शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशका तराई जिल्ला कैलाली र कञ्चनपुरमा डेंगु संक्रमण बढ्दै गए पनि स्थानीय तहहरूले रोग नियन्त्रणमा सक्रियता देखाएका छैनन् । स्थानीय तहले डेंगु नियन्त्रणमा ध्यान नदिँदा संक्रमण झनै बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार जुलाईमा कैलालीमा डेंगुका बिरामीको सङ्ख्या १३ थपियो । अगस्टमा २४ र सेप्टेम्बरको तेस्रो सातासम्म ११ थप भए ।
योसँगै कैलालीमा डेंगुका बिरामीको सङ्ख्या ९१ पुगेको छ । यस्तै कञ्चनपुरमा जुलाईमा आठ जना, अगस्टमा १५ र सेप्टेम्बरमा सात जना थपिएर बिरामी सङ्ख्या ७० पुगेको छ । डेंगु संक्रमणमा बढी हुने दरमा प्रदेशमा कैलाली दोस्रो स्थानमा रहेको छ । महामारी तथा किटजन्य महाशाखाका अनुसार अहिले सुदूरपश्चिममा डेंगु संक्रमणबाट संक्रमितको सङ्ख्या पाँच सय ५५ पुगेको छ । देशभर डेंगु संक्रमण चार हजार आठ सय १४ रहेको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा डेंगु संक्रमितको सङ्ख्या कम देखिएपनि अझै जोखिम कायम रहेको छ ।
प्रदेशमा डेंगु संक्रमण बढी रहेको पहिलो स्थानमा डडेल्धुरा रहेको छ । सो जिल्लामा संक्रमित ११३ रहेको छ भने तेस्रोमा बझाङ छ । हिमाली जिल्ला बाजुरामा ३३ र बझाङमा ७४ जनामा डेंगु संक्रमण रहेको छ । पहाडी चार जिल्ला बैतडीमा ५३, डोटीमा ४० र अछाममा ५३ जनामा संक्रमण देखिएको छ । डेंगु संक्रमणको जोखिम कायम भएपनि स्थानीय तहले ध्यान नदिन नसकेको नोभा अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रामचन्द्र पौडेलले बताए ।
उनले भने, ‘सडक, गमला, टायरलगायतमा जथाभावी फालिएका पानी जम्ने सामाग्रीका कारण डेंगु फैलाउने अण्डकोषहरूको निर्माण भइरहेको छ । तर, स्थानीय तहहरूले त्यसमा ध्यान दिएका छैनन् ।’ उनले डेंगु संक्रमण देखिँदा स्थानीय तहहरूले खोज तथा नष्ट अभियान गरे पनि संक्रमण दर बढ्ने समयमा कुनै पनि गतिविधि गरेको नपाइएको बताए ।
स्थानीय तहको सक्रिय भए तराईमा डेंगु संक्रमण बढ्ने दरमा नियन्त्रण गर्न सकिने उनले बताए । उनले भने, ‘डेंगु नियन्त्रणमा तीन तहकै सरकारको सक्रियता आवश्यक छ । विशेषत स्थानीय तह बढी लाग्नुपर्ने देखिन्छ ।’ एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ ।
यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य गर्नुका साथै निर्देशनालयले राति, बिहान र दिउँसो सक्रिय हुने किट र तिनीहरूका प्रत्येक घण्टाका गतिविधि केलाउँदै आएको निर्देशनालयका सूचना अधिकारी हेमराज जोशीले बताए । घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको निर्देशनालयले जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्