आमा सुरक्षा कार्यक्रम बन्द गर्दा चाप बढ्यो’
भेरी अस्पतालले नेपालगन्ज मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम बन्द गर्दा प्रसुति सेवाको चाप बढ्दा पनि गुणस्तरीय सेवामा समस्या आइरहेको बताएको छ । अस्पतालका मेसु डा. निराजन सुवेदीका अनुसार पहिले मासिक चार सय जनाले सुत्केरी सेवा लिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर सात सय सम्म पुगेका जानकारी दिए ।
पहिलेदेखि नै चाप बढी रहेकोमा आमा सुरक्षा कार्यक्रमको सुविधाका लागि भेरी अस्पतालमाथि मात्रै भर पर्नुपर्दा बढेको चापले सेवालाई व्यवस्थापनमा समस्या आइरहेको सुवेदीले बताए । अस्पतालले प्रसुति सेवा लिन आएका कसैलाई पनि फिर्ता नपठाउने नीति लिएकाले चाप बढेको बेला भुईँमै राखेर पनि सेवा दिनुपरेको उनको भनाइ छ ।
एक सिफ्टमा दुई देखि ३ जनाले २० जनासम्म बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको डा. सुवेदीले जानकारी दिए । प्रसुति सेवातर्फमा नर्सिङ इन्चार्ज शिला शर्माले अहिले प्रसुडि वार्डमा १८ जना नर्सहरू रहेकोमा तीन सिफ््टमा बाड्दा एउटै नर्सले एकजना बिरामीलाई सेवा दिनुपर्ने मापदण्ड रहेकोमा तीन देखि पाँचजनासम्म सुत्केरीलाई हेर्नुपर्ने बाध्यता रहेको बताइन् ।
प्रसुति गृहको योजना अलपत्र
भेरी अस्पतालको गुरुयोजनामा अलग्गै प्रसुति गृह बनाउने योजना छ । उक्त गृहका डीपीआर समेत बनिसकेको छ । तर, सरकारले बजेटको व्यवस्था नगर्दा योजना अलपत्र परेको छ । अस्पतालमा बढिरहेको सेवाग्राहीको चापलाई धान्न अस्पतालमा प्रसुति गृह निर्माण गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।
४५ करोड बढीको लागत अनुमान गरेर डीपीआर बनाइए पनि प्रसुति गृहको निर्माणका लागि बजेट नै व्यवस्था हुन नसक्दा योजना अघि बढ्न सकेको छैन । अप्रेसनलगायत सबै सेवा उक्त भवनबाटै दिने गरी अस्पतालको परिसरमै ३ कठ्ठा जमिनमा प्रसुती गृह निर्माण गर्ने योजना रहेको छ । यस योजनालाई चुनावका बेला सबै जनप्रतिनिधिहरूले चुनावी एजेण्डाका रूपमा उठाउने गरेपनि बजेट व्यवस्थापनका लागि प्रयास भने गर्ने गरेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्