कोहलपुर– १३ खड्कवारस्थित रानीघाटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । ‘रानीघाट पार्क’को रूपमा विकास गरिएको क्षेत्र अवलोकन, भ्रमण र पिकनिकका लागि लुम्बिनी प्रदेशका साथै कर्णालीका विभिन्न जिल्लाहरूबाट समेत आउन थालेका छन् । रानीघाट नजिकै बाँके निकुञ्जको हात्तीसार क्षेत्र रहेकाले समेत आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । रानीघाट पार्क व्यवस्थापन समितिले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट बाँकेको कोहलपुरस्थित चौराह । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौहारको पूर्वमा रहेको छ – कोहलपुरको परम्परागत बजार चप्परगौडी । चप्परगौडी बजारको उत्तरतिर लाग्दा ठूलो गेटमा लेखिएको छ, ‘पर्यटकीयस्थल खड्कवारमा यहाँहरूलाई हार्दिक स्वागत छ ।’ चप्परगौडीदेखि पाँच किलोमिटर दूरी पार गरेपछि भेटिन्छ, रानीघाट । दुईलेन पक्की सडक । त्यसमा पनि कालोपत्रे सवारी यात्रामा सहजै पुग्छ सकिन्छ । कोहलपुर–१३ खड्कवारस्थित रानीघाट कोहलपुरको नयाँ पर्यटकीय गन्तव्य हो । जो पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइको केन्द्र बनेको छ ।
जहाँ दैनिक सयाँै आन्तरिक पर्यटकहरू घुम्न, रमाइलो गर्न र पिकनिकका लागि त्यहाँ पुग्ने गर्दछन् । नयाँ पर्यटकीय गन्तव्य रानीघाट, रानीघाट मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्छ । सोही सामुदायिक वन क्षेत्रका उपभोक्ताहरूको अगुवाइमा रानीघाटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिँदै छ । रानीघाट पार्क व्यवस्थापन समितिले सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । रानीघाट मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत क्षेत्रमा पर्दछ । समितिकै अगुवाइमा रानीघाटलाई कोहलपुरका नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले दुई वर्षअघि रानीघाट पार्क व्यवस्थापन समिति निर्माण गरिएको थियो ।
समितिले नै अहिले रानीघाट पार्कको सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ । रानीघाट पार्क ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्कमा अहिले दिनहुँ सयौँ पर्यटक घुम्नको लागि जाने गरेका छन् । बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्लाहरूबाट पर्यटकहरू आउने गरेको रानीघाट पार्क व्यवस्थापन समितिले जनाएको छ । शुक्रबार र शनिबार सबैभन्दा धेरै पर्यटकहरूको घुइँचो लाग्ने गरेको रानीघाट पार्क व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार वली बताउँछन् । उनका अनुसार उक्त पार्क स्थानीय नागरिकहरूको सक्रियतामा सञ्चालन गरिएको हो । पछिल्लो समयमा पार्क पर्यटकहरूको रोजाइमा पर्न थालेको उनले बताए ।
घुमघाम र पिकनिकका लागि नयाँ नयाँ ठाउँहरूबाट पर्यटक आउन थालेपछि पार्क व्यवस्थापन समितिले सुविधाहरू थप्ने काम गरिरहेको अध्यक्ष वली बताउँछन् । ‘यो स्थानीय जनताहरूको सक्रियतामा निर्माण गरिएको हो । सामुदायिक वनका उपभोक्ताहरूको लगानी रहेको छ । हामीले बाँके राष्ट्रिय निकुञ्जबाट अनुमति लिएर काम गरिरहेका छौँ,’ अध्यक्ष वलीले मिसन टुडेसँग भने । पार्कमा घुम्न र पिकनिटका लागि आउने पर्यटकहरूको सुविधाका लागि २४सैँ घण्टा धाराहरूको व्यवस्थापन गरिएको छ । अटोमेटिक बोरिङ, अर्को बोरिङ र धाराहरूको व्यवस्था गरिएको छ । बत्तीको व्यवस्था रहेको छ ।
यस्तै पर्याप्त दाउराको व्यवस्थापन गरिएको अध्यक्ष वलीले बताए । पार्कलाई दुई भागमा विभाजन गरिएको छ । एउटा भागमा पिकनिक क्षेत्र छुट्याइएको छ । जहाँ पिकनिकदेखि फोटो सेसन, रमाइलो गर्ने र गर्मी र पानीबाट बच्नको लागि टिनका पाताले छाएका घरहरू रहेका छन् ।
ती घरहरू एउटा विदेशी नागरिकको सहयोगमा निर्माण गरिएको छ भने अर्को घर उपभोक्ताहरूबाट संकलित रकमबाटै निर्माण गरिएको हो । यस्तै पाँच वटा स्थानमा पिङको व्यवस्थापन गरिएको छ ।
पर्यटकहरूको लागि थारू संस्कृतिसँग आधारित मचान निर्माण गरिएको छ । अर्को क्षेत्रमा भने गार्डेन निर्माण गरिएको छ । जहाँ डेटिङदेखि राम्रो बसोबास बन्दोबस्त रहेको छ । नजिकै रानीघाट खोलासमेत रहेको छ । जहाँ पौडी खेल्न र माछाहरूको दृश्यावलोकन गर्न सकिन्छ । कात्तिक २२ गते मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै ५४ वटा समूहमा रानीघाट पार्कमा पिकनिकका लागि आएका थिए ।
खड्कवारमा हात्ती सफारीदेखि जंगल सफारीसम्म
रानीघाट पार्कदेखि १ सय ५० मिटरको दूरीमा छ, बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार । जहाँ हात्ती सफारी, जगंल सफारीदेखि गाडी सफारीसम्मको व्यवस्था रहेको छ । यस्तै पर्यटक आगमनलाई आकर्षित गर्नको लागि निकुञ्जले पराम्परागत संग्रहालय निर्माण गरिरहेको छ । अध्यक्ष वलीले भने, ‘रानीघाट पार्क र खड्कवार हात्तीसार क्षेत्र अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका छन् । स्थानीय र सरकारको आपसी समन्वयमा अझ यसलाई सुविधा सम्पन्न बनाउनुका साथै प्रचारप्रसारसमेत आवश्यक रहेको छ ।’
खड्कवार हात्तीसार क्षेत्र र रानीघाट नदी क्षेत्रमा पर्ने भएकोले कटानको समस्या समाधानका लागि तटबन्धसमेत निर्माण गरिएको छ । पहिलो वर्ष कोहलपुर नगरपालिकाको पाँच लाख र स्थानीयहरूको श्रमदानमा ४८ मिटरसम्म तटबन्ध गरिएको उनले बताए । अघिल्लो आर्थिक वर्षसमेत प्रदेश सरकारले तटबन्धका लागि १० लाख रूपैयाँँ विनियोजन गरेको र सोहीअनुसार काम भएको अध्यक्ष वलीको भनाइ छ । चालू आर्थिक वर्षमा समेत लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती अधिकारीको निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रूपैयाँँ विनियोजित भएको उनले जानकारी दिए ।
पछिल्लो समय बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दै गएको छ । हाल निकुञ्जमा २५ वटा बाघ रहेका छन् । यसै सन्दर्भमा हात्ती सफारी र जंगल सफारीलाई निकुञ्जले जोडतोडका लागि लिइरहेको छ । निकुञ्जले अवलोकनमा आउने पर्यटकका लागि सफारी सेवा सञ्चालन गरेपछि सजिलै बाघको अवलोकन गर्न पाइने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बाँकेमा बाघलगायत वन्यजन्तु हेर्न आउने पर्यटकलाई जंगल सफारी, होमस्टे, जंगल पदयात्रा, हात्ती सफारीलगायत प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएपछि पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनी बताउँछन् । उनका अनुसार पछिल्लो समयमा मध्यवर्ती क्षेत्रका नागरिकहरूसँग मिलेर होमस्टे सञ्चालनदेखि पिकनिक पार्क र सफारी लगायतका विषयलाई प्राथमिकता दिइएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्