कोहलपुर ।
दसैँ आउन केही दिनमात्र बाँकी छ । दसैँ नजिकिएसँगै कर्मथलोबाट जन्मथलो फर्कने नेपालीहरूको चहलपहल बढ्न थालेको छ ।नेपालीहरूको महान चाडपर्व दसैँ मनाउन घर फर्कनेहरूको कोहलपुर बसपार्कमा चहलपहल बाक्लिएको छ । कोहलपुर कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको प्रवेशद्वारसमेत रहेकाले घर फर्कनेहरूको चहलपहल बढेको हो ।
कर्मथलोबाट जन्मथलोमा दसैँ मनाउन कोहलपुर हुँदै तीन प्रदेशका नागरिकहरूको आवतजावत हुने भएकाले पनि चहलपहल बढेको छ । दसैँ घटस्थापनाबाट सुरु भई विजया दशमीका दिनमा टीका–जमरा र आशीर्वाद ग्रहण गरिने प्रचलन रहेको छ । पूर्णिमाको दिनसम्म दसैँ मनाइने परम्परा रहेको छ । दसैँको चहलपहल सुरु भएसँगै बजारमा चाडपर्वलक्षित किनमेल गर्नेहरूको घुइँचो लाग्न थालेको छ ।
कोहलपुरका मुख्य बजारमा दसैँ–तिहारलगायतका चाडपर्वका लागि किनमेल गर्नेहरूको चहलपहल बढेको हो । बजारमा किनमेल गर्नेहरूको सङ्ख्या बढेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । यतिमात्र नभइ कोहलपुर भित्रिने र बाहिरिने यात्रुवाहक सवारीसाधनहरूको चहलपहल पनि बढेको छ । अहिले कोहलपुरबाट दैनिक सयौँको सङ्ख्यामा यात्रुवाहक सवारीसाधनहरू भित्रिने र बाहिरिने क्रम बढ्दो रहेको बागेश्वरी यातायात व्यवसायी कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्याले बताए ।
उनका अनुसार कोहलपुरमा अध्ययन, रोजगारी, व्यापार, व्यवसायका लागि बसोवास गर्नेहरू धमाधम घर फर्कन थालेका हुन् । त्यत्तिकै सङ्ख्यामा बाहिरिएका नागरिकहरू भित्रिने क्रम पनि बढ्दो रहेको छ । चाडपर्व सुरु भएसँगै सुरक्षा चुनौती थपिएकाले यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको उनले बताए । चाडपर्व मनाउन घर फर्कनेहरू बाटोमा लुटिने, चोरी डकैती हुने, ठगिने तथा सडक दुर्घटनमा पर्ने जोखिम पनि उत्तिकै रहने भएकाले सुरक्षा व्यवस्थापन पनि कडा पारिएको उनको भनाइ छ ।
चाडपर्वको अवधिभर यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउने उनले प्रतिबद्धता समेत जनाए । विगत वर्षका सडक दुर्घटनाका कारणहरू केलाएर यस वर्षको दसैँलाई दुर्घटनारहित बनाउन चालक तथा कर्मचारीलाई सचेत गराइएको बताए । चाडपर्वका क्रममा क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुलाई हैरानी दिने, मर्मत नगरिएका सवारीसाधन चलाउनेजस्ता कार्यहरू प्रहरी र यातायात व्यवसायीको सहकार्यमा हुन नदिने उनले जानकारी दिए ।
रोजगारीका सिलसिलामा प्रदेश तथा थातथलो छाडेकाहरू जन्मघर फर्कन थालेका हुन् । बडादसैँ मनाउन सपरिवार सहर छाडेर गाउँ जानेहरूको अहिले चहलपल बढिरहेको छ । विशेषगरी कामको सिलसिलामा भारत गएका नेपालीहरू दसैँ मनाउन फर्किरहेका कोहलपुर र नेपालगन्जमा बाक्लो चहलपहल रहेको पाइन्छ । नेपालगन्जस्थित जमुनाहा नाका हुँदै स्वदेश फिर्ता हुने नेपालीहरूको अहिले भिडभाड निकै बढेको छ ।









प्रतिक्रिया दिनुहोस्