काँग्रेस नेतृत्वप्रतिको असन्तुष्टिः एक पक्ष फेरबदल, अर्को पक्ष पार्टी एकताको पक्षमा



शेरबहादुर ऐर । कैलाली ।

नेपाली काँग्रेसको नेतृत्व परिवर्तनको विषयको बहस कैलालीसहित सुदूरपश्चिममा पनि प्रवेश गरेको छ । सुदूरपश्चिम नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश रहेकाले पार्टीबाट जननिर्वाचित प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरू उनको रक्षात्मक भूमिकामा अघि बढेका छन् भने केही व्यक्तिहरू उनको नेतृत्व हट्नुपर्नेमा दाबी गरिरहेका छन ।

जेनजी समूहको आन्दोलनपश्चात् केन्द्रमा विश्वप्रकाश शर्मा र गगन थापासहित केही नेताहरूले काँग्रेसलाई बलियो बनाउन विशेष महाधिवेशनमार्फत नेतृत्व फेरबदलका लागि हस्ताक्षर अभियान सुरु गरेका छन् । कैलालीमा पनि पार्टीका पदाधिकारी रहेका केही नेताहरूले नेतृत्व फेरबदल हुनुपर्नेबारे बहसको थालनी गरेका हुन ।

बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली काँग्रेस कैलाली कार्यसमितिको उपसभापतिसमेत रहेका भीम बडुवाल र महाधिवेशन प्रतिनिधि लोकराज पाण्डेय (आगो)सहितले पार्टीलाई बलियो बनाउन नेतृत्व फेरबेदल हुनुपर्ने बताएका हुन् । पार्टी उपसभापति बडुवालले भने, ‘पार्टीलाई भयानक पराजय र इतिहासमा बलियो हुने अवस्थाबाट जोगाउनका लागि नियमित महाधिवेशन २०८२ मङ्सिरभित्र सम्पन्न गर्न र विशेष महाधिवेशन गरिनुपर्छ । व्यक्ति पूजाका नाममा हामी पार्टी खरानी भएको हेर्न चाहन्नौँ ।’

उनले आफनो धारणा सार्वजनिक गर्दै कैलाली पार्टी नेतृत्वले आफूमाथि तानाशाही र दादागिरी शैलीको व्यवहार भइरहेको बताए । उनले भने, ‘म पार्टीको उपसभापति हुँ । तर, अहिलेसम्म पार्टी बैठकमा न मलाई सहभागी गराइयो । न त बैठकको निर्णयबारे जानकारीनै गराइयो ।’
पार्टी उपसभापति बडुवालले पार्टीको लेटरप्याडको दुरुपयोग गरेको विवाद अहिलेसम्म जारी रहेको छ । बडुवाललाई पार्टीले कारबाही गरेकोबारे अहिलेसम्म सार्वजनिक भएको छैन ।

तर, उनलाई पार्टीले बैठकमा बोलाउन छोडेकोले उनी पार्टीले निरन्तर अन्यायपूर्ण व्यवहार गरेको बताउँछन् । उनले भने, ‘धेरै पटक संवादको प्रयास भए । तर, सभापतिले अहंकार त्याग्नुभएन । त्यसैले पत्रकार सम्मेलन गरेर यो कुराको उजागर गर्न बाध्य भएको हुँ । देश र पार्टी दुवै गम्भीर मोडमा छ । हामीलाई पार्टीभित्र पुर्ननिर्माण र पुनर्जागरण चाहिएको छ । पार्टीभित्र पुनर्जागरण आउनका लागि नयाँ नेतृत्वको आवश्यकता छ ।’

विशेष महाधिवेशन भन्दै गरिएको हस्ताक्षर अभियानले पार्टी कमजोर हुन्छ

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको चर्चा चलिरहेका बेला सभापति शेरबहादुर देउवानिकट सुदूरपश्चिम प्रदेशका नेताहरूले भने त्यसको खण्डन गरेका छन् । बुधबार धनगढीमा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नेताहरूले महाधिवेशनको माग गर्दै भएको हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने उनीहरूको निष्कर्ष छ ।

‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रियसभा सदस्य, प्रदेश समितिका कार्यवाहक सभापतिलगायतले पार्टीमा अहिले एकताको आवश्यकता रहेको बताएका हुन् । यसअघि केही सभापति देउवा समूहमा रहेका भनिएका, महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालानिकटका १०९ जना महाधिवेशन प्रतिनिधिनिहरूले हस्ताक्षर अभियानको सुरुवात गरेका थिए । उनीहरूले अहिले विषम परिस्थिति रहेको र यही समयमा पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै अभियान सुरु गरेको बताएका छन् । यही समयमा देउवानिकटहरूले भने नेतृत्व छाड्न नहुने भनेका छन् ।

संविधानभित्रैैबाट निकास खोज्न सुझाव

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वमा बसेको नेपाली काँग्रेसको बैठकले वर्तमान संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्न आवश्यक रहेको निर्णय गरको छ । अहिले प्रधानमन्त्री शुशीला कार्कीको नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै राजनीतिक दलहरूबिनाकै सहभागितामा सरकार गठन गरिरहेकोले दल, सरकार र जेनजी समूहबीच राष्ट्रिय सहमति आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडले राष्ट्र हितका लागि र अन्तराष्ट्रिय सम्बन्ध बलियोे बनाउन सबैलाई समेटेर सरकार अघि बढ्नुको विकल्प नरहेको बताए । उनले प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने, पुनस्र्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरिनुपर्ने, पुनस्र्थापित प्रतिनिधिसभामा जेनजी युवाहरूलाई सहभागी गराइनुपर्ने र संशोधित संविधानमा टेकेर आम निर्वाचन गर्नु अहिलेको आवश्यकता रहेको बताए।

संशोधित संविधानमा टेकेर आम निर्वाचन गर्नुपर्ने निर्णय पनि भएको उनले बताए । ‘पार्टीको आन्तरिक एकता सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सांघातिक आक्रमणमा पर्नु र कोइराला निवास, चाक्सीबारी र भट्टराई आश्रमलगायत पार्टीका नेताहरूको निजी आवास, पार्टी कार्यालयहरूमा भएको आगजनी र तोडफोडले लोकतन्त्र मास्ने र काँग्रेसलाई कमजोर बनाउने विभिन्न शक्ति केन्द्रहरूको पर्दा पछाडिको खेल हो भन्ने बैठकको निष्कर्ष रह्यो,’ वडले भने, ‘यसबाट उत्पन्न परिस्थितमा पार्टीलाई एक बनाउन आवश्यक रहेकोबारे पनि छलफल भयो ।’

पार्टी सभापति देउवा उपचारका क्रममै भएको हुँदा वर्तमान पदाधिकारीलाई सुझबुझका साथ पार्टीमा एकता कायम गरी निर्णय लिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ । ‘नेपाली काँग्रेसको विधान र पार्टी सभापतिज्यूले नियमित महाधिवेशनमा पार्टी सभापति नलड्ने र नेतृत्व हस्तान्तरण गर्ने भन्नुभएको सर्वविदितै कुरालाई पार्टीका पदाधिकारी र सदस्यले मनन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिने जस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन लोकतन्त्र नै समाप्त हुने भएकाले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौँ ।’

बैठकले सरकारले क्षतिको वास्तविक आकलन गर्दै आवश्यक पुनस्र्थापना र पुनः निर्माणको कार्य अगाडि बढाउन तथा आन्दोलमा घुसपैठ गरी आगजनी, तोडफोड र हिंसामा संलग्न दोषीको पहिचान गरि आवश्यक कानुनी कारबाही गर्न पनि माग गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार