वीरेन्द्रनगर ।
दसैँ, तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा हिमाली भेडा च्याङ्ग्रा सुर्खेतको वीरेन्द्रनगरमा भित्रिन थालेका छन् । नागरिकस्तरबाट माग बढेपछि व्यापारीहरूले हिमाली भेडा च्याङ्ग्रा सुर्खेतलगायतको सहरमा ल्याएका हुन् । दसैँमा मासुको राम्रो व्यापार हुने भएपछि व्यवसायीहरूले कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पालगायतका जिल्लाबाट भेडा च्याङ्ग्राहरू वीरेन्द्रनगर ल्याउने गरेका छन् ।
हिमाली क्षेत्रमा चरेको भेडाको मासु प्रयोगले उपभोक्ताको स्वास्थ्य राम्रो हुने विश्वास छ । खानामा मिठो, हिमाली जडीबुटीसमेत चरेकाले त्यहाँका भेडा च्याङ्ग्राको मासु उपभोक्ताले रुचाउने गरेका छन् । वीरेन्द्रनगर ल्याइएका भेडा च्याङ्ग्राहरू बिक्रीका लागि व्यवसायीले चोकचौक र गल्लीगल्ली डुलाउन थालेका छन् ।
दसैँमा भेडा च्याङ्ग्राको राम्रो व्यापार हुने भएपछि हुम्लाबाट भेडा च्याङ्ग्रा सुर्खेत ल्याएका व्यवसायी कैशाल बुढाले बताए । उनले दसैँका लागि ३७ वटा भेडा च्याङ्ग्रा सुर्खेत ल्याएका हुन् । नेपालगन्ज, धनगढी, दाङसम्म कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पातिरका भेडा दसैँमा पुग्ने गरेका छन् । जिउँदो भेडा च्याङ्ग्रा किन्दा प्रतिकिलो ६०० र काटेको मासु किन्दा एक हजार मूल्य पर्ने गरेको छ । घरमा पालेका खसी बराबर नै मूल्य पर्ने भएकाले जोकोहीको रोजाइमा हिमाली भेडा पर्ने गरेका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएकाले हिमाली भेडाको काँचो रगत पिउँदा राम्रो हुने जनविश्वास छ । शरीरमा रगतको मात्रा कम, जीउ काँप्ने, रिँगटा लाग्नेजस्ता समस्या हट्ने विश्वास छ । उसो त दसैँ भित्रिएको दुई दिनमै रौनक बढेको छ । सोमबारमात्र सुरु भएको बडादसैँको दुई दिनमै वीरेन्द्रनगरमा बजारमा किनमेल गर्नेहरूको भीड बढ्न थालेको छ ।








प्रतिक्रिया दिनुहोस्