कोहलपुर (बाँके) ।
नेपालको एकमात्र चर्चित फेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गते सुरु भएको थियो । एनपीएल सुरु भएको हप्ता पुग्दा हालसम्म आठ खेल सम्पन्न भएका छन् । शनिबारसम्म आठ खेल सम्पन्न भएको लिगमा आइतबार भने कुनैपनि खेल भएनन् । फेरि आज सोमबारदेखि नियमित खेल हुँदैछन् ।
कूल ३२ खेल हुने एनपीएलमा आठ खेल सकिँदासम्मको अवस्था हेर्दा अंकतालिका भने रोचक बनेको छ । हालसम्मको अंकतालिकाअनुसार विराटनगर किङ्स शीर्ष स्थानमा छ । विराटनगरले हालसम्म खेलेका दुवै खेल जितेको छ । सिजनको पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो । उक्त खेलमा विराटनगरले एनपीएल इतिहासमै सबैभन्दा धेरै २२० रनको कीर्तिमानी रन बनाएको थियो । विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा अलआउट भयो ।
दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । जारी सिजनमा समान खेल जितेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्दै सिजनको सुखद् सुरुवात गरेको थियो । सूदूरपश्चिमले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले जितेको थियो । जारी सिजनमा हालसम्म विराटनगर र सुदूरपश्चिमले मात्रै समान दुई÷दुई खेल जितेका छन् ।
दुवै टिमको समान चार÷चार अंक छ । तर नेट रनरेटका आधारमा विराटनगर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । विराटनगरको नेट रनरेट २.०२६६ छ भने सुदूरपश्चिमको नेट रनरेट १.१७५० रहेको छ । हालसम्म खेलेका दुई खेलमा एक जित र एक हारको नतिजासहित कर्णाली याक्स तेस्रो स्थानमा छ । कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने लुम्बिनी लान्यसविरुद्ध सानदार जित निकाल्यो ।
कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकाल्यो । एक खेलमा जित र एकमा हारको नतिजासहित चितवन राइनोज अंकतालिकाको चौथो स्थानमा रहेको छ । चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्समाथि ५ विकेटले जित हासिल गरेको थियो । दोस्रो खेलमा भने चितवन राइनोज लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । जारी सिजनमा सबैभन्दा धेरै तीन खेल खेलेको काठमाडौँ गोर्खाज भने एक जित र दुई खेलमा हारको नतिजासहित अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ ।
मंसिर १ गते भएको उद्घाटन खेलमा काठमाडौँले साविक विजेता टोली जनकपुर बोल्ट्सलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा ५ विकेटले पराजित गर्दै सिजनको सुखद् सुरुवात गरेको थियो । काठमाडौँ आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किङ्ससँग ५ विकेटले पराजित भयो । हालसम्मका दुई खेलमा एक जित र एक हारको नतिजासहित लुम्बिनी लायन्स अंकतालिकाको छैटौँ स्थानमा छ ।
आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा भने १२.२ ओभरमै अलआउट भएको लुम्बिनी कर्णाली याक्ससँग ९ विकेटको लज्जास्पद हार व्यहो¥यो । पहिलो सिजनको विजेता तथा जारी सिजनमा एउटा मात्रै खेल खेलेको जनकपुर बोल्ट्स अंकविहीन छ ।
जनकपुर अंकतालिकाको सातौँ स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । सिजनका दुवै खेल हारेको पोखरा एभेन्जर्स अंकतालिकाको पुछारमा छ । पोखरा पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो । एनपीएल आगामी मंसिर २७ गते सकिनेछ ।
नतिजामा निर्णयक विदेशी खेलाडीको प्रदर्शन
हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन् । सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन् । कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए । इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् ।
भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् । त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एक÷एक अर्धशतकसहित समान ८६ रन जोडेका छन् । इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन् । बलिङतर्फ हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका विदेशी खेलाडी अमेरिकाका मिलिन्द कुमारले पाँच विकेट लिएका छन् ।
उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए । उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए । हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चार÷चार विकेट लिएका छन् । रुवेन ट्रम्पप्लेमान, स्कट लुगेलेजिन, शुभम रञ्जने र जिमी निशमले समान तीन÷तीन विकेट लिएका छन् ।
चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन् । यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन् । उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन् । दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन् । हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन् । दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन् । सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन् । दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन् ।
ब्याटिङ र बलिङमा नेपाली खेलाडीको नतिजा
ब्याटिङतर्फ नेपाली खेलाडीको नतिजा हेर्दा पोखरा एभेन्जर्सका कुशल भूर्तेलले दुई अर्धशतकसहित ११२ रन जोडेका छन् । भूर्तेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ओपनर हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ८८ रन बनाएका छन् । नेपाली खेलाडी लोकेश बमले एक अर्धशतकसहित ८६ रन जोडेका छन् ।
बलिङतर्फ हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाडौँ गोर्खाजका करण केसी शीर्ष स्थानमा छन् । उनी एक्लैले छ विकेट लिएका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए । सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए । केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन् । नेपाली खेलाडी सन्दीप लामिछाने, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी र आकाश चन्दले समान तीन÷तीन विकेट लिएका छन् ।
किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडी छन् । उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन् । उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन् । उनले औसतमा २२ रनमा एक विकेट लिएका छन् । सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन् । लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन् ।









प्रतिक्रिया दिनुहोस्