मादल र दमाहालाई आकार दिइरहेका रणवीर



उनीहरूकै प्रेरणामा आफूले सिकेको उनी बताउँछन् । यो उनको पुख्र्यौली पेसासमेत हो । यही पेसालाई आफूले लामो समयदेखि निरन्तरता दिइरहेको समेत उनले बताएका छन् । ‘पहिला मेरा बाजे र बुबाहरू बाजा बेचेर अन्न ल्याउँथे । हामी भने बाजा बिक्रीबापत पैसा लिन्छौँ,’ उनले भने, ‘जंगलमा हामीलाई काठ काट्न दिन्नन् । काठमाडौँँ र पोखराबाट मगाउनुपर्छ । निकै महंगो पर्छ । यहाँसम्म पुग्दा ।’

कोहलपुर (बाँके) ।

कोहलपुर–सुर्खेत सडकखण्डअन्तर्गत आनन्दनगरमा छ, सालको बुटा । नजिकै अवस्थित छ, वडा सरकार । कोहलपुर–२ को वडा कार्यालयको छेउमै रहेको छ, संघर्ष दलित महिला सहकारी सहकारी संस्थाको भवन । सहकारीको छेउमै कच्ची बाटोसँगै जोडिएको छ, गंगा सुपथ पसल । बोर्डमा लेखिएको छ, ‘यहाँ खुद्रा सामग्री पाउनुका साथै मादल र दमाहा लगायतका बाजा बनाइन्छ ।’ बाटैमा रहेको सानो घरमा तीन दशकदेखि बाजा निर्माण गरिरहेका छन् ५० वर्षीय रणवीर नेपाली । नेपाली कर्णाली प्रदेशको सुर्खेतमा एक विपन्न परिवारमा जन्मिए ।

उनी त्यतै हुर्किए, बढे । उनको ठूलो परिवार थियो । जीविकोपार्जनको मुख्य स्रोत भनेको परम्परागत बाजा बनाउने थियो । उनका अभिभावकले सुर्खेतमै बाजा बनाउँथे । बाजा बनाएबापत अन्न सापटी पाउँथे । जीवन राम्रै चलिरहेको थियो । उनका बाबाले घरमै सीप सिकाएका थिए । उनी भन्छन्, ‘म सुर्खेतमै हुँदा सीप सिकेको हो । मलाई मेरा बुवाले सिकाउनु भएको हो । अहिले पनि बुबाको सम्मान र सम्झनामा बाजाहरू बनाउने काम गरिरहेको छु ।’ उसो त नेपालीको पुख्र्यौली पेसा नै परम्परागत बाजा बनाउने, बिक्री गर्ने र जीविकोपार्जन गर्ने हो । आफूले आफ्ना हजुर बाबा र बाबाबाट जीवन जिउने कला सिकेको उनी बताउँछन् ।

घरको आर्थिक अवस्थाका कारण पढ्न नपाएका कारण बाल्यकालमै आफूले मादल र दमाहा बजाउने काम सिकेको उनले बताए । बाल्यकालमा सिकेको सीपका कारण अहिले उनले अरुसँग हात थाप्न परेको छैन । उनले आफूले अहिले मादल, दमाहा, ट्याम्की, कुर्कुटी, ढोलक लगायतका बाजा निर्माण गर्ने गरेको बताए । उनका अनुसार सात जनाको परिवारले सोही पेसाले नै धानेको छ । उनको तीन पुस्ता यही पेसामा निर्भर रह्यो । उनका हजुर बा र बाबाले समेत बाजा बनाउने काम गर्थे । उनीहरूकै प्रेरणामा आफूले सिकेको उनी बताउँछन् ।

यो उनको पुख्र्यौली पेसासमेत हो । यही पेसालाई आफूले लामो समयदेखि निरन्तरता दिइरहेको समेत उनले बताएका छन् । ‘पहिला मेरा बाजे र बुबाहरू बाजा बेचेर अन्न ल्याउँथे । हामी भने बाजा बिक्रीबापत पैसा लिन्छौँ,’ उनले भने, ‘जंगलमा हामीलाई काठ काट्न दिन्नन् । काठमाडौँँ र पोखराबाट मगाउनुपर्छ । निकै महंगो पर्छ । यहाँसम्म पुग्दा ।’ जिल्ला बाहिरबाट समेत आफूलाई मादलको माग हुने गरेको उनले बताए । सुर्खेत, जुम्ला, जाजरकोट, रूकुम पश्चिम, सल्यान, कालीकोट, रोल्पा लगायतका जिल्लाबाट माग हुने गरेको उनले बताए ।

काठ र छाला अभावका कारण माग धान्नै सकस हुने उनले सुनाए । हरेक वर्ष दशैँ, तिहार, माघी र नयाँ वर्ष लगायतका महत्वपूर्ण पर्वमा सबैभन्दा बढी मादल बिक्री हुने गरेको उनले बताए । अन्य समयमा भने विभिन्न क्षेत्रबाट बाजा निर्माणका लागि माग हुने गरेको बताए ।कोहलपुर र नेपालगन्ज लगायतका क्षेत्रमा होलसेल पसल सञ्चालन गरेकाहरूले आफूलाई मादलको माग गर्ने गरेको उनको भनाइ छ ।

मादल निर्माण गर्न विशेष प्रकारको काठ र विभिन्न जनावरको छाला आवश्यक हुन्छ । जनावरका छालाहरू सजिलै नपाइने हुँदा समस्या हुने गरेको उनको भनाइ छ । सिजनको बेला महिलामै ४० देखि ५० हजार रूपैयाँ कमाइ हुने गरेको उनले बताए । अरु बेला महिनामा न्यूनतम १० देखि १५ वटासम्म बाजा मासिकरूपमा बिक्री हुने रणवीरले बताएका छन् ।

एकदिनमा दुई वटासम्म मादल बनाउन सकिने उनको भनाइ छ । प्रतिमादलको न्यूनतम २ हजार देखि अधिकतम ३५ सय रूपैयाँसम्म पर्छ । दमाहाको पाँच हजारदेखि १० हजार रूपैयाँसम्म मूल्य पर्ने उनले बताए । अहिले कोहलपुरमा विभिन्न समूहका बाजा रहेका छन् । ती सबै बाजा आफूले निर्माण गरेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार