कोहलपुरबाट सुर्खेत सारियो मौसम विज्ञान कार्यालय



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशबाट लुम्बिनी प्रदेशको कोहलपुर सारिएको हावापानी विश्लेषण गर्ने कार्यालय पुनः कर्णालीमै स्थानान्तरण गरिएको छ । २०७६ सालमा सुर्खेतबाट कोहलपुर सारिएको यस कार्यालय पुनः सुर्खेतमै सारिएको हो ।
केही समययता कोहलपुरबाट सेवा दिँदै आएको यस कार्यालयले अब सुर्खेतको वीरेन्द्रनगरबाट सेवा प्रदान गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ विकास मन्त्रालय मातहत रहेको कार्यालय स्थानान्तरण भएको ६ वर्षपछि फेरी सुर्खेत सारिएको हो । कार्यालय स्थापना भएसँगै अब कर्णालीको मौसमी जानकारी सुर्खेतबाटै प्रवाह हुने जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कँडेलले बताइन् ।

उनका अनुसार बहुप्रकोपीय विपद्जन्य जोखिमबाट कर्णाली प्रदेशले बर्षेनि ठूलो मात्रामा धनजन र मानवीय क्षति व्यहोर्दै आएको छ । कर्णालीमा हावापानी विश्लेषण गर्ने कार्यालय पुनः स्थापना भएसँगै विपद्पूर्वको तयारी र विपद्पछिको प्रतिकार्यमा जुट्न सघाउ पुग्ने उनले विश्वास व्यक्त गरिन् । मौसमसम्बन्धीको जानकारी र सूचनाको विश्लेषणले नै विपद्बाट हुनसक्ने मानवीय र धनजनको क्षती रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

प्रदेश सरकार र स्थानीय तहहरूले मौसम कार्यालयबाट अधिकतम जानकारीहरू लिएर विपद्बाट नागरिकहरूको जीउधन जोगाउन प्रभावकारी समन्वय गर्ने कार्यालयको अपेक्षा छ । कमजोर भू–बनोट, छरिएर रहेका बस्ती, वातावरणीय प्रभाव अध्ययनबिनै हुने विकास तथा मौसमी फेरबदलका कारण कर्णाली बर्षेनि मौसमजन्य विपद्बाट आक्रान्त हुने गरेको छ । यसको मुख्य कारण जल र वायुको समयमै विश्लेषण गरी सूचना दिने प्रणाली कर्णालीमा नहुनु हो ।

जल तथा मौसम विज्ञान कार्यालय कर्णालीबाट लुम्बिनी सारिँदा विपद्को मौसमी तथ्यांक लिन प्रदेश र स्थानीय सरकारलाई कठिनाइ थियो । मौसम कार्यालयलाई सुर्खेतमै सार्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहल गर्दै आएको थियो । विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउँदै आएको मन्त्रालयले मौसम कार्यालय सुर्खेतमै हुँदा थप समन्वयबाट काम गर्न सहयोग पुग्ने मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले बताए ।

तत्कालीन अवस्थामा वीरेन्द्रनगरमा स्थापना भएको कार्यालयबाट साविकका मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषण हुने गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले यसअघि जल तथा मौसम विज्ञान विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृति दिएको थियो ।

सोही बमोजिम प्रदेश नं. १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुर कार्यालय स्थापना भएको थियो । उतिबेला पनि कार्यालय कोहलपुर स्थानान्तरण भएपछि कर्णालीमा यसको विरोध भएको थियो । मौसमसम्बन्धी जानकारी दिने राडारसमेत सुर्खेतमा निर्माण भइरहेका बेला कार्यालय सार्नुलाई उपेक्षा गरिएको रूपमा कर्णालीका नागरिकले बुझेका थिए ।

यता केही समयअघि कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि मौसम कार्यालय सुर्खेत सार्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले कोहलपुरमा रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतमा स्थानान्तरण गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो ।

मौसमी राडार प्रयोगविहीन 

कर्णाली र सुदूरपश्चिममा मौसमजन्य घटनाहरूको बाह्रै महिना पूर्वानुमानको विश्लेषण गरी पूर्वसूचना प्रवाह गर्न स्थापना गरिएको अत्याधुनिक प्रविधियूक्त ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) हाल प्रयोगविहीन अवस्थामा छ ।

विशेषगरी पश्चिमी क्षेत्र लुम्बिनीका तीन जिल्ला बाँके, बर्दिया, दाङ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी गतिविधिको निगरानी गर्न १७ मंसिर २०७६ मा स्थापना भएको मौसमी राडार विगत तीन वर्षयता प्रयोगविहीन छ ।

सुर्खेत र दैलेखको सीमावर्ती क्षेत्र वीरेन्द्रनगर नगरपालिका–१४ स्थित रातानाङ्लामा राडार जडान गरी सञ्चालनमा ल्याइएको थियो । उक्त राडारले वर्षा हुनुभन्दा तीन÷चार घण्टा अघि र पछि मौसममा आउन सक्ने फेरबदल अर्थात् कति वर्षा हुँदैछ ? हावा कुन गतिमा कहाँबाट बहँदै छ ? तापक्रम घटबढको अवस्था र आँधीहुरी तथा बाढीपहिरोको पूर्वानुमान गर्ने बताइएको थियो ।

राडारले पश्चिम नेपालमा प्रकोपबाट हुनसक्ने विपद् जोखिमलाई न्यूनीकरणमा सघाउ पु¥याउने भनिएको थियो । यही विश्वासका साथ २०७६ मंसिरमा संघीय सरकारका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ विकासमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । उक्त राडारले हवाई उडान गर्ने ठाउँ र ल्याण्ड गर्ने ठाउँबीचको आकाशको मौसमको निगरानी गर्ने भएकाले यस क्षेत्रको हवाई उडान पनि सुरक्षित हुने जनाइएको थियो । तर तीन वर्षअघि राडारमा परेको चट्याङले उपकरणमा क्षति पुगेपछि अहिले राडार कामविहीन बनेको हो ।

विश्व बैंकको १८ करोड लागतमा तयार भएको राडारमा चट्याङ परेर केही उपकरण तथा इन्भटर र जेनेरेटरमा क्षति पुगेको जनाइएको छ । सरकारले बिग्रिएको राडार मर्मतमा ध्यान पु¥याउन नसक्दा यहाँका नागरिकलाई अन्दाजका भरमा मौसमको पूर्वानुमान गर्नुपर्ने बाध्यता छ ।

सुर्खेतमा स्थापना भएको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन् । जसमा पाल्पा र उदयपुरमा जडान भएका राडारले पूर्वी नेपालको मौसमी गतिविधिको निगरानी गर्ने गर्दछन् । चट्याङ्गका कारण बिग्रिएको राडार यसै वर्षभित्र मर्मत गर्ने तयारी रहेको मौसम विज्ञान कार्र्यालय प्रमुख कँडेलले जानकारी दिइन् । राडारमा प्रयोग भएको प्रविधि स्वदेशी जनशक्तिबाट मर्मतको सम्भावना नभएपछि परामर्शदातामार्फत मर्मतको कार्य अघि बढाउने तयारी रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार