वीरेन्द्र जैसी । नेपालगन्ज ।
चाडबाडको सुरक्षाका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साढे १५ हजार बढी प्रहरीहरू परिचालन हुने भएका छन् । तीन वटै प्रदेशका प्रहरी कार्यालयले चाडबाडलक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न सुरु भैसकेको जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पाँच हजार ७७ जनाको सङ्ख्यामा प्रहरी परिचालन गरिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले जानकारी दिए ।
उता कर्णाली प्रदेशमा चार हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन हुने कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनालले जानकारी दिए । लुम्बिनी प्रदेशमा भने करिब सात हजार नौ सय ७३ प्रहरीहरू खटिने भएका छन् ।पछिल्लोपटक जेनजीको प्रदर्शनको अवस्थामा जेलबाट भागेका अपराधीहरू र आन्दोलनबाट उत्पन्न परिस्थितिपछि आम मानिसमा सिर्जित असुरक्षाको महसुसलाई घटाउने गरी काम गर्ने प्रहरीको रणनीति रहेको देखिन्छ ।
केन्द्रीय कारागार विभागका अनुसार अहिले पनि ६ हजार आठ सयभन्दा बढी कैदीबन्दीहरू कारागार बाहिरै रहेको अवस्था छ । जेनजी आन्दोलनको दोस्रो दिनमा भएको प्रदर्शन सरकारले नियन्त्रण गर्न नसकेपछि कारागारहरूबाट कैदीबन्दीहरू भागेका थिए । आन्दोलनअघि कारागार र सुधारगृहमा गरी देशभर ३० हजार ६ सय ४१ कैदीबन्दी रहेकोमा आन्दोलनको बेला भागेर १४ हजार पाँच सय ४९ कैदीबन्दी फरार भएका थिए । त्यसपश्चात् प्रहरीले पक्राउ गरेर र आफँै फर्केर कारागार आइसकेका केन्द्रीय कारागार विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
अहिले बाहिर रहेका कैदीहरूलाई पनि यथाशीघ्र कागागार फर्किन अनुरोध गरिएको, सीमा नाका, अध्यागमन र प्रहरीलाई त्यस्ता व्यक्तिहरू बाहिर जान नपाउनेगरी कडा निगरानी गर्न अनुरोध गरेर पत्राचार गरिएको न्यौपानेको भनाइ छ । ‘अहिलेपनि कैदीहरू कारागार फर्किने क्रम जारी छ । हामीले उनीहरूलाई कारागारमा ल्याउन सबै निकायसँग प्रभावकारी समन्वय गरिरहेका छौँ,’ न्यौपानेले भने ।
यसरी कारागार बाहिर रहेका केही कैदीबन्दीहरू अहिलेको लागि असुरक्षाको प्रमुख कारण बन्न सक्ने प्रहरी अधिकारीहरू नै बताउँछन् ।उनीहरूले त्यसैलाई ध्यानमा राखेर सुरक्षा योजना निर्माण गरेको र प्रहरीहरूलाई निर्देशन पनि सोहीअनुसारको रहेको उनीहरूले बताए ।त्यसका लागि अत्यधिक गस्ती र पेट्रोलिङ गर्ने र संवेदशील क्षेत्रहरूमा सुरक्षाको प्रबन्ध बलियो बनाउने गरी योजना तयार गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
यसबाहेक सडक सुरक्षा र यात्रुहरूको सुरक्षालाई पनि प्रहरीले विशेष प्राथमिकतामा राखेको उनीहरूको भनाइ छ । सुदूरपश्चिम प्रहरीले भारतसँग जोडिएका सीमा नाकादेखिको सुरक्षाको व्यवस्थासहित जेलबाहिर रहेका कैदीबन्दीहरूले निम्त्याउन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा योजना बनाएको एसएसपी रानाभाटले जानकारी दिए । उनले कारागारबाट बाहिर रहेका थुनुवा र कैदीहरूको खोजी गर्ने, शंकास्पद गतिविधिमाथि निरानी राख्ने काम गरिहेको बताए ।
यसैगरी, चाडबाडका बेला हुने झैझगडा नियन्त्रण गर्ने रणनीति बनाएको पनि उनले जानकारी दिए । चोरी नियन्त्रणका लागि दु्रत प्रतिकार्य टोलीमा प्रहरीको सङ्ख्या बढाइएको पनि उनले जानकारी दिए । यस वर्षको सुरक्षासम्बन्धीको परिस्थिति अघिल्ला वर्षको भन्दा फरक रहेको कुरालाई दृष्टिगत गरी नागरिकको तर्फबाट पनि प्रहरीलाई सहयोगको अपेक्षा रहेको उनको भनाइ छ । ‘प्रहरी त आफ्नो तर्फबाट परिचालित नै छ । तर यतिखेर समाज र व्यक्तिहरू सचेत हुनुपर्ने बेला छ ।
शंकास्पद गतिविधि हुँदा जानकारी गराउने, प्रहरीसँग सहकार्य गर्ने, गाउँटोलको सुरक्षाका लागि चनाखो हुने अपेक्षा नागरिकबाट पनि गरेका छौँ । आफ्नो घर क्षेत्र सुरक्षित राखिदियो भने धेरै कुराको जोखिम कम गर्न सकिन्छ,’ एसएसपी रानाभाटले मिसन टुडेसँग भने । कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी खनालका अनुसार जेनजी आन्दोलनका बेला बैंक तथा वित्तीय संस्थाहरू निशानामा परेको कुरालाई ध्यानमा राखेर यतिखेर त्यस्ता संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धमा विशेष व्यवस्था गरिएको बताए ।
उनले बैंक तथा वित्तीय संस्था तथा व्यवसायिक क्षेत्रसँग छलफल गरी हुनसक्ने असुरक्षाका जोखिम न्यूनीकरण गर्न रणनीति बनाइएको जानकारी दिए । उनले नागरिकहरूले पनि अनाउनुपर्ने सावधानीका विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी गराइएको बताए । उनले चाडबाडमा घर छोडेर जानुपर्दा नजिकको प्रहरी र छिमेकीलाई जानकारी गराउने, घर, टोल र गाउँमा सीसीटीभी निगरानीको व्यवस्था मिलाउने जस्ता काममा नागरिकहरू पनि अग्रसर हुनुपर्ने बताए । ‘यतिखेर हामी सबै मिलेर अपराध र अपराधीहरूको न्यूनीकरण गर्न लाग्नुपर्ने अवस्था छ । त्यसकारण नागरिकसँग पनि प्रहरीले अपेक्षा गरेको छ,’ उनले भने ।
यता लुम्बिनी प्रदेशमा चाडपर्व सुरक्षा योजनाअन्तर्गत सात हजार नौ सय ७३ प्रहरी परिचालन गरिने भएका छन् । उनीहरूलाई विभिन्न २० प्रकारको टोलीमा विभाजन गरेर खटाइने योजना बनाइएको छ । सुरक्षा योजनाअनुसार प्रहरीहरू प्रदेश कमाण्ड पोष्ट, प्रदेश रिजर्भ, कमाण्ड पोष्ट, जिल्ला रिजर्भ, द्रुत प्रतिकार्य टोली, चारपाङग्रे र दुईपाङ्ग्रे मोबाइल गस्ती, पैदल गस्ती, पिकेट र ट्राफिकसहितको संयुक्त चेकिङमा खटिनेछन् ।
यसैगरी, सादा पोशाक, यात्रु सहायता कक्ष, धार्मिक तथा पर्यटक स्थलहरू, राजमार्गमा स्कटिङ, लोकमार्गमा हतियारसहित क्रस पेट्रोलिङमा पनि प्रहरीहरू खटाइने भएको छ । प्रहरीले २४ घण्टा राजमार्ग विशेष चेकिङ गर्ने, ग्रामीण गस्ती गर्ने र बजार अनुगमनमा पनि खटाइने गरी योजना बनाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीका अनुसार सीमा नाकाबाट हुनसक्ने घुसपैठ, कैदबाहिर रहेका फरार कैदीबन्दी र चाडबाडका क्रममा हुने सामूहिक गतिविधिहरूलाई शान्तिपूर्ण बनाउने चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन गरिनेछन् । उनले सहरी क्षेत्रमा चोरी तथा लुटपाटको जोखिम न्यूनीकरणका लागि नागरिकहरूसँग सहकार्य गर्नेगरी योजना बनाइएको बताए ।
नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी यसवर्षको चाडबाडमा प्रहरी अघिल्ला वर्षहरूभन्दा थप चनाखो हुनुपर्ने बेला रहेको बताउँछन् । उनले प्रहरीको सक्रियताका लागि अहिले प्रहरीको मनोबल बढाउनु सबैभन्दा पहिलो काम भएको बताए । ‘अहिले प्रहरी अघिल्ला वर्षभन्दा थप चनाखो हुनुपर्ने बेला छ । त्यसका लागि प्रहरीको मनोबल बढाउनु जरुरी छ । त्यसमा संगठनभित्रैबाट र नागरिकहरूका तर्फबाट पनि प्रहरीलाई सहयोगको आवश्यक हुन्छ,’ पुडासैनीले भने ।
उनले नेपालगन्जजस्ता देशका सीमावर्ती सहरमा अझ बढी प्राथमिकताका साथ प्रहरीले सक्रियता देखाउनुपर्ने बताए । ‘उसैपनि प्रहरीहरूले चाडबाडका बेला निद्रा पूरा गर्न पाउँदैनन् । झन् यसवर्ष अझ कम सुत्न दिएर भएपनि प्रहरीको सक्रियता बढाउन जरुरी छ,’ पुडासैनीले मिसन टुडेसँग भने । उनले फरार कैदीबन्दीहरूले भागेर अर्काे अपराध गरिसकेकोले अब थप अपराध गरी समाजमा पुनस्र्थापना हुने अवसर नगुमाउनका लागि कारागार फर्किन आग्रह गरे । ‘उनीहरू फर्किएनन् भने प्रहरीले उनीहरूलाई खोजेर कारागार फर्काउने काममा लाग्नुपर्छ,’ पुडासैनीको सुझाव छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले पनि अहिले आफूहरूले उच्च मनोबलका साथ सुरक्षामा खटिन मातहतलाई निर्देशन दिइएको बताए । फरार कैदीबन्दीहरू सुरक्षामा स्वभाविक रूपले चुनौतीको रूपमा रहने उनले बताए । ‘उनीहरूले मुख्यगरी आफ्नो प्रतिद्वन्द्वीलाई निशाना बनाउन सक्छन् । त्यसो भएर उनीहरू यतिखेरको सुरक्षा चुनौती हुन् भन्ने कुरालाई प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ,’ डीआइजी घिमिरेले मिसन टुडेसँग भने ।
उनले अहिले प्रहरीले जनताको साथ लिनु सही रणनीति हुने भएकोले सोहीअनुसारको योजना बनाउन निर्देशन दिइएको पनि दाबी गरे । ‘समुदायलाई नै अपराधविरुद्ध जागरुक गराउने, उनीहरूको साथ लिने, गाउँ टोलहरूको सामूहिक प्रयासबाट प्रहरीलाई सघाउने वातावरण बनाउने र समुदायको बढीभन्दा बढी साथ लिएर सुरक्षा दिनेगरी रणनीति बनाउन भनिएको छ । सोहीअनुसार सुरक्षा योजना पनि बनेका छन्,’ घिमिरेले भने ।









प्रतिक्रिया दिनुहोस्