चार महिनामा ९ सय ९२ चिठीपत्र वितरण



गोपालप्रसाद भट्टराई । अर्घाखाँची ।

जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले चालू आर्थिक वर्षको ४ महिनामा ९ सय ९२ चिठीपत्र वितरण गरेको छ । हुलाकले आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि कात्तिक मसान्तसम्म उक्त चिठीपत्र वितरण गरेको हो । साउनमा ३ सय ९५, भदौमा ३ सय ३०, असोजमा १ सय ७८ र कात्तिकमा १ सय ६३ गरि साधारण तथा रजिष्ट्री चिठीपत्र वितरण गरिएको जिल्ला हुलाक अधिकृत भरत सापकोटाले जानकारी दिए ।

पछिल्लो ४ महिनामा जिल्ला हुलाक अर्घाखाँचीले १ हजार ९ सय बढी चिठीपत्र निर्यात गरेको छ । हुलाक अधिकृत सापकोटाका अनुसार साउनमा सबैभन्दा धेरै १ हजार २१, भदौमा ५ सय ४३, असौजमा १ सय ९३ र कात्तिकमा १ सय ३१ गरि जम्मा १ हजार ९ सय ४५ वटा चिठीपत्र निर्यात भएका छन् । जसमा सबै रजिष्ट्री चिठीपत्र रहेका छन् । हुलाकले यो अवधिमा १ सय ३० वटा चिठीपत्र फिर्ता पठाएको छ ।

सम्बन्धित व्यक्ति वा संस्थाले चिठी बुझ्न अस्विकार गर्दा, चिठी प्रापकको ठेगाना वा परिचय नमिल्दा र अन्य विभिन्न कारणले चिठी वितरण गर्न नसक्ने अवस्थामा प्रेषकको ठेगानामै चिठी फिर्ता पठाउने गरिएको जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी मदन भट्टराईले जानकारी दिए। चालू आवको ४ महिनामा जिल्ला हुलाक अर्घाखाँचीले ७ सय ९७ वटा समाचार पत्रिका वितरण गरेको छ । यस्तै ३० वटा पार्सल पनि वितरण गरिएको कार्यालयका हेमनाथ मरासीनीको भनाइ छ ।

हुलाक अधिकृत सापकोटाका अनुसार चालू आर्थिक वर्षको ४ महिनामा हुलाकले ३ लाख २९ हजार ५ सय ४६ रूपैयाँ राजस्व संकलन गरेको छ । हुलाक सेवा शुल्कअन्तर्गत टिकट बिक्रीबाट सबैभन्दा धेरै २ लाख ५८ हजार १ सय रूपैयाँ, काउण्टर अटोमेशनतर्फ ६८ हजार ४ सय २० रूपैयाँ र पार्सलबाट ३ हजार २६ रूपैयाँ संकलन भएको छ । नेपाल सरकारको एक स्थानीय तहः एक हुलाक कार्यालयको अवधारणाबमोजिम अर्घाखाँचीका ६ मध्ये ५ वटा स्थानीय तहभित्र पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् ।

मुलुककै जेठो सञ्चारको बाहक बनेर आमनागरिकको सूचनाको माध्यम बनेको हुलाकअन्तर्गत अर्घाखाँचीमा अहिले २० वटा अतिरिक्त, ५ वटा पालिकास्तरीय र १ जिल्ला गरि २६ स्थानबाट हुलाक सेवा प्रवाह हुँदै आएकोे छ । अतिरिक्त हुलाक २९ बाट घटेर अहिले २० वटा कायम भएका छन् भने यीमध्ये ६ वटामा एकजना मात्रै जनशक्तिले सेवा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

पालिकास्तरमा मालारानी र पाणिनीबाहेक भूमिकास्थान, शितगंगा र छत्रदेवमा हुलाकको आफ्नै भवन नहुँदा समस्या पैदा भएको छ । यस्तै जिल्ला हुलाकसहित सबै क्षेत्रमा एउटा पनि कार्यालयको गाडी नहुँदा सेवा प्रवाहमा असहजता भइरहेको छ । हुलाक कार्यालयले रजिष्ट्री, दु्रत, साधारण चिठीपत्र, पार्सल, दर्ता, चलान र डेलिभरी, राहदानी ढुवानी, पत्रपत्रिका दर्ता तथा नवीकरण, जिल्लामा सञ्चालित स्थानीय केबलप्रदायकको इजाजत नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने, ५०० वाटसम्मका एफएम रेडियोको इजाजत नवीकरण गर्ने, सेवाग्राहीको आवश्यकतामा आधारित भएर पोष्ट बक्स सेवा उपलब्ध गराउने, राष्ट्रिय सूचना आयोगको प्रत्यायोजित अधिकारअन्तर्गत रहेर सूचनाको हकको कार्यान्वयनको अवस्थालाई चुस्त बनाउने, सेवाग्राहीको मागबमोजिम टिकट बिक्री÷वितरण गर्ने कार्य गर्दै आइरहेको छ ।

हुलाकले टिकटको माध्यमबाट नेपालका ऐतिहासिक सम्पदा तथा धरोहर, पर्यटकीय क्षेत्र र विशिष्ट व्यक्तिको चिनारीमार्फत मुलुकको सार्वभौमिकताको संरक्षण र प्रचारप्रसार गरि पर्यटकीय विकासमा टेवा पु¥याउनुको साथै पार्सल र पुलिन्दाको भरपर्दो सेवा नागरिकलाई प्रदान गर्दै आइरहेको हुलाक अधिकृत सापकोटाको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार