समाचार प्रभावः बन्द रहेका कोहलपुरका सार्वजनिक शौचालय सञ्चालनमा



कोहलपुर ।

गएको वैशाख ४ गते मिसन टुडे राष्ट्रिय दैनिकमा ‘कोहलपुरका सार्वजनिक शौचालयको हरिबिजोग’   भन्ने शीर्षकमा समाचार प्रकाशन भयो । त्यसको केही दिनमा कोहलपुर नगर विकास समितिले शौचालयको मर्मत ग¥यो । तर, मर्मत भएको लामो समयसम्म सार्वजनिक शौचालय सञ्चालनमा आएनन् ।

गत साउन १५ गतेको मिसन टुडे राष्ट्रिय दैनिकले ‘कोहलपुरका सार्वजनिक शौचालयमा तीन महिनादेखि ताल्चा’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसको केही दिनमा न्यूरोडमा सार्वजनिक शौचालय सञ्चालन आएपनि अन्य शौचालय सञ्चालन भने आउन सकेनन् । भदौ ६ गते ‘कोहलपुरका सार्वजनिक शौचालयः लाखौँ रकममा मर्मत भए तर, खुला भएनन्’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो ।
अन्ततः कोहलपुर क्षेत्रमा रहेका सार्वजनिक शौचालय सञ्चालनमा आएका छन् ।

लामो समयदेखि कोहलपुरको पूरानो बसपार्क र न्यूरोडमा रहेका सार्वजनिक शौचालय अहिले सञ्चालनमा आएका हुन् । सार्वजनिक शौचालय सञ्चालनमा आउँदा अहिले नागरिकहरूलाई सहज भएको छ । हाल शौचालय सञ्चालनको जिम्मा जीतबहादुर सिंह ठकुरीले लिएका छन् ।सञ्चालनको जिम्मा पाएका ठकुरीले पूरानो बसपार्कको एउटा र न्यूरोडको गरेर दुई वटा शौचालय सञ्चालनमा ल्याएको बताए ।

अर्काे बाँकी रहेको शौचालयसमेत सञ्चालनका विषयमा छलफल भइरहेको उनले बताए । थप मर्मत पश्चात केही दिनमा सञ्चालन ल्याउनेगरी काम भइरहेको उनको भनाइ छ । शौचालय सञ्चालनका लागि कोहलपुर नगरपालिका, नगर विकास समितिसँग विद्युत् र खानेपानीको व्यवस्थापन गर्न अनुरोध गरेको र व्यवस्थापन भएपछि सञ्चालनमा आएको उनले बताए ।

नगर विकास समितिले शौचालयको मर्मतका लागि करिब ९ लाख रूपैयाँ खर्च गरेको नगर विकास समितिका इन्जिनियर अम्मरबहादुर बुढाथोकीले मिसन टुडेलाई जानकारी दिए । अहिले नयाँ व्यक्तिलाई सञ्चालनको जिम्मा दिइएको उनले बताए । नगर विकास समितिले शौचालयका बिग्रेका १० वटा आल्मुनियमका ढोका, सेफ्टी ट्याङ्की, कलर र सिट टायलहरू मर्मत गरेको थियो । अहिले शौचालय सञ्चालनमा रहेको र एउटा मर्मत कार्य भइरहेको उनले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार