अहिले शिक्षा वा विद्या त्यो दिशाबाट भन्दा पनि अरुले भन्दा धेरै सम्पत्ति कमाउने मूल्य र मान्यताबाट अघि बढेको आभास भइरहेको छ । त्यसैले आजभोलि पढेलेखेका मानिसहरू विशाल छाती भएका दिलदार स्वभावका भन्दा पनि टाठाबाठा स्वभावका भनेर चिनिन्छन् । महात्मा गान्धीले शिक्षाले मानिसलाई इमान्दार होइन कि बाठो बनायो र विद्याका साथ जीवनको आदर्श उच्च हुँदैन भने पढ्नु व्यर्थ छ पनि भनेका छन् । बुढाले भनेर मात्र के गर्ने । अहिलेको शिक्षाले त्यस्तै त्यस्तै गरिरहेको छ ।
जीतबहादुर शाह
कतिपय परिवारका सदस्यहरूको बीचमा साना साना कुराहरूको बारेमा मतभेद भइरहेको हुन्छ । मतभेद र कचिङ्गल पनि यसरी भइरहेको हुन्छ कि परिवारको सदस्यहरूको मानमर्यादामा आँच पुग्ला जस्तैगरी । परिवारका सदस्यहरूकै मान र प्रतिष्ठामा दाग लाग्ला जस्तैगरी । परिवारका सदस्यहरूकै अस्तित्व नामेट हुँदा पनि फरक नपर्ला जस्तैगरी । मतभेदका विषयवस्तु खासै ठूला र गहन हुँदैनन् । कहिले घरआँगन फोहर भयो भन्ने विषयमा हुन्छ । कहिले कोठा र शौचालयको विषयमा हुन्छ । कहिले भान्सा अस्तव्यस्त भयो भन्ने विषयमा हुन्छ । कहिले लुगाकपडाहरू राख्ने र थन्क्याउने विषयमा हुन्छ । कहिले कोठा र सवारीसाधनका कुची (साँचो) नभेटिएको विषयमा हुन्छ । यस्तै यस्तै । विषयवस्तुहरू मसिना भए पनि घरपरिवारका सदस्यहरूको बीचमा हुने यस्ता मतभेद र कचिङ्गलले उनीहरूको मानसिक शान्ति, मानसिक स्वास्थ्य र अन्ततः शारीरिक स्वास्थ्यमा समेत असर परिरहेको हुन्छ । त्यो कुराको बोध समय घर्किसकेपछि हुन्छ, जति बेला मतभेद र कचिङ्गल गरिएका मानिसहरू साथमा हुँदैनन् वा भए पनि स्वस्थ र निरोगी अवस्थामा हुँदैनन् ।
मानिसहरूको बीचमा हुने मतभेदका विषयवस्तु नियाल्दा यस्तो लाग्छ कि हामीले मान्छेलाई होइन कि बस्तुलाई महत्व दिइरहेका हुन्छौँ । हामीले सफा नभएको भनेर कचिङ्गल गरेको घरआँगन कुनै दिन हामीले छोडेर वा बेचेर अन्यत्रै कतै अर्कै घरआँगनमा पुगिसकेका हुन्छौँ । हामीले मतभेद र कचिङ्गलको विषय बनाइएको लुगाकपडा, भान्सा, शौचालय, कुची (साँचो) हामीसँग लामो समय रहँदैनन् जति हामी परिवारका सदस्यहरू लामो समय रहन्छौँ । हुन त परिवारका सदस्यहरू पनि लामो समयसम्म रहन्छन् भन्ने कुराको सुनिश्चितता त छैन नै । तथापि औषत अवधिको हिसाब गर्दा परिवारका सदस्यहरूको औषत आयु हामीले प्रयोग गर्ने वस्तु र मालसामानहरूको भन्दा बढी हुन्छ । हाम्रो बीचमा कचिङ्गल उत्पन्न गर्ने कतिपय मालसामानहरू त एकदिनको लागि वा एक छाकको लागि मात्रै पनि हुन्छन् । कहिले तरकारी र तरकारी पकाउने तरिकाको बारेमा कचिङ्गल हुन्छ । नुन वा चिल्लो कम वा बढी भयो भनेर पनि मतभेद हुन्छ तथापि तिनीहरू निमेषभरका लागि मात्र पनि हुने गर्दछन् । मतभेद वा कचिङ्गलको सिर्जना हुने अधिकांश विषयहरू माथि उल्लेख गरेझैँ मालसामानलाई महत्व दिएर उत्पन्न भएका हुन्छन् । महत्व पनि यत्ति दिन्छौँ कि उक्त मालसामानको सामु त परिवारको सदस्य केही पनि होइन । कचिङ्गल गर्दा यस्तो भाषा र शब्दावलीहरू प्रयोग गरिरहेका हुन्छौँ कि उक्त मालसामान र वस्तु त सधैँ चाहिने हो, बरु यो मान्छे चाहिने होइन ।
वास्तविकता भने त्यस्तो हुँदैन । हामीसँगबाट हाम्रो सामान गुम्यो वा हरायो भने हामी त्यो सामानको सम्झनामा तड्पिएर बिरामी वा डिप्रेसनको सिकार हँुदैनौँ तर सामुन्नेमा हुँदा कचिङ्गल गर्न मन लाग्ने परिवारको सदस्य हामी बीचबाट हरायो भने हामी त्यसलाई सजिलैसँग बिर्सन सक्दैनौँ । कतिलाई त आफन्तसँगको बियोगले जुनीभर पनि नकारात्मक असर पार्ने काम गरिरहन्छ । साँच्ची जो सामान हराए पनि फरक नपर्ने हुन्छ वा त्यत्ति हानी नपुग्ने किसिमको हुन्छ त्यसकै जतनको विषयलाई लिएर जीवनभरि सुखदुखका पहेलीहरूमा आवश्यक पर्ने मान्छेसँग हामी किन पौठेजोरी खेलिरहेका हुन्छौँ ? किन हामीले मान्छेको मन दुखाएर त्यो दुई पैसाको सामानको मूल्य दश रूपैयाँ बनाइरहेका हुन्छौँ ? विषयवस्तु सामान्य भए पनि यसले मानिसको पारिवारिक र सामाजिक जीवनमा निकै असर पु¥याइरहेको देखिन्छ । उल्लिखित सबै समस्याको कारण भनेको मानिस अनावश्यक रूपमा भौतिक वस्तुप्रति आकर्षित हुनु हो । चेतनाबिहीन तरिकाले आकर्षित हुनु हो । मानिसको लक्ष्य नै कुनै वस्तुको प्राप्तिबाट हुने सहजताभन्दा पनि उक्त वस्तु प्राप्ति नै मुख्य लक्ष्य भइदिनु हो । यसले भौतिकवादी दर्शनको आलोचना गर्न खोजिएको होइन । बरु भौतिकवादी दर्शनले त चेतनाको पनि कुरा गर्छ । वस्तुको दास हुने होइन कि वस्तुको मालिक हुने कुरा गर्छ । तर अहिले मानिस वस्तु अर्थात् सम्पत्तिको मालिक होइन कि सम्पत्तिको दास भएर बाँचिरहेका छन् । सारा मानिसहरूको मन दुखाएर सम्पत्ति कमाउने काम गरिरहेका छन् ।
हाम्रो मुलुकमै जेनजी आन्दोलनमा भएका दुखद घटनाहरूको अध्ययन गर्दा कतिपय मानिसहरू त्यसप्रकारले सम्पत्तिको सम्मोहनमा लिप्त भएका परिदृश्यहरू पटाक्षेप भएका छन् । नेपालीमा एउटा सामान्य उखान छ, काम साँच्यो आफूलाई, खाना साँच्यो अरुलाई । यसलाई सकारात्मक किसिमले सोच्दा, कर्म असल गरियो भने त्यसको प्रतिफल आफूले पाइन्छ तर खाना अर्थात् सम्पत्ति जम्मा गर्न थाल्यो भने त्यो सम्पत्ति आफूलाई भन्दा अरुलाई काम लाग्ने हुन्छ । अरुलाई भन्नाले गरिब, दःुखी र विपन्नलाई काम लाग्ने होइन कि चोरी, ठगी, डकैती र बदमासी गर्नेहरूलाई काम लाग्छ । पहिलेका मानिसहरू ज्ञान मीमांसाका लागि भौँतारिएर हिँड्थे । दुनियाँका अनुत्तरित प्रश्नहरूको उत्तर खोज्दै हिँड्थे । अध्ययन गर्ने र अध्यापन गर्ने भनेको भौतिक सम्पत्ति आर्जन गर्नका लागि हो भन्ने कुरा त विश्वमा औद्योगिक क्रान्ति पछि मात्र फैलिन थालेको हो । त्यत्तिबेला शिक्षा र विद्यालाई अज्ञानताबाट मुक्ति हुने उपायको रूपमा (या विद्या सा विमुक्तेय) हेरिन्थ्यो । विद्या वा शिक्षाले सम्पत्ति होइन कि बिनम्रता (विद्या ददाती विनयम्) दिन्छ भन्ने मूल्य र मान्यताबाट अघि बढेको थियो ।
अहिले शिक्षा वा विद्या त्यो दिशाबाट भन्दा पनि अरुले भन्दा धेरै सम्पत्ति कमाउने मूल्य र मान्यताबाट अघि बढेको आभास भइरहेको छ । त्यसैले आजभोलि पढेलेखेका मानिसहरू विशाल छाती भएका दिलदार स्वभावका भन्दा पनि टाठाबाठा स्वभावका भनेर चिनिन्छन् । महात्मा गान्धीले शिक्षाले मानिसलाई इमान्दार होइन कि बाठो बनायो र विद्याका साथ जीवनको आदर्श उच्च हुँदैन भने पढ्नु व्यर्थ छ पनि भनेका छन् । बुढाले भनेर मात्र के गर्ने । अहिलेको शिक्षाले त्यस्तै त्यस्तै गरिरहेको छ । दिगो विकासका कुरा जति गरे पनि शिक्षालाई दिगो विकाससँग गाँसेर अघि बढाउन सकिएन भने हामीले हाम्रै हातबाट हाम्रो पृथ्वीरुपी घरमा आगो लगाएर हामी आफैँ खरानी हुने स्थिति नजिकिँदै छ । अहिले धेरै मुलुकमा मानवताको रक्षा र विस्तारका लागि भन्दा पनि त्यहाँका भूगोलमा भएका विभिन्न खानी र सम्पदामा आधिपत्य जमाउनका लागि युद्ध र हिंसाहरू चर्किरहेका छन् । सुडान, जहाँ सुन खानीका लागि युद्ध भइरहेको छ, विडम्बना त्यहाँको युद्धबाट प्रताडित मानिसहरूलाई एउटा अनाजको दाना पनि सुनभन्दा महङ्गो र मूल्यवान भइरहेको छ ।
मानिसहरू मानवतालाई दाउमा राखी कतै सुनखानी त कतै तेलखानीका लागि युद्धहरू चर्किरहेका छन् । थाहा छैन, यो कुरा कसले कोबाट सिक्यो ? सुनखानी र तेलखानीका लागि मानिसहरूको छातीमा बम वर्षाउनेहरूबाट एउटा घरमा मालसामानलाई महत्त्व दिएर घरपरिवारको सदस्यमाथि कचिङ्गल गर्ने मानिसले सिक्यो वा त्यसको विपरीत ? मानवता विरुद्धको युद्धमा अन्तत जित्नेहरूको पनि हार नै भएको छ । किनभने कसैले पनि मैले यत्ति मानिसको हत्या गरेँ भनेर गर्व गरेको स्थिति छैन । विश्वविजेता सिकन्दरले समेत मृत्युको समयमा ‘मैले केही नलिएर रित्तो हात गएको छु’ भनेर विश्वलाई सन्देश दिएर गएका थिए । हिन्दूहरूको धर्मग्रन्थ अठार पुराणको सार भनेको ‘परोपकार पुण्याय, पापाय परपिडनम्’ हो । यो हिन्दूहरूको धर्म ग्रन्थले मात्र होइन कि संसारका जुनसुकै धर्महरूले पनि स्वीकार गरेको कुरा हो र शब्द यही उच्चारण नगरे पनि अरुको भलो गर्नु भनेको पुण्य कमाउनु हो र अरुलाई पीडा दिनु भनेको पाप कमाउनु हो भनेर सबैले स्वीकार गरेका छन् । तथापि कर्म भने यसको ठिक विपरीत गरिररहेका छन् । बाहिर जे भने पनि भित्रभित्रै परोपकार गर्छु भन्नेहरूले पनि पाप कर्म गरिरहेका छन् । सिधासाधा मानिसहरूलाई भ्रम भइरहेको छ कि परोपकार गर्ने भन्नेहरूले नै पाप कर्म त कसरी पो गरे होलान् र !
तथापि वास्तविकता भने यस्तै छ । जसरी कम्प्युटरमा एन्टिभाइरस उत्पादन गर्ने कम्पनीले नै भाइरस पनि उत्पादन गरिरहेको छ ठिक त्यसरी नै भ्रष्टाचारविरोधी कुरा गर्नेहरूले नै भ्रष्टाचारको खेती गरिरहेको अवस्था छ । कुरोको चुरो यस्तो भएपछि समाज सुध्रिन त समय लाग्छ नै । डा.कृष्णमूर्तिले भनेका पनि छन् कि यदि हामी मानवीय सम्बन्धमा एउटा सच्चा क्रान्ति ल्याउन चाहन्छौँ भने हाम्रो आफ्नै मूल्यमान्यता र दृष्टिकोणमा एउटा मौलिक क्रान्ति गर्नुपर्दछ, जुन समग्र समाजको आधार पनि हो । तर हामी आफैँमा आवश्यक र मौलिक रुपान्तरण गर्ने क्रान्तिबाट बच्न खोज्छौँ र संसारमा राजनीतिक क्रान्ति गर्ने प्रयास गर्छौँ जसले अरुभन्दा बढी रक्तपात र विपत्ति निम्त्याउने गर्दछ । पहिलेका विद्वानहरू ज्ञानको खोजीमा भौँतारिएजस्तै अहिलेका विद्वानहरू खुसी र समृद्धिको खोजीमा भौँतारिरहेका छन् । भौतिक सम्पत्तिले समृद्ध मानिसहरू बिल गेट्स, रतन टाटा, एलेन मस्क जस्ता विश्वविख्यात धनीहरूका अनुभवजन्य कुरा सुन्दा पनि बोध हुन्छ कि भौतिक सम्पत्तिभन्दा पनि जसको सकारात्मक मानवीय सम्बन्ध धेरैजनासँग छ, त्यो मान्छे बढी खुसी देखिएको छ । जसले अरुको उपकारको निम्ति आफ्नो जीवन समर्पण गरेको छ, त्यो मान्छे पनि जीवनको अन्तकालसम्म पनि खुसी देखिएको छ ।
देख्दा मानवीय सम्बन्ध प्रभावशाली भएकाहरूसँग भौतिक सम्पत्ति केही नदेखेर कतिपय मानिसको नजरमा ऊ दुखी हुनु पर्ने हो तथापि सबैले दिएको प्रेम र सद्भावका कारण ऊ सधैँ खुसी हुन सम्भव देखिएको छ । यसको विपरीत जो मान्छे भौतिक सम्पत्तिले खुसी दिन्छ भनेर लाग्यो, त्यही मान्छे नै सम्पत्ति कमाउने बेलादेखि सम्पत्ति खर्च गर्ने बेलासम्म पनि खुसी हुन सकेन । कारण स्पष्ट छ कि उसले कमाएको भौतिक सम्पत्ति उसका लागि सहयोगी होइन कि मालिकको भूमिकामा देखियो । अरबपति त भयो तर चौकीदारी पेसा छुटेन । पहिले सम्पत्ति कमाउने क्रममा कसैको घरको चौकीदारको रूपमा काम गर्दागर्दै जीवन बित्यो । अहिले आफैँले कमाएको सम्पत्तिको चौकीदारी गर्दागर्दै जीवन बितिरहेको छ । विचरा जीवन चौकीदारीमै बिताउनेले खुसी पाओस् पनि कसरी ! अब त सबै काम कृत्रिम बौद्धिकता (एआइ)ले गर्न थालेछ । कुनै विषय किटान गरेर लेख, निवन्ध, कथा गीत, कविता, गजल लेख्ने काम गर्नका लागि निर्देश गरियो भने पनि निमेषभरमै तयार गरिदिँदो रहेछ ।
संसारको कुनै पनि जानकारी र सूचना मागेपछि पनि निमेषभरमै उपलब्ध गराउँदो रहेछ । कुनै विषयमा चित्र चाहियो भनेर निर्देशन दियो भने त्यो पनि उपलब्ध गराउँदो रहेछ । गीतमा सङ्गीत भरेर गाउनका लागि निर्देश गरियो भने त्यो पनि निमेषभरमै गरिदिँदो रहेछ । त्यसो भए अब मान्छे केका लागि ? गहन प्रश्न तेर्सिएको छ मानिसका सामु । मानिसको अस्तित्व नै संकटमा पर्ने खतरा पनि त्यत्तिकै देखिएको छ । अब मानिसले वस्तुलाई होइन कि मानिस र मानवतालाई उचाइमा राखेर काम गर्न सकेन् भने मानिसले मानिस नखोजेर मेसिन खोज्ने जमाना आइसकेको छ । मानिसले मानिसलाई मानवीय मूल्यअन्तर्गतका सहयोग, हार्दिकता, आत्मीयता, प्रेम, विश्वास, सहानुभूति, समानुभूति, इमान्दारिता, धैर्यता, माधुर्यता, शालीनता आदि जस्ता क्षेत्रमा आफूलाई उच्चताको स्थान दिन सक्नु पर्दछ, जुन काम एआइले गर्न सक्दैन । मान्छे बेरोजगार भएर सडकमा आउने संकट देखियो । बाँकी जो हजुरको मर्जी !









प्रतिक्रिया दिनुहोस्