नेपालगञ्ज ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेको अध्यक्षमा अमृता केसी चयन भएकी छिन् । नेपालगञ्जमा शनिबार सम्पन्न पाँचौं साधारणसभा एवम् अधिवेशनबाट केसीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सावित्री गिरी, सचिवमा करुणा शाह, सहसचिवमा कमला हमाल र कोषाध्यक्षमा निशु जोशी चयन भएका छन् । त्यस्तै, सदस्यमा सुनीता वर्मा र समित्रा सुवेदी चयन भएको बताइएको छ ।
क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष दिपा आलेको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले पत्रकार महिलाहरुको क्रियाशीलता तथा दक्षता अभिबृद्धिका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पत्रकारितामा लाग्न प्रेरित गर्नेदेखि अहिले काम गरिरहेकाहरुलाई टिकाई राख्न ध्यान दिनुपर्नेमा वक्ताहरुको जोड थियो । उपमेयर थापाले पत्रकारितामा क्रियाशील भएर लाग्न सबै पत्रकार महिलाहरुलाई आग्रह गरिन् ।
क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक सचिव एवम् पूर्व अध्यक्ष समेत रहेकी थापाले पत्रकार महिलाहरुलाई एकताबद्ध भएर अघि बढ्न सुझाब दिइन् । उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य मधु शाहीले पत्रकार महिलाहरुले उच्च मनोबलका साथ डटेर काम गर्नुपर्ने जोड दिइन् । प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाईंले विभिन्न कठिनाईका बाबजुद् पनि पत्रकारिता गरिरहेका महिलाहरुलाई प्रोत्साहित गर्न पत्रकार सम्बद्ध सबै संस्थाले भूमिका खेल्नुपर्ने जोड दिए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकार महिलाहरुको पत्रकारिता क्षेत्रमा उपस्थिति बढाउन महासंघ गम्भीर रहेको बताए ।
कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष नरेन्द्र थापा, क्रियाशील पत्रकार महिला प्रदेश ५ की उपाध्यक्ष रुपा गहतराज, बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल, संस्थापक सहसचिव सन्ध्या शाह, ठकुरी पत्रकार समाज बाँकेकी अध्यक्ष करुणा शाह, पर्यटन पत्रकार संघ बाँकेका सचिव मधु पौडेल र आदिबासी जनजाति पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष सोम गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्