बाँकेमा पक्राउ परेका जुवाडेबाट १७ लाख बरामद



नेपालगन्ज (बाँके) ।

बाँकेमा तिहार अवधिभर जुवा खेलिरहेका जुवाडेहरूबाट प्रहरीले करिब १७ लाख रूपैयाँ नगद बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरूमा जुवा खेल्दै गरेका जुवाडेहरूबाट उक्त रकम बरामद गरिएको हो । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३० जना जुवाडे पक्राउ गरेको थियो । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्दै गरेका अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूका साथबाट १६ लाख ९९ हजार ६६५ रूपैयाँ नगद बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीले भने, ‘हामीले असोज २२ गतेदेखि कात्तिक ३ गतेसम्म जिल्लाका विभिन्न स्थानहरूमा जुवा खेल्दै गरेका अवस्थामा ३० जना जुवाडे पक्राउ गरेका छौँ, उनीहरूका साथबाट १६ लाख ९९ हजार ६६५ नगद रूपैयाँसमेत बरामद गरेका छौँ, उनीहरूलाई कानुनअनुसार मुद्दा चलाएका छौँ ।’

प्रहरी नायव उपरीक्षक पातलीका अनुसार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका तथा कोहलपुर नगरपालिकाका विभिन्न स्थानहरूमा जुवा खेल्दै गरेका अवस्थामा ३० जना जुवाडेहरूलाई पक्राउ गरिएको हो । प्रनाउ पातलीका अनुसार असोज २२ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेल्दै गरेका १४ जना जुवाडेलाई पक्राउ गरिएको थियो। उनीहरूका साथबाट १३ लाख ६३ हजार ८०० रूपैयाँ नगद बरामद गरिएको उनले बताए ।

त्यसैगरी असोज २५ गते खजुरा गाउँपालिका वडा नम्बर ४ ‘जी’गाउँस्थित ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरोबाट पाँच जना जुवाडे पक्राउ परेका थिए । उनीहरूका साथबाट प्रहरीले ४७ हजार ३० रूपैयाँ नगद बरामद गरेको थियो । कात्तिक ३ गते कोहलपुर नगरपालिका वडा नम्बर १५ चौधरीया गाउँस्थित पुरानो कुखुराको फार्मभित्र जुवा खेलिरहेका अवस्थामा १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट दुई लाख ८८ हजार ८३५ रूपैयाँ बरामद गरिएको प्रनाउ पातलीले जानकारी दिए । पक्राउ परेका सबै जुवाडेहरूलाई मुलुकी अपराध संहिताअन्तर्गत जुवासम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार कारबाहीका लागि मुद्दा चलाइएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार