रामप्रकाश विक । जुम्ला ।
खेतका फाँटहरूमा टलरम्मै मार्सी धानका पहेंँला बाला झुलिरहेका थिए । गाउँका सबै मानिसहरू हातमा हँसिया समाएर हतारहतारमा गुनगुनाउँदै खेततिर दौडिरहेका थिए । बुधबार देखिएको यो दृष्य हो, जिल्लाको हिमा गाउँपालिका–३ मोफ्ला गाउँको । एकातिर दुई दिनयता मडारिएको आकाश पूरै बादलले घेरीरहेको छ भने अर्कोतिर अहिल्यै हिउँ पानी पर्ला जस्तो मौसम । त्यसैमा मोफ्लावासीलाई धान भित्र्याउन निकै चटारो छ । तर यहाँको धान काट्ने समय घाम–पानीले होइन, देउताले दिएको मितिले निर्धारण गर्ने परम्परा छ । खेतमा धान पाकेपनि गाउँलेले काट्नलाई हतार गर्न पाउँदैनन् ।
किसान गोपाल रोकायाका अनुसार धान काट्न देउताले दिन नदिएसम्म कसैले खेतमा जान पाउँदैनन् । ‘गाउँलेहरूले धान काट्न देवताले दिएको दिन पर्खिनुपर्ने बाध्यता छ, अन्य समयमा खेतमा हँसिया चल्दैन,’ उनले भने, ‘मोफ्लामा धानखेती धार्मिक परम्परासँग जोडिएको छ । मौसम र परिस्थितिअनुसार गाउँउलेहरू धान काट्न पाउँदैनन् ।’ उनका अनुसार असोज २२ गते लाग्ने राहदेव मन्दिरको मेला यहाँको कृषि चक्रको केन्द्र हो । मेला सकिएपछि गाउँका धामी–झाँक्रीहरू भेला भएर देवतासँग खेतीका लागि मितिहरू माग्छन् । जहाँ कहिले धान रोप्ने ? कहिले गोड्ने ? र कहिले काट्ने ? भन्ने मिति तोकिन्छ ।
यस वर्ष देउताले कात्तिक ९ गतेपछि मात्रै धान काट्ने अनुमति दिएको किसान रोकायाले जानकारी दिए । ‘त्यसअघि खेतमा हिँड्न पनि मान्यता थिएन, धान पाकेको देख्दा मन चस्किन्थ्यो, तर परम्परा तोड्न पनि मिलेन,’ उनले थपे, ‘देउताको आदेश नै पहिलो प्राथमिकता हो । देउताले दिन दिएपछि मोफ्लावासीहरू एकैदिन धान काट्ने तयारीमा थिए ।’ उनका अनुसार कसैले अघि–पछि धान काट्ने काम सुरु गर्न पाइँदैन । सबैले एउटै दिनमा खेतमा पस्नुपर्छ र एउटै लयमा काम गर्नुपर्ने चलन छ ।
यो चलनले न त असमानता रहन्छ, न कसैको खेतमा जनावर पस्छ । किसान पृथी रावतले देउताले दिएको मितिले गाउँ एकै डोरीमा बाँधिएको तर्क गरे । ‘रोपाइँ, गोडमेल र घाँस काट्ने दिन पनि देवताको आदेशअनुसार नै तय हुन्छ । वैशाख पूर्णिमामा धामी–झाँक्रीहरूले रोपाइँको अनुमति माग्छन्,’ उनले भने, ‘यदी कोही किसानले तोकिएको मितिभन्दा एक दिन अगाडि वा पछि धान काट्यो भने मन्दिरमा बलि चढाउनुपर्ने प्रचलन अझै जीवित छ । यो डर होइन, आस्था हो ।’
उनका अनुसार मोफ्लाको चौशिला, बढाखेत, घोटी, स्याल, दुनी, आर, लाडे र ठिन्के जस्ता दर्जनौँ जिउलोहरूमा करिब २५० हेक्टर खेतमा मार्सीधान खेती गरिन्छ । यहाँको उब्जनीले करिब ६ महिनासम्म गाउँभर अन्न पुग्छ । ‘हाम्रो खेतमा फल्ने अन्न देवताको आशीर्वाद हो भन्ने विश्वासले हामीलाई आजसम्म बाँधेको छ, जब आधुनिकता गाउँमा पस्दैछ, धेरै ठाउँमा पुराना चलनहरू हराउँदैछन्,’ उनले थपे, ‘तर मोफ्लामा अझै पनि देवतासँग दिन माग्ने परम्परा जस्ताको तस्तै छ । यहाँका युवाहरू पनि यस चलनलाई बोझ होइन, गौरवका रूपमा हेर्छन् ।’
युवा किसान दलबहादुर रोकायाले पनि यो चलनले आफूहरूलाई फरक नपारेको बताए । ‘मोफ्ला गाउँमा धान काट्ने दिन केवल कृषि गतिविधि होइन, त्यो सामूहिक श्रद्धा, एकता र अनुशासनको प्रतीक हो,’ उनले भने, ‘कात्तिकको घाममा जब खेतहरू पहेँला धानका बालाले चम्किन्छन् । अनी हँसियाको टुनटुन आवाज गाउँभर गुन्जिन्छ, त्यो क्षण मोफ्लाका लागि केवल धान काट्ने समय होइन, देउतासँगको सम्झौता पूरा गर्ने घडी हो ।’ देउताले दिएको मितिमा काम गर्दा अन्नबाली धेरै फल्ने जनविश्वास रहेको उनको भनाइ छ ।
यता संस्कृतविद् रमानन्द आचार्यले कुनै बेलाको लागि यो चलन अत्यन्तै उपयुक्त रहेको बताए । तर अहिलेको आधुनिक प्रविधिको समयमा यो चलन परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘कुनैबेला घडी थिएन, मौसमको अवस्थाबारे जानकारी लिने माध्ययम पनि थिएन, त्यो बेला देवता हेराएर निर्णय लिने यो चलन अत्यन्तै वैज्ञानिक मानिन्थ्यो,’ उनले भने, ‘तर अहिलेको आधुनिक प्रविधिको युगमा कुन बेला पानी पर्छ, कुन बेला कस्तो मौसम हुन्छ सबै पहिले नै थाहा पाउन सकिन्छ, यस्तो अवस्थामा देवताले दिएको दिन नै धान काट्नलाई पर्खिनु उपयुक्त होइन किनकी असिना, हावापानीले पाकेको धान सखाप पार्न पनि सक्छ ।’
काटेको धान भिज्दा चिन्तित
सोमबार रातिदेखि परेको पानीका कारण घर भित्र्याउन लागेको धानबाली भिज्दा जुम्लाका किसान चिन्तित छन् । किसानले धान ढालेर खेतमै सुकाएको अवस्थामा वर्षाले भिजाएको हो । जिल्लाको चन्दननाथ, हिमा र तातोपानीका किसानले धान भित्र्याउन सुरु गरेका थिए । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार कूल आठ स्थानीय तहमध्ये पाँच पालिकाका किसानले धानबाली भित्र्याइसकेका छन् । जिल्लाको कनकासुन्दरी, सिंजा, तिला, गुठिचौर र पातारासीका किसानले धान भित्र्याइसकेका हुन् ।
वर्षा भइरहे खेतमा धान ढलेर काम नलाग्ने हुन सक्ने भन्दै किसान चिन्तित बनेका छन् । स्थानीय जयबहादुर रोकायाले यो पटक धान राम्रो फलिरहेको भए पनि वर्षाले घर भित्र्याउन समस्या भइरहेको बताए । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले तातोपानी र हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका केही वडाका किसानले अझै धान नभित्र्याउँदा समस्या भएको बताए । कूल दुई हजार ८९० हेक्टरमा रोपिएको २० प्रतिशत धान भिज्दा भण्डारणमा समस्या आएको उनले जानकारी दिए ।
चन्दननाथ नगरपालिकाको गैरागाउँ, पिपलगाउँ र जातिभिडका किसानले धान भित्र्याउन बाँकी छ । यहाँका किसानले भित्र्याउन धान काटिसकेका छन् । तर चुट्न र घर ल्याउन बाँकी छ । तातोपानी गाउँपालिकाको राँका, बाइराँका, लाछु जिउला र डाँगीबाडा जिउलामा धान भित्र्याउन सकेका छैनन् । हिमा गाउँपालिकाको दयारगाउँ र मोफ्लाका किसानले धान ढालिसकेका छन् । तलिकुडु र माथि कुडुगाउँका किसानले धान ढालेका छैनन् ।
घर भित्र्याउने भनेर खेतमै ढालिएको धानबाली भिजेकोले किसान चिन्तित बनेका छन् । धान भिज्दैमा क्षति नै नहुने भन्दै कार्यालय प्रमुख अधिकारीले अझै दुई÷चार दिनसम्म पानी परिरहृयो भने सुक्ननपाएर चामलमा कनिका धेरै हुने सम्भावना रहेको बताए । उनका अनुसार यदि एक सातासम्म पनि वर्षा रोकिएन भने धानका दाना, बाला र डाँठ खेतमै कुहिएर खेर जाने र उम्रिने समस्या देखिनसक्छ ।
कृषि कार्यालयले बिहानैदेखि हरेक स्थानीय तहका कृषि शाखामा समन्वय गरेर धानबालीको अवस्था बुझेको थियो । केही किसानले ढालेको धान पालमा छोपेर राखेका छन् भने केहीले डाँठसहित घरमा पु¥याएका छन् । तर कार्यालयका अनुसार जिल्लाको ८० प्रतिशत धान भित्र्याइसकिएको छ । जुम्लामा कालीमार्सी, उन्नत जातमा लेकाली १ र लेकाली ३, चन्दननाथ १ र चन्दननाथ ३ जातको धान रोपिँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्