शिवु खनाल ।
झाडी र सुकेर भुइँमा झरेका पातबाट सल्किएको आगोले डढेलोको रूप लिँदा वनस्पति र वन्यजन्तुमा ठूलो असर पर्दै आएको छ । डढेलोबाट निस्किएको धुवाँले मानव स्वास्थमा उस्तै असर परिरहेको छ । त्यसैले वन डढेलो नियन्त्रण केही वर्षयता संरक्षणमा काम गर्नेहरूका लागि टाउको दुखाइको ठूलो विषय हो । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले भने डढेलोको स्रोत उपयोग गरेर आम्दानी गर्ने ‘नमुना काम’ गरिरहेको छ ।
लमही नगरपालिका वडा नं. ५ लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन मास्ने वनमारा झार, झाडी र सुकेका पातबाट प्रांगारिक तथा जैविक मल तयार पारेर स्थानिय उपभोक्तालाई निःशुल्क उपलब्ध तथा वनले आफैँले प्रयोग गर्न थालेको दुई वर्षभन्दा बढी भयो ।
सामुदायिक वनले यहाँ उत्पादन भएको जैविक मललाई स्थानीय उपभोक्तालाई निःशुल्क उपलब्ध गराउँदै सामुदायिक वनले सञ्चालन गरेको जैविक विविधता ग्रीनपार्कमा उक्त मल प्रयोग गर्दै आइरहेको छ ।
सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले वनको अनावश्यक झाडी र पात संकलन गरेर मल निर्माण गर्ने गरिएको बताएका छन् । उनका अनुसार ज्याला दिएर वनले उपभोक्ताबाट पात संकलन गर्छ । त्यसलाई मेसिनमार्फत काटेर मलमा रूपान्तरण गरिन्छ । करिब एक सय दिनमा तयार हुने मल स्थानीय उपभोक्तालाई निःशुल्क उपलब्ध तथा पार्कमा प्रयोग गर्दै आइरहेको उनी बताउँछन् ।
शनिबार वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा तालिम केन्द्रको मुख्य आयोजनामा काठमाडौँमा सम्पन्न भएको पहिलो मिचाहा प्रजाति राष्ट्रिय सम्मेलनमा बोल्दै उनले भने, ‘हरेक वर्ष डढेलोले वन सखाप बनाउँथ्यो । वन्यजन्तु, चराचुरूंगीदेखि मान्छेसम्मलाई असर गथ्र्यो । वनमारा झारले रूखबिरूवा बढ्न दिएको थिएन । वनमारा, झाडी, सुकेका पातहरू संकलन गर्न थालेपछि डढोलो लाग्न छाडेको छ ।’
अध्यक्ष रिजालले थपे, ‘वनका उपभोक्ताले रोजगारी पाएका छन् । किसानले माटो जोगाउने, स्वस्थ बाली फलाउने मल पाएका छन्, पात संकलन गरेर स्थानीय महिलाहरूले दैनिक एक हजार रूपैयाँसम्म कमाउने गरेका छन्, यो वन र नजिकका अन्य वन उपभोक्तासमेत गरेर करिब तीस जनाभन्दा बढीले पात संकलन गर्छन् । असोजदेखि पुससम्म संकलन गरेपछि मल बनाउने काम सुरू हुन्छ ।’ ‘यसले नाफाभन्दा पनि रोजगारी विकास गरेको छ । उपभोक्ताले मल मन पराएका छन् ।
यो नै ठूलो कुरा हो, यहाँ उत्पादित धेरै मल उपभोक्ता र पार्कभित्रै खपत हुन्छ । बाँकी मल अन्य ठाउँमा बिक्री गर्ने योजनासमेत भइरहेको छ । यसले डढेलोबाट हुने वायुप्रदूषण रोक्छ र माटोको उर्वराशक्ति बढाउँछ । हामीले यस विषयमा एक वर्ष अनुसन्धान ग¥यौँ । उत्पादन भएको मलले राम्रो काम गर्छ भन्ने प्रमाणित भइसकेको छ । यो गाईको गोबर मलभन्दा पनि प्रभावकारी देखियो,’ उनले भने, ‘अजम्मरी सामुदायिक वनमा संसारकै लागि नमुना काम भएको छ ।’
‘रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास आएको छ । वनमा प्रशस्त मात्रामा रहेको वनमारा झार, घाँस, झाडी, पातहरूको प्रयोग गरेर पर्याप्त जैविक मल उत्पादन गर्न सकिन्छ । यो रासायनिक मलको विकल्प बन्न सक्छ,’ अध्यक्ष रिजालले भने, ‘पहिले प्राकृतिक रूपमा यसरी नै चलेको थियो । अब पनि प्राकृतिक स्रोत, साधन प्रयोग गरेर प्राकृतिक पद्धतिबाटै बिग्रिएको माटो सुधार्न सकिन्छ ।’
एनले वातावरण जोगाउँदै रोजगारी विकास गर्ने अभियानअन्तर्गत अनावश्यक झाडी नष्ट गरेर जैविक मल तयार गर्न थालिएको बताए ।
डढेलोको मुख्य कारण बनेको नचाहिँदो झाडी व्यवस्थापन गर्दै कृषिमा दिगोपन ल्याउने उद्देश्य रहेको उनले बताए । ‘हामी नगरपालिकालाई रासायनिक मलमुक्त बनाउन चाहन्छौँ । यो महत्वाकांक्षी योजना हो । हामी दृढ भएर लागेका छौँ । हामी एउटा सामुदायिक वनबाट सुरू भएको कार्यक्रमलाई पालिकाभित्रका सबै वनहरूमा फैलाउन लाग्छौँ,’ उनले भने । अध्यक्ष रिजालका अनुसार एक हजारभन्दा बढी उपभोक्ता सामुदायिक वनसँग जोडिएका छन् । उनीहरूलाई वनपैदवारको सदुपयोग गर्दै रोजगार बनाउने उद्देश्य रहेको छ ।
नेपालमा बाह्य मिचाहा प्रजातिको विविधता, वितरण, प्रभाव, नीतिगत अवस्थाको समीक्षा गर्न काठमाडौँमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा मिचाहा प्रजाति नियन्त्रण तथा रोकथामका प्रभावकारी नीतिगत र कार्यक्रमगत प्रतिक्रियाका लागि सरोकार भएकाबीच सहकार्य निर्माण गरिएको केन्द्रका उपसचिव सुनिता उलकले जानकारी दिइन् । मिचाहा प्रजातिका कारणले पारिस्थितिकीय प्रणालीमा क्षति पु¥याउने, जैविक विविधता र कृषि उत्पादनमा ह्रास ल्याउने तथा स्थानीय बासिन्दाको जीविकोपार्जनमा नकारात्मक असर पु¥याउने कार्य निरन्तर भइरहेको उनले बताइन् ।
पहिलो राष्ट्रिय सम्मेलनमा अजम्मरी सामुदायिक वनले मिचाहा प्रजातिबाट उत्पादन गर्दै आइरहेको प्राङ्गारिक मलको चर्चा चलेको छ । मंसिर २६ र २७ गते आयोजना गरिएको पहिलो राष्ट्रिय सम्मेलनमा मिचाहा प्रजातिसम्बन्धी विश्वव्यापी तथा राष्ट्रिय मुद्दामा विविध सरोकारकाहरु बीचमा उक्त वन उपभोक्ता समूहले मिचाहा प्रजातिबाट उत्पादन गर्दै आइरहेको प्राङ्गारिक मलको विषयमा चर्चा चलेको हो ।
पहिलो राष्ट्रिय सम्मेलनमा विभिन्न प्रदेशबाट सहभागीहरु अनुसन्धानकर्मी, वन संरक्षणकर्मी, सरोकारवालाहरुले अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाललाई सामुदायिक वनले मल उत्पादान गर्दै आइरहेको विधि, त्यसको प्रयास, लागत स्टिमेट, तालिमको अवधिलगायत अन्य विविध विषयमा केन्द्रित भई जिज्ञासा राखेपछि त्यसको विषयमा अध्यक्ष रिजालले जानकारीसहित आफ्नो महत्वपूर्ण प्रस्तुती राखेका थिए ।








प्रतिक्रिया दिनुहोस्