बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एकको मृत्यु, स्थानीयबासी आक्रोशित



बाँके ।

बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ मा एक जना पुरुषको ज्यान गएको छ । स्थानीय गुरुवागाउँमा रहेको नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो ।

रिम्ना मध्यवर्ती सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयबासीले खोजतलास गर्दा शनिबार बिहान मृत फेला पारेका थिए ।

जंगली जनावरले खाएको अवस्थामा खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीले जानकारी दिए । तीन टुक्रा भएको अवस्थामा खत्रीको शव भेटिएकाले मृत्यु बाघकै आक्रमणबाट भएको हुनसक्ने आंकलन गरिएको छ ।

बाघको आक्रमणबाट स्थानीयको मृत्युपछि स्थानीयबासी आक्रोशित बनेका छन् । घटनास्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार