नेपालगन्ज ।
जेनजी प्रदर्शनका क्रममा गरिएको आगजनीबाट क्षतिग्रस्त भएको नेपालगन्जस्थित इलाका प्रहरी कार्यालय जयसपुरलाई सिरक र डसना सहयोग हस्तान्तरण गरिएको छ । बढ्दो चिसो मौसमसँगै ओड्ने र ओछ्याउने कपडा आवश्यक रहेको जानकारी पाएपछि क्लिन अप नेपालको सहयोग तथा बास नेपालको समन्वयमा बिहीबार इलाका प्रहरी कार्यालय परिसरमा नै उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।
इलाका प्रहरी कार्यालय जयसपुरमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु गिरीसहित १२ जना प्रहरीहरूका लागि एक–एक थान डसना र सिरक गरी १२ थान डसना र १२ थान सिरक हस्तान्तरण गरिएको हो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, उपाध्यक्ष दिला शाह, केन्द्रीय सदस्य बसन्ती रोकाया, निर्देशक हेमराज भट्टले उक्त सामाग्री इलाका प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक गिरीलाई हस्तान्तरण गरेका थिए ।
सामाग्री ग्रहणपश्चात बोल्दै गिरीले बास नेपालको समन्वयमा भएको सहयोगले इलाका प्रहरी कार्यालयलाई ठूलो राहत मिलेको बताए । उनले बढ्दो चिसोका कारण ओड्ने र ओछ्याउने कपडा आवश्यक परेका बेला सहयोग गर्ने बास नेपाल र क्लिन अप नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्