मुगु ।
जिल्लाका युवाहरुले संघीय सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो उपहार दिएका छन् । मुगुमा करिब ९५ प्रतिशत नागरिकले विद्युत् सुविधा नपाएको भन्दै यसतर्फ गम्भीर बन्न आग्रह गर्दै युवाहरुले मन्त्री घिसिङलाई प्रतीकात्मक झरो उपहार दिएका हुन् ।
जिल्लामा उज्यालोका रुपमा अझै पनि झरो बाल्नुपर्ने बाध्यता रहेको भन्दै सल्लाको टुक्राटाक्री अर्थात् झरो मन्त्रीलाई उपहार दिएका हुन् । मुगुकुो अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउन स्थानीय युवा आशिष देवकोटाको नेतृत्वमा पुगेको टोलीले मन्त्रीसमक्ष ध्यानाकर्षणपत्र समेत बुझाएको छ । मुगुको विद्युतीकरण पूर्वाधार विकास नभई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दा भएको देवकोटाको भनाइ छ ।
उनका अनुसार करिब ७० हजार जनसंख्या रहेको मुगुमा अहिले सुचारु रूपमा विद्युत् सेवा पाउन सक्ने संख्या करिब ३५ सयमा सीमित छ । बाँकी अधिकांश नागरिक अहिले पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा निर्भर छन् । मुगुको ठूलो भूभाग अझै राष्ट्रिय ग्रिडसँग नजोडिनु, आपूर्ति अस्थिर हुनु र वितरण संरचना कमजोर रहनु प्रमुख चुनौती रहेको उनले बताए ।
‘झरो’ उपहार बुझाउँदै देवकोटाले २२औँ शताब्दीको नेपालमा पनि मुगु अझै अँध्यारोमै रहेको अवगत गराए । ‘यो विषयलाई मन्त्रीज्यूले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ । ऊर्जा क्षेत्रमा मन्त्री घिसिङको नेतृत्वमा देखिएको सकारात्मक परिवर्तन अब मुगुसम्म पनि शीघ्र रुपमा पुग्ने अपेक्षा छ,’ उनले भने, ‘दशकौँदेखि प्रतीक्षामा रहेको उज्यालो अब ढिलो नगरी प्रत्येक घरसम्म पु¥याउन आग्रह छ ।’
जवाफमा मन्त्री घिसिङले एक वर्षभित्र मुगु उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालय, अस्पतालका उपकरण, सञ्चार, स्थानीय उद्योग र कृषि प्रशोधन जस्ता क्षेत्रमा विद्युत् अभावका कारण दैनिकी प्रभावित भएको मन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘मुगुलाई विशेष विद्युतीकरण प्राथमिकता क्षेत्रको रूपमा घोषणा गर्नुपर्छ ।
१०० प्रतिशत विद्युत् पहुँचका लागि स्पष्ट समयसीमा सार्वजनिक गरी दिगो तथा विश्वसनीय वितरण संरचना निर्माणका लागि विशेषज्ञ टोली तत्काल परिचालन गर्न अनुरोध छ ।’ यस्तै राष्ट्रिय ग्रिडसँग वैकल्पिक ऊर्जा स्रोतलाई एकीकृत गर्दै दीर्घकालीन समाधान अघि बढाउन संघीय सरकारलाई आग्रह गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्