गुञ्जिन थाले तिहारका गीत



चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन् । यादव खरेलले रचना गरेको गीतमा शम्भुजीत बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन् ।

काठमाडौँ ।

उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।

चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन् । यादव खरेलले रचना गरेको गीतमा शम्भुजीत बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन् । ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ ।

चलचित्र ‘चिनो’मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेको गीतमा गायिका आशा भोस्लेले स्वर दिएकी छन् । निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका छन् । मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको गीतमा रञ्जित गजमेरले सङ्गीत सिजना गरेका छन् ।

अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ । चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् । नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले बताए ।

उनले भने, ‘ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो । गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहारमात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।’ गायक तथा सङ्गीतकार पोखरेलले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए । पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर सङ्ख्या निकै न्यून छ । पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समय बनेका गीतसङ्गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न सकेका छैनन् ।

गुञ्जिन छाडे पुराना भैली गीत

तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो साँस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका छन् ।

‘प्रत्येक गाउँमा घरघरमा पुगेर विशेषगरी काग तिहारदेखि भाइटीकाका दिनसम्म पुरुष र महिलाका छुट्टाछुट्टै समूहले आफ्नै पारामा एक जनाले भैली गीत गाउने र अरुले भट्याउने चलन थियो,’ सुदूरपश्चिमको संस्कृतिका जानकार पूर्वशिक्षक शेरबहादुर भण्डारी भने, ‘भैली गीत गाएर सकेपछि आशिष् दिने चलन थियो, घरबेटीले भैली गाउन आएकाहरूलाई चामल, दान दक्षिणा दिएर बिदा गर्ने चलन थियो । अहिले पुराना भैली गीतहरू सुनिँदैनन्, आधुनिक तरिकाले बनाइएका देउसीभैलीका गीतहरू साउण्ड सिस्टममा बजाएर नाच्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसले गर्दा पुरानो संस्कृति हराउँदै गएको छ,’ उनी भन्छन् ।

तिहारका बेला घरघरमा पुगेर समूहमा गाइने भैली गीत सुदूरपश्चिमको संस्कृति र सामुदायिक एकताको प्रतीक मानिन्थ्यो । तर अहिले युवापुस्ताले डिजे, आधुनिक गीत र नाचगानलाई प्राथमिकता दिन थालेपछि पुरानो परम्परा लोपोन्मुख बन्न थालेकोप्रति उनी चिन्ता प्रकट गर्छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङसँगै ती जिल्लाबाट तराईका कैलाली, कञ्चनपुर बसाइँसराइ गरी झरेका समुदायका युवायुवतीले साँझदेखि राति अबेरसम्म भैली गाउँदै रमाइलो गर्ने चलन थियो ।

‘भैली गाएर पाएको अन्न, पैसा र आशीर्वादले पर्वको स्वाद फरक हुन्थ्यो,’ कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका ७२ वर्षीय बासुदेवी पाण्डेय भन्छन्, ‘अब त गाउँघरमा पुराना भैलीका स्वर सुनिँदैन, सब ठाउँमा साउण्ड सिस्टममा देउसीभैलीका आधुनिक गीतहरू मात्रै बज्छन्।’
शुक्लाफाँटा नगरपालिका–२ का शिक्षक राजबहादुर साउद भन्छन्, ‘पुराना भैलीलगायत सुदूरपश्चिमको संस्कृति जोगाउनका लागि सबैले अगाडि सर्नुपर्ने बेला आएको छ, पुराना मौलिक गीत र संस्कृतिबारे स्थानीय पाठयक्रमै लेख्ने व्यवस्था गरेर बालबालिकालाई सानै उमेरदेखि संस्कृति बुझ्ने अवसर प्रदान गर्नुपर्छ ।’

नासिँदै गएको संस्कृति जोगाउनका लागि समाजका अगुवाहरूले अगाडि सर्नुपर्ने उनी बताउँछन् । ‘डिजे संस्कृतिले गाउँघरका गीत, असल परम्परा, मौलिक संस्कृतिलार्ई विस्थापन गरेको छ,’ शिक्षक साउदले भने, ‘युवाहरूलाई भैली सिकाउने अवसर र वातावरणको सृजना गर्नु अत्यन्त आवश्यक छ, संरक्षणको प्रयास भएन भने केही वर्षमै भैली गीत बूढापाकाहरूको सम्झनामा मात्र सीमित हुनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार