सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट नेपाली खेलाडी भए । यस सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । लुम्बिनीकै रुवेन ट्रम्पल म्यान नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काठमाडौँ ।
साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जितेको छ । लुम्बिनीले सुदुरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बन्न सफल भयो । एनपीएलको पहिलो उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको पहिलो संस्करणको उपाधि जितेको हो ।
एनपीएलको पहिलो सिजनमा सिजन अंकतालिकामा पुछारमा रहेको लुम्बिनी च्याम्पियन बन्दा सुदूरपश्चिम भने लगातार उपविजेतामा सीमित हुन पुगेको छ । लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लगातार तीन खेलमा पराजित हुँदा कुनै समयमा लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले त्यसपछि सानदार पुनरागमन गर्दै एनपीएलकै उपाधि जितेको हो ।
लुम्बिनीले सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य मात्र ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले ४२ रन जोडे भने डार्शी शर्टले १४ रन तथा कप्तान रोहितकुमार पौडेलले १६ रन बनाएका हुन । पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका अधिकारीले १३ बलमा १ चौका र ५ छक्काको मद्दतमा ४२ रन बनाएका हुन् । सुदूरपश्चिमका तर्फबाट हेमन्त धामीले २ तथा अभिनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले लुम्बिनीका १–१ विकेट लिएका हुन् ।
टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए । तर उनको त्यो निर्णय उनको टिमको पक्षमा रहन सकेन् । सुदूरपश्चिमको फाइनलको इनिङ्स ध्वस्त बनाउने क्रममा लुम्बिनी कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपल म्यानले धारिलो बलिङ गरेका थिए । सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रुबेन ट्रम्पल म्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३–३ विकेट लिएका हुन् ।
सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमले जब पहिलो पावर प्लेमा सुदूरपश्चिम ३ विकेट गुमाएर मात्र २० रन बनायो । सुदूरपश्चिमको ओपनिङमा विनोद भण्डारी र इशान पाण्डे आएकोमा पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद गोल्डेन डक आउट हुन पुगे । ट्रम्पल म्यानको बलमा दिनेश अधिकारीद्वारा उनी क्याच आउट भए । तेस्रो ओभरमा वान डाउनमा आएका सेल्डन ज्याक्सन १ रनमा ट्रम्पल म्यानकै बलमा एलबिडब्लु धरापमा परे ।
दोस्रो विकेट गुमाउँदा सुदूरले मात्र ७ रन बनाएको थियो । लगत्तै आरिफ शेख ६ रन जोडेर शेर मल्लको बलमा एलबिडब्लु आउट भए । १९ रन जोड्दा ३ विकेट गुमाएसँगै सुदूरपश्चिम दबाबमा आयो । १० ओभर सकिँदा मात्र ४१ रनमा समेटियो । सुदूरलाई ११औँ ओभरमा फेरि अर्को झट्का लाग्यो । सो ओभरमा कप्तान रोहितले ह्याट्रिक विकेट लिन सफल रहे । ११औँ ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान तथा भरपर्दा खेलाडी दीपेन्द्र १३ रनमा ट्रम्पल म्यानद्वारा क्याच आउट भए ।
सोही ओभरको पाँचौँ बलमा दीपक बोहरालाई गोल्डेन डक आउट गरे । उनी सन्दीप जोराद्वारा समातिए । यसपछि यो ओभरको छैटौँ तथा अन्तिम बलमा पुनित मेहरालाई एलबिडब्लु डक आउट गराउन सफल भए । रोहित एनपीएलमा नै ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डु गुर्खाजका साहब अलामले पोखरा एभेन्जर्सविरूद्ध ह्याट्रिक विकेटको सफलता प्राप्त गरेका थिए । ११ ओभर सकिँदा ४४ रन बनाउँदा सुदूरपश्चिम संकटमा प¥यो ।
ओपनर इशानबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । हर्मित सिंहलाई शेरले डार्सी सटद्वारा क्याच आउट गराए । उनले मात्र १० रन बनाएका थिए । सुदूरपश्चिमको आठौँ विकेटको रूपमा ओपनर इशानलाई शेरले आउट गर्न सफल भएका हुन् । सुदुरले १६औँ ओभरको तेस्रो बलमा ५१ बलमा १ चौकासहित ३३ रन बनाएका इशान क्याच आउट हुन पुगे ।
नवौँ विकेटको रूपमा स्कट कुगेलेन १० रन बनाएर तिलक भण्डारीद्वारा आउट भए । स्कट १० रनमा आउट भएसँगै सुदूरपश्चिम ८५ रनमा समेटिन पुग्यो । लुम्बिनीका लागि बलिङतर्फ ट्रम्पल म्यानले २ ओभर १ बलमा ३ रन दिएर ३ विकेट, रोहितले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए । त्यस्तै शेरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिएका हुन् ।
लुम्बिनी लायन्स च्याम्पियनको ‘कथा’
लुम्बिनी लायन्सको ‘च्याम्पियन यात्रा’ निकै रोचक रह्यो । गत सिजन अंक तालिकाको पुछारमा रहेर बाहिरिने पहिलो टोली बनेको थियो । गत सिजनमा पुुछारमा हुँदै सिजनको अन्त्य गरेको थियो । दोस्रो संस्करणमा च्याम्पियन बनेको छ । सिजनको पावर हिटर सुुदूरपश्चिमलाई फाइनलमा स्तब्ध बनाउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीले दोस्रो सिजनको पहिलो खेल जितेर राम्रो सुरूआत गरेको थियो । लुम्बिनी त्यसपछिका तीन खेलमा लगातार पराजित भयो । त्यसपछि लुम्बिनी यो सिजन पनि संकटमा परेको थियो । सिजनको सुरुमा बाहिरिने चरणमा पुगेपछि फ्यान मात्र होइन टिम लगानीकर्ताले पनि सामाजिक सञ्जालबाट निराशा व्यक्त गरेका थिए । तर चौथो खेलपछि प्रत्येक खेल लुम्बिनीका लागि नकआउट जस्तै थियो। एक खेल हारेमा उसको ‘खेल खत्तम’ हुने स्थिति थियो ।
तर उसले लिग चरणमा पाँचौं खेल जितेर आशा बढायो । त्यसपछि छैटौं र सातौं खेल जितेर प्लेअफमा स्थान पक्का ग¥यो । यतिमा मात्र रोकिएन लुम्बिनीले, एलिमिनेटरको ‘नकआउट खेलमा’ काठमान्डु गोर्खाजलाई पाखा लगायो । दोस्रो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित निकालेर फाइनलमा स्थान बनायो । फाइनलमा पनि लुम्बिनीको रवाफ उस्तै रह्यो । प्रतियोगिताकै सबभन्दा राम्रो मानिएको सुदूरपश्चिम रोयल्समाथि सहज जित निकाल्यो ।
लुम्बिनी ६ खेलमा अपराजित रहँदा सिजनको च्याम्पियन बन्न सफल भयो । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा हारेको थियो । लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो बेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय भोगेको थियो । त्यसपछि एक हारले उसको यात्रा सकिने अवस्था थियो । तर उसले त्यसपछि लिग चरणमा पोखरालाई ३ विकेट, विराटनगरलाई ५ विकेट र जनकपुरलाई ४ विकेटले पराजित गरेर अंक तालिकामा चौथो बनेर प्लेअफमा स्थान बनायो ।
एलिमिनेटमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो। यस्तै दोस्रो क्वालिफायरमा पनि उसले विराटनगरलाई ४० रनले हराएर फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पनि सुदूरपश्चिममाथि जित निकालेर उपाधि जितेर एउटा उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले लगातार तीन खेलको पराजयपछि लगातार ६ खेलमा जित निकाल्दै उपाधि जित्यो ।
लुम्बिनीका कप्तान रोहितले जिते कार
लुम्बिनीका रुवेन ट्रम्पलम्यान नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रुवेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै ६५ रन बनाए । उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
लुम्बिनीकै कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर, विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर र लुम्बिनीका शेर मल्ल उत्कृष्ट उदीयमान खेलाडी घोषित भए । रोहितले लिगमा २७६ रन बनाए । सन्दीप र शेरले समान १७–१७ विकेट लिए । तिनैवटै खेलाडीले पल्सर बाइक पाए । लुम्बिनीका कप्तान रोहित सर्वाेत्कृष्ट खेलाडी खेलाडी बन्दै कार पनि जितेका छन् । उनले २७६ रन बनाउनुका साथै १० विकेट लिए ।
शेर मल्लले जिते लगातार दोस्रो उपाधि
लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए । यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई लुम्बिनीयले भित्र्याएका थिए । यो सिजन लुम्बिनी आएसँगै शेरले दोस्रो उपाधि जितेका हुन् । मल्लले सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
उनले १० खेलमा १७ विकेट लिए । फाइनलमा ३ विकेट लिएका मल्ल सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहन सफल भए। उनलाई भारतीय कमेन्टेटर आकाश चोपडाले आइपिएल खेल्न सक्ने बलरको रूपमा चित्रित गरेका थिए । यस्तै काठमान्डु गोर्खाज तथा नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाइले पनि उनको प्रशंसा गरेका थिए ।
दोस्रोपटक उपविजेतामा सीमित सुदूरपश्चिम
सुदूरपश्चिम रोयल्स लगातार दुईपटक फाइलनमा पराजित भएको छ । गत सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यसपटक लुम्बिनी लायन्ससँग स्तब्ध बन्यो । सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो । अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो । सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो ।
अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै सीमित बन्यो । गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्