बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर



काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, तत्कालीन सवइन्जिनियर गणेशराज उपाध्याय र तत्कालीन लेखापाल हर्कदेव जोशीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको जरिवाना, कैद र बिगो असुल उपरको मागदाबी लिइएको छ । त्यसैगरी बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई मुख्य कसुरदारको मतियारका रूपमा गैरकानुनी लाभ लिएको अभियोगमा सोही ऐनअनुसार सजायको मागदाबी गरिएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रूपैयाँ र संघीय सांसद विकास कोषबाट १५ लाख रूपैयाँ गरी कूल ६५ लाख रूपैयाँ बजेट विनियोजन भई खेल मैदान निर्माण तथा सुधार गरिएको थियो । तर, उक्त योजनामा एउटै कामका लागि एउटै उपभोक्ता समितिसँग फरक–फरक लागत अनुमानमा दोहोरो सम्झौता गरिएको, काम नगरी तथा कमसल निर्माण सामग्री प्रयोग गरी रकम हिनामिना गरिएको पाइएको अख्तियारको ठहर छ ।

अनुसन्धानका क्रममा एउटै ग्राउण्ड कटिङ कार्यका लागि फरक–फरक गोश्वारा भौचर प्रयोग गरी १३ लाख ९९ हजार १८६ रूपैयाँ दोहोरो भुक्तानी गरिएको तथा नगरेको काम देखाई ६७ हजार ३१७ रूपैयाँ ९२ पैसा बढी भुक्तानी लिएको प्रमाणित भएको अख्तियारको निष्कर्ष छ । यसरी सरकारी तथा स्थानीय तहको बजेट दुरुपयोग गरी उनीहरूले कूल १४ लाख ६६ हजार ५०३ रूपैयाँ ९२ पैसाको गैरकानुनी लाभ लिएको ठहर गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार