खेलकुद प्रतियोगिता खेलाडीहरूका लागि पर्व र आफ्नो क्षमता देखाउने सुनौलो अवसर हो । प्रतियोगितामार्फत आफूभित्र भएको क्षमता प्रस्तुत गरेर आफू र आफ्नो देशलाई चिनाउने हरेक खेलाडीको सपना हुने गर्छ । सोही सपनालाई पछ्याउँदै आफ्नो क्षमता अनुसारको उपाधि र पुरस्कार खेलाडीहरूले प्राप्त गर्ने गर्छन् । यसले खेलाडीहरूको आत्मबल र थप उत्प्रेरणा प्रदान गर्ने गर्छ । तर, पछिल्लो समयमा सञ्चालन हुने विभिन्न प्रतियोगितामा फर्जी खेलाडी खेलाउँदा नयाँ क्षमतावान प्रतिभाहरूले अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्दा समस्यामा पर्ने गरेका छन् । विशेष गरेर प्रत्येक वर्ष सञ्चालन हुने मेयर कप, उपमेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा आफ्ना नजिकका आसेपासे व्यक्ति र फर्जी खेलाडी समावेश गर्दा नयाँ खेलाडीहरू मारमा पर्ने गरेका हुन् । नयाँ प्रतिभाको प्रस्फुटन र क्षमतावान खेलाडी पहिचानका लागि हुने यी प्रतियोगिताहरू अहिले विवादित बनिरहेका छन् । भर्खरै कोहलपुरमा सम्पन्न नवौँ मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा एक उदाहरण हो । मंसिर २५ गतेदेखि २९ गतेसम्म कोहलपुर–१ कौशिलास्थित कृष्ण माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो ।
उक्त प्रतियोगितामा फर्जी खेलाडी खेलाएको भन्दै एक विद्यालयलाई ३० हजार रूपैयाँ जरिवाना र अर्काे वर्ष छात्रा भलिबल टिममा सहभागी हुन नपाउने गरि कारबाही भएको छ । प्रत्येक वर्ष फर्जी खेलाडी खेलाउने गरेको आरोपसमेत लाग्ने र यस्ता घटनाहरूले प्रमाणितसमेत गर्ने गरेका छन् । यस्ता प्रतियोगिताहरूले नयाँ विद्यार्थी खेलाडीहरू उत्पादन, पहिचान र प्रोत्साहन गर्नु मुख्य उद्देश्य हो । यसका लागि स्थानीय तहले प्रत्येक वर्ष लाखौँको रकमसमेत विनियोजन गरेर प्रतियोगिता सञ्चालन गर्ने गर्छन् । तर, सीमित व्यक्ति र स्वार्थ समूहको हालीमुहालीले अधिकांश प्रतियोगिता विद्यार्थीहरूका लागि खास बन्न सकेको देखिँदैन । अझ भनौँ विगतमा हुने प्रतियोगितामा जस्तो रौनकता छाएको पाइँदैन । यसका लागि सम्बन्धित निकाय सक्रिय हुन आवश्यक देखिन्छ । अर्काेतर्फ प्रतियोगितामा फर्जी खेलाडी खेलाएर भएपनि उपाधि लैजाने दाउमा कतिपय विद्यालयहरू रहेको पाइन्छ । यसले सक्षम, नयाँ प्रतिभाहरूलाई र प्रतियोगिताको औचित्यमाथि प्रश्न उठ्ने गर्छ । त्यसैले स्थानीय सरकार र सम्बन्धित निकायहरूले खेलाडी छनोट गर्दा नै विशेष ध्यान पु¥याउन आवश्यक देखिन्छ । विद्यार्थीहरूको उमेर कति हो ? कुन विद्यालयमा अध्ययन गर्छन् ? विद्यार्थीको इमेस आडइडी छ छैन् ? कति कक्षामा अध्ययनरत हो ? यी कुराहरूमा विशेष निगरानी राखे फर्जी खेलाडी खेलमा समावेश गर्ने सम्भावना कम हुने गर्छ ।
प्रत्येक वर्षमा एक पटक सञ्चालन हुने यस्ता प्रतियोगिताले मात्रै नयाँ खेलाडी उत्पादन र दक्ष खेलाडी हामीले प्राप्त गर्न सक्दैनौँ । त्यसैले तीन तहको सरकारले ग्रासरुट लेबलदेखि खेलकुदको पूर्वधार, सामाग्री र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । तब मात्रै देशलाई चिनाउन सक्ने सक्षम र दक्ष खेलाडी हामीले उत्पादन गर्न सक्छौँ । विद्यालयस्तरमा खेलमैदान, खेकलकुद सामाग्री र प्रशिक्षकको सरकारले व्यवस्थापन गरेर खेलाडीहरूलाई प्रशिक्षण दिन आवश्यक रहेको छ । खेलकुद प्रतियोगिता मात्र नभइ विद्यार्थीहरूलाई स्वास्थ रहन र अनुशासित रहनसमेत मद्दत पु¥याउने माध्यम हो । खेलले दिनभर कक्षा कोठामा पठनपाठन गरेर थाकेका विद्यार्थीहरूलाई फुर्तिलो रहन र शरीरलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । पठनपाठन मात्र नभइ विद्यार्थीहरूका लागि खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेको छ । हरेक व्यक्तिहरूमा फरकफरक क्षमता हुने भएकाले विद्यालयस्तरमा खेलकुदको सम्पूर्ण पूर्वाधार बने खेलमा आबद्ध र रुचि भएका विद्यार्थीहरूका लागि अझ विशेष बन्न सक्छ । विद्यालयस्तरमा प्रशिक्षण नहुने र एकैपटक प्रतियोगितामा सहभागी हुँदा कतिपय विद्यार्थी खेलाडीहरू डराउनुका साथै हतोत्साहित हुने गरेको पाइन्छ । त्यसैले यसतर्फ तीन तहको सरकार गम्भीर बन्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्