सल्यान ।
सल्यानका एक युवकको बिहे गरेको आठ दिनमै मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । कुमाख गाउँपालिका–५ का २३ वर्षीय प्रकाश घर्तीको बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार ससुरालीबाट घुम्न गएका सालाभेना रूकुम पश्चिमको झुल्नेटाबाट ससुराली नुवाकोट गाउँतर्फ जाने क्रममा घर्तीले चलाएको रा२प७०२२ नम्बरको मोटसाइकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घर्तीका साला रूकुम पश्चिम चौरजहारी नगरपालिका– १४ नाउलाका १८ वर्षीय महेन्द्र पुन पनि घाइते भएका थिए । प्रहरी निरीक्षक पुनका अनुसार मोटरसाइकल सडकबाट झन्डै चार सय मिटर जति तल खसेको थियो । मोटरसाइकल पल्टिँदै तल खस्ने क्रममा महेन्द्रले भने सल्लाको रूख समातेर ज्यान जोगाउन सफल भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।
बिहीबार बेलुका पाँच बजेतिर दुर्घटना भएको थियो । दुर्घटनापछि घर्ती अचेत थिए । तत्काल प्रहरीले उद्धार गरी दुबै जनालाई झुल्नेटास्थित आकाश पोलिक्लिनिकमा पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रूकुम पश्चिम जिल्ला अस्पताल सल्ले पु¥याउना साथ चिकित्सकले घर्तीलाई मृत घोषणा गरेका थिए ।
मृतक प्रकाशका दाजु हरिबहादुर घर्तीका अनुसार प्रकाशको बिहे असोज १६ गते गरिएको थियो । प्रकाश साढे तीन महिना पहिले कतारबाट घर फर्किएका थिए । कतारबाट फर्किएपछि प्रकाश र दिलमायाको बिहे भएको थियो । बिहेपछि दसैँको टीका थाप्न भनेर श्रीमतीसँगै ससुराली गएको समयमा सालासँग बजार घुम्न गएका बखत उनीहरू दुर्घटनामा परेका हुन् ।









प्रतिक्रिया दिनुहोस्