राप्ती सोनारी नेचर रन कात्तिक २२ गते



नेपालगन्ज ।

राप्ती सोनारी नेचर रन यस वर्ष यही कात्तिक २२ गते शनिबार बाँकेको राप्ती सोनारीमा हुने भएको छ । एघार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि राप्ती सोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्ती सोनारी पालिकाअन्तर्गत विद्यालयका छात्रछात्राहरूले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने पनि उनले बताए । स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोगसम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्ती सोनारी नेचर रन हरेक वर्ष निरन्तरता दिइने धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्ती सोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रूपमा कार्यरत छन् ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रूपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौँ २५के हेरिटेज रेस, कर्णाली हाफ म्याारथनलगायत रहेका छन् । देशको विषम परिस्थितिका कारण नाइट रन स्थगन गरियो भने गौघाट ग्रीन र असोज २८ गते दोस्रो संस्करण सम्पन्न गरियो ।

वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१० का स्वर्णधारी केन्या निवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो । राप्ती सोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताएका छन् । नेपालगन्ज म्याराथन भने मंसिर ६ गते शनिबार हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार