डुडुवा (बाँके) ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गाउँपालिकामा आगजनी गरिएपछि डुडुवा गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह अझै ठप्प छ ।त्यसमाथि गाउँपालिकामा असन्तुष्ट पक्षले लगाएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पूर्ण सेवा ठप्प भएको हो । कार्यालयमा तालाबन्दी गरिएको करिब दुईहप्ता बितिसकेको छ ।
बुधबार गाउँपालिकाले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराइदिन आग्रह गर्दासमेत सरकारवाला निकायले चासो नदिएको दुःखेसो गरेको छ । गाउँपालिकाले जेनजी आन्दोलनका नाममा आगजनी, तोडफोट र लुटपाट गर्नेविरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्वारा मुचुल्का तयार गरि कामकाज गर्ने वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए । अध्यक्ष चौधरीले कार्यपालिका बैठकले घटनाबारे यथार्थ पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिएको बताए । वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा डुडुवा–१ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र सहयोगी शिवकुमार मौर्य सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैँको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको र गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा ठप्प भएको बताए ।
अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालयले आज बिहीबारसम्म घटनामा संलग्नहरूलाई आवश्यक कानुनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखि आफूहरू नेपालगन्जकेन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । पालिकालाई अनावश्यकरुपमा बदनाम गरेको र आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समूहले पालिकालाई बदनाम गर्नेगरि अतिरञ्जित कार्य गरेको उनको भनाइ छ ।
उनले भने, ‘कानुनविपरीत पालिकामा पसेर खानतलासी गर्ने अनि तालापनि लगाउने उहाँहरूलाई कुन कानुनले दिएको छ ? यदि दुई दिनभित्र ताला खोलिएन भने पालिकाले कडारुपमा आन्दोलन गर्छौँ । केही विरोधीले गरेको विरोध पालिकाका जनताले कहिल्यैपनि सहन नसक्ने भन्दै अध्यक्ष चौधरीले पालिकाका सम्पूर्ण जनता आन्दोलनमा आउने चेतावनी दिए ।
गत भदौ २५ गते राति करिब साढे ८ बजेतिर जेनजी आन्दोलनको आडमा अपरिचित समूहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै दोस्रो दिन अर्को समूह आएर एक घण्टाभन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवतजावत गरी नगर प्रहरीलाई धम्की दिएको थियो ।
त्यसको भोलिपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पूर्वमन्त्रीद्वय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०÷३२ जनाको सङ्ख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरूमा लागेको ताला फोडेर भिडिओ बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरूबाट कोठाहरूमा के कति क्षति भयो भन्ने कुरा यकिन नभएको पालिकाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।









प्रतिक्रिया दिनुहोस्