सम्पादकीयः एनपीएलले दिएको सकारात्मक सन्देश



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण भर्खरै सकिएको छ । नेपाल क्रिकेट संघ (क्यान)द्वारा करिब एक महिनासम्म सञ्चालित एनपीएलले फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित गरेको छ । नेपाली क्रिकेट मनोरञ्जनको माध्यम मात्र नभई व्यावसायिकतातर्फ पनि उन्मुख हुँदै गएको सकारात्मक सन्देश दिन सफल भएको छ । नेपालमै पहिलोपटक फ्लडलाइट जडान गरी रात्रिकालीन समयमा खेल सञ्चालन गरिनु तथा दशौँ हजार दर्शकलाई बस्ने सिटको व्यवस्थाका साथै शान्तिपूर्ण र सानदार रूपमा प्रतियोगिता सफल हुनु देशका लागि अत्यन्तै सुखद र खुसीको विषय हो । यसले नेपालले पनि ठूला ठूला प्रतियोगितको आयोजना गर्न सक्छ भन्ने उदाहरण पेश गरेको छ । निजी क्षेत्रका केही व्यक्तिहरूको करोडौँ रूपैयाँको लगानी गरेर अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडीहरूलाई आआफ्ना टिममा समावेश गर्न सक्नु, उनीहरूमाथि करोडौँ रूपैयाँ लगानी गर्न सक्नु, विजेतालाई करोडौँ रकमको पुरस्कारको व्यवस्था गर्न सक्नु चानचुने कुरा भने होइन् । स्वदेशी तथा विदेशी खेलाडीहरूलाई विभिन्न विधाहरूमा व्यक्तिगत नगद पुरस्कार तथा कार र मोटरसाइकलको व्यवस्था गरिनु निकै ठूलो सफलता मान्न सकिन्छ ।

यसले गर्दा हरेक खेलाडीहरू एकअर्काप्रति प्रतिस्पर्धामा उत्रिन प्रोत्साहन गर्नुका साथै उनीहरूको खेल क्षमतामा पनि वृद्धि हुने देखिन्छ ।खेलाडीहरूको आत्मबल र हौसला प्रदान भएको छ । जसले गर्दा उनीहरूले भविष्यमा हुने विभिन्न प्रतियोगितामा भाग लिनका लागि सहज रूपमा प्रतिस्पर्धा गर्न सक्नेछन् भने आर्थिक रूपमा पनि पक्कै टेवा मिलेको छ । एनपीएलको दोस्रो सिजनले धेरै विषयहरूमा सकारात्मक सन्देश दिएको छ । आम सर्वसाधारण नागरिकहरूको क्रिकेट खेलप्रति रुचि बढ्दै गएको उनीहरूको सहभागिताले प्रष्ट देखाउँछ । यसले गर्दा क्रिकेटको क्षेत्र अझै व्यापक बन्दै गएको छ । करिब एक महिनाको प्रतियोगिताले व्यापारीहरूलाई पनि आयआर्जनमा टेवा पु¥याएको छ । प्रतियोगिताले विदेशी खेलाडी मात्रै नभएर विदेशी कमेन्टेटरलाई पनि नेपाल भित्र्याउन सक्नु खेलस्तरको वृद्धि हुनुका साथसाथै विदेशमा पनि नेपाली क्रिकेट खेलप्रतिको विश्वास र प्रचारप्रसारलाई सहजै रूपमा पु¥याएको छ । स्वदेशी तथा विदेशी खेलाडी, आयोजक, दर्शक, विदेशी कमेन्टेटर, समर्थक लगायतका व्यक्तिहरू जमघट हुँदा काठमाडौँमा व्यापार बढाउनुका साथै त्यस ठाउँका महत्वपूर्ण स्थानहरूको पनि प्रचारप्रसार हुन सकेको छ । जुन यो प्रतियोगिताको सफलता हो । यति मात्रै नभएर यो प्रतियोगिताबाट नेपालको पर्यटन विश्वसामु जोडिएको छ। विभिन्न देशबाट प्रतियोगितामा सहभागी हुन आएका विदेशी खेलाडी तथा कमेन्टेटरहरूले नेपालका विभिन्न रमणीय स्थल तथा नेपालका बारेमा व्यापक रूपमा उनीहरूका आफ्ना विभिन्न सामाजिक सञ्जालका प्लेटफर्म तथा भ्लगबाट प्रसारण गरिनु नेपालका लागि सकारात्मक पाटो हो ।

उनीहरूले नेपालका विभिन्न धार्मिकस्थल, पर्यटकीयस्थल, रहनसहन, रीतिरिवाज, खाना परिकार लगायतका ससाना विषयहरूमाथि भ्लग बनाएर प्रसारण गर्दा नेपाल नचिनेका र नेपाल नबुझेका विश्वका विभिन्न देशका नागरिकहरूले नेपाललाई सहजै रूपमा चिन्न र बुझ्न सकेका छन्। जसरी नेपालको प्रचारप्रसार उनीहरूले विभिन्न माध्यमबाट गरेका छन् त्यसले विदेशी नागरिकलाई नेपाल भित्र्याउन र यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग बन्न सक्ने देखिन्छ । यो प्रतियोगिता केवल एउटा नाम मात्रैको प्रतियोगिता नबनेर विश्वमै नेपाली क्रिकेट खेलाडीको उत्कृष्ट प्रदर्शन, नेपाली नागरिकको क्रिकेट खेलप्रतिको क्रेज, निजी क्षेत्रका व्यक्तिहरू यस खेलप्रति लगानी गर्न इच्छुक हुनुले नेपालप्रति उनीहरूले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने छ भने नेपाली खेलाडीहरू पनि विदेशी खेलाडीहरू जत्तिकै खेल खेल्न सक्छन् भन्ने उदाहरण पनि दिएको छ । यति मात्रै नभएर विदेशमा हुने विभिन्न प्रतियोगितामा नेपाली खेलाडीहरूलाई समावेश गर्न सक्ने सम्भावना पनि बलियो बनेको छ । यो सफलता केवल नेपाल क्रिकेट संघ, त्यसका पदाधिकारी, खेलकर्मी, खेलाडी, लगानीकर्ताको मात्रै नभएर सिंगो देशको सफलता हो । यसप्रकारका ठूला खेलप्रतियोगिताका आयोजनाहरू सरकारबाटै हुन सके नेपाल खेलकुदमा अझै अगाडि बढ्न सक्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार