नेपालगन्ज ।
बुधबार शिख धर्मका प्रवर्तक श्री गुरु नानकको जन्मजयन्ती बाँकेको नेपालगन्जमा पनि भव्यतापूर्वक मनाइएको छ । जयन्तीका अवसरमा नेपालगन्जमा प्रभातफेरीको आयोजना गरिएको थियो । उक्त प्रभातफेरी नेपालगन्ज विपीचोकस्थित गुरुद्वाराबाट सुरु भएर धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवनचोक हुँदै पुनः गुरुद्वारामा पुगेर समापन भएको थियो ।
प्रभातफेरीमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिएको थियो ।त्यसपछि गुरुद्वारामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका धार्मिक परम्परा अनुसार पूजापाठ गरिएको थियो । साथै गुरुद्वारामै सामूहिक भोजन पनि गराइएको थियो । नेपालगन्ज गुरुद्वाराका प्रधान चरनजित सिंह सचदेवाका अनुसार बाँकेको नेपालगन्जस्थित सिख्खनपुरुवा, जमुनाह, वनकटवा लगायतका स्थानमा करिब एक हजार शिख धर्मालम्वीहरू रहेका छन् ।
गुरु नानक जयन्ती मनाउने कार्यक्रममा एक हजार बढी शिख तथा अन्य धर्मावलम्वीहरूको सहभागिता रहेको उनले बताए । सामूहिक भोजमा विभिन्न जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू सहभागी भएका थिए । नेपालमा शिख धर्मावलम्वीहरूको सबैभन्दा बढी बसोबास रहेको जिल्ला नै बाँके हो । सचदेवाले गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेद्भावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेकाले त्यही परम्परा अहिले पनि कायम रहेको बताए ।
कार्तिक शुक्ल पूर्णिमाका दिन जन्मिएका गुरु नानकको सम्झनामा जन्मजयन्ती मनाइने गरिन्छ । सन् १४७९ को कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा जन्मिएका नानकले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए । उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराएका थिए । नानक जयन्तीभन्दा दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गर्न सुरु गरिन्छ र गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई ‘अखण्डपथु’ भनिन्छ ।









प्रतिक्रिया दिनुहोस्