‘नेपाली कांग्रेस पार्टी चुनावमा जान तयार छ’



सुर्खेत ।

सरकारले निर्वाचनको वातावरण बनाए पार्टी निर्वाचनमा सहभागी हुने नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् । चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् । मङ्गलबार सुर्खेतमा आयोजित पूर्व पार्टी सभापति गोविन्दबहादुर मल्लको १३ ओैं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू नगरेको उनले बताए ।

कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हमे भने जेनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उनको भनाइ थियो ।

कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाल्छना लगाउने, भ्रम सृजना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको आरोपसमेत लगाए । उनले कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुला रहेको बताउँदै सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाल्छना लगाउने लगायतका कार्यहरू भइरहेको बताए ।

कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ४ गते मंगलबार