
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बुधबार काठमाडौँको भृकुटीमण्डपमा नेपालमा वामपन्थी धु्रवीकरणको उद्देश्यसहित दश कम्युनिष्ट घटकहरूबीच एकता भयो । विघटित प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेकपा ‐माओवादी केन्द्र), पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा ‐एकीकृत समाजवादी) सहित साना कम्युनिष्ट घटकबीच एकता घोषणा भएको हो । एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा‐माओवादी समाजवादी) र नेकपा साम्यवादी पार्टीबीच एकता भएको घोषणा गरिएको थियो ।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राखिएको छ । चुनाव चिन्हका रूपमा पाँचतारे तारा चयन गरिएको छ । हाल बनेको पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजनपछि धेरै कम्युनिष्ट शक्तिहरू मिलेर बनेको एकता हो । यस पार्टीमा तीन पूर्वप्रधानमन्त्री एउटै पार्टीमा अटाएका छन् । मूलभूत रूपमा सिंगो पार्टीहरूबीच एकता भएपनि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका केही प्रभावकारी नेताहरू एकता प्रक्रियामा सहभागी भएनन् । एकताको यो चरणमा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्की, सुदन किराँती लगायतका नेताहरू अलग भए र बुधबार प्रगतिशील अभियान नेपाल घोषणा गरे ।
एकीकृत समाजवादीबाट घनश्याम भूसाल पार्टी पुनर्गठन गर्ने बताइरहेका छन् भने रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरूले एमालेतिर फर्किने तयारीमा छन् । पार्टी एकतापछि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । धेरै वर्तमान समयमा जेनजीहरूले रूपान्तरण खोजिरहेको बेला वृद्ध नेताहरूको गठबन्धन बनेको भन्दै टिप्पणी गरेका छन् । कतिपयलाई यसलाई नेपालका कम्युनिष्ट पार्टीबीचको सनातनी विशेषतको रूपमा रहेको टुटफुट र एकताको पछिल्लो श्रृंखला भनेका छन् । एकतापछि नेताहरू भने उत्साहित देखिएका छन् ।
एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‐प्रचण्ड) ले नेकपालाई अब नेपालको नम्बर वान पार्टी बन्न कसैले रोक्न नसक्ने घोषणा गरे । सह–संयोजक माधव नेपालल कम्युनिष्ट इतिहासकै सबैभन्दा ठूलो पार्टी बनेको बताएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले नेपालमा अझै वृहत् वाम धु्रवीकरण आवश्यक रहेकोमा जोड दिए । चौथो वरियताका नेता तोकिएका बामदेव गौतमले नयाँ पार्टीका एक करोड कार्यकर्ता बन्ने ठोकुवा गरिदिए । एकतापछि देशभरका नेता कार्यकर्ताहरू उत्साहित देखिएका छन् ।
जिल्ला तहका नेता तथा कार्यकर्ताहरूमा मिश्रित प्रतिक्रिया आएको छ । बाँके जिल्लाका विभिन्न पार्टीका नेताहरू वृहत पार्टी एकताप्रति आशावादी र उत्साहित देखिए । उनीहरूका अनुसार कम्युनिष्ट पार्टीको एकताले देशमा सबै मिलेर अघि बढ्नुपर्ने शिक्षा दिएको छ । एकतालाई दीगो र फलदायी बनाउनुपर्ने उनीहरूको भनाइ छ । जनताले अनुभूत गर्नेगरी विकास गर्ने र जेनजी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न पार्टीले जोड दिनुपर्ने उनीहरूको भनाइ छ । नेता नरेन्द्र न्यौपानेका अनुसार नेपालमा ६० प्रतिशत जनमत कम्युनिष्ट पक्षधर छ ।
तर, नेपालका कम्युनिष्ट पार्टीहरू एकजुट हुन नसक्दा देशमा अपेक्षाकृत रूपमा विकास हुन नसकेको बताए । तर बुधबार सम्पन्न वृहत् प्रकारको एकताले देशैभरी सकारात्मक सन्देश गएको बताए । ‘यो सुरुवात मात्र हो । अझै कम्युनिष्ट घटकहरू मिल्नुपर्ने देखिन्छ । अझै बाँकी अरु घटकलाई समेत समेट्नेछौँ । नयाँ निर्वाचनमार्फत देशले नयाँ सन्देश दिनेछ,’ उनले भने । वृहत् पार्टी एकतालाई उनले जेनजी आन्दोलनको मागसमेत भएको दाबी गरे । आन्दोलनपछि देशको राजनीतिक परिस्थिति फरक भएको बताउँदै उनले निर्वाचनमार्फत देशलाई सही दिशामा ल्याउन सकिने बताए । निर्वाचनको विकल्प नै नरहेको उनको भनाइ थियो ।
एकताले बाँके जिल्लामा समेत शसक्त अभियान सञ्चालन गरिने बताए । जनताले जिल्ला तहमा एकतालाई सहर्ष रूपमा स्वीकार गरेको नेता न्यौपानेले बताएका छन् । उनले भने, ‘एकता प्रक्रियामा प्रभाकर जोडिनु भएन । उसो त सिंगो देशका कार्यकर्ता एकताको पक्षमा उभिएका छन् । जनताले अब विभाजन स्वीकार गर्दैनन्,’ हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको नेकपा ‐माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले कम्युनिष्ट पार्टीबीचको एकताले जिल्ला तहमा उत्साह बढाएको बताए ।
उनका अनुसार कम्युनिष्ट पार्टीहरू एकजुट हुनु सकारात्मक हो । तर, अब पार्टीहरू जनकेन्द्रित हुनुपर्ने आवश्यकता उनले औँल्याए । उनले भने, ‘हिजो घोषणा भएको छ । केन्द्रले अब छिट्टै निर्देशन जारी गर्छ होला सोही अनुसार जिल्लामा गतिविधि हुनेछन् । हामी एकताको सन्देश बोकेर वडा तहसम्म पुग्छौँ’, उनले परिवर्तनकारी र देशभक्तपक्षहरू एकजुट हुनुको विकल्पपनि नरहेको बताए । नेकपा ‐एकीकृत समाजवादी) बाँकेका अध्यक्ष दीपक जीएमले सिंगो पार्टी एकताको पक्षमा रहेको बताए । उनका अनुसार परिवर्तित सन्दर्भमा एकता अपरिहार्य थियो । दश वटा कम्युनिष्ट पार्टीको एकता ऐतिहासिक भएको उनले बताए ।
उनले भने, ‘एकतालाई पार्टीले स्वागत गरेको छ । जिल्ला तहमा समेत नेता कार्यकर्ताहरूले समर्थन जनाउनु भएको छ । अब केन्द्रबाट निर्देशन आउँछ होला । सोही अनुसार हामी जिल्लामा गतिविधि गर्नेछौँ ।’ नेताहरूले एकताले उत्साह जगाएको बताएपनि कार्यकर्ता तहमा भने आशंका देखिन्छ । पार्टीहरू फुट्ने र जुट्ने गरिरहने भन्दै कार्यकर्ताहरूले आगामी दिनमा कसरी काम गर्छन् भन्ने भन्ने कुरामा निर्भर रहने बताएका छन् । बाँके जिल्लामा मुख्यत नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मुख्य घटकका रूपमा रहेका छन् । एकतामा सामेल भएका अन्य घटकसमेतको केही दिनमा संयुक्त बैठक आह्वान गर्ने तयारी भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्