विवादित छवि बनाउँदै बाँकेका सिडिओ जोशी



नेपालगन्ज ।

केही महिनाअघि बाँके जिल्ला अदालत बार एसोसिएसनको कार्यालयमा मानवअधिकारकर्मी र कानुन व्यवसायीहरू सम्मिलित एक कार्यक्रम आयोजना गरिएको थियो । जहाँ बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी पनि सहभागी थिए । उक्त कार्यक्रममा एकजना पीडित व्यक्तिले प्रहरीले आफूलाई यातना दिएको भन्दै बोल्न समय मागिन् । कार्यक्रम सञ्चालकले समय दिए ।

केहीबेरपछि आफूलाई पीडित बताउने सँगै रहेकी अर्की महिलाले पनि बोल्न समय मागेपछि प्रजिअ जोशीले सबैलाई अक्क न बक्क पार्नेगरी भने, ‘अँ बोल्न दिनुस्, हामीलाई होच्याउनलाई त यो कार्यक्रम आयोजना गरिएको हो नि ।’ त्यसपछि कार्यक्रम सञ्चालक रहेका अधिवक्ता बसन्त गौतम के भन्ने के नभन्ने अलमलमा परे । बाँकेका प्रमुख जिल्ला अधिकारी भएर आएका जोशी बाँकेमा आइसकेपछि प्रायः कार्यक्रममा आफूलाई सबैभन्दा जान्ने र जनतालाई केही पनि नजान्नेजस्तो व्यवहार र अभिव्यक्ति प्रस्तुत गर्ने गरेको आरोप लाग्दै आएको छ ।

पछिल्लो समय उनी एकपछि अर्को विवादमा पर्दै गएका छन् । उनले सार्वजनिक कार्यक्रममै अस्वभाविक व्यवहार देखाउने र अस्वभाविक अभिव्यक्ति दिने गरेको भन्दै नागरिक समाजमा एक किसिमको असन्तुष्टि व्यक्त भइरहेको छ । पछिल्लोपटक जेनजी आन्दोलनका क्रममा जिल्लाको प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सबैजसो मुख्य सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट हुँदा पनि मुकदर्शक बनेको भन्दै जनस्तरबाट उनको कार्यक्षमतामै प्रश्न उठ्न थालेको छ ।

यहीबीच उनी पत्रकारलाई दुव्र्यवहार भएको घटनामा मुछिएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा जोशीबाट दुव्र्यवहार भएको भन्दै बाँकेका २१ वटा नागरिक संघ संगठनहरूले आपत्ति जनाएका छन् । जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले पत्रकार शर्मालाई अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएको घटनाले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको उनीहरूले ठहर भएको उनीहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी जोशीले यसअघि देखिनै प्रेसप्रति दुर्भाव राख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी व्यवहार देखाएको, नागरिक समाजका सार्वजनिक कार्यक्रम (बार, होटेल अर्गनाइजेशन लगायत)मा अशोभनीय अभिव्यक्ति दिएको, जोशीको समग्र कार्यसम्पादनप्रति निरन्तर प्रश्न उब्जिएकोे विभिन्न घटनाक्रमले देखाएको उक्त विज्ञप्तिमा भनिएको छ । ‘अभिभावकीय भूमिकामा रहेको सार्वजनिक व्यक्तित्वले गर्ने व्यवहार नागरिकमैत्री हुनुपर्छ,’ संयुक्त विज्ञप्तिमा ती संगठनहरूले भनेका छन्, ‘मुस्कानसहितको सेवा प्रवाह गर्ने दायित्व प्रत्येक सरकारी अधिकारीको हो तर पछिल्ला दिनहरूमा स्वयं प्रमुख जिल्ला अधिकारी जोशीले नै आफ्नो पदीय जिम्मेवारीलाई बिर्सिएर सरकारले लिएको नीतिको नै अवज्ञा गरेको देखिएको छ ।’ आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नगर्न पनि उनीहरूले सचेत गराएका छन् ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष चित्रबहादुर शाही, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहरसिंह खत्री, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले हस्ताक्षर गरेका छन् । त्यसैगरी नेपाल मानव अधिकार संगठन बाँकेका सभापति प्रल्हादबहादुर कार्की, गैरसरकारी संस्था महासंघका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी, होप ट्रेनिङ एण्ड रिचर्स सेन्टरका निर्देशक सुरेश गौतमको पनि उक्त विज्ञप्तिमा हस्ताक्षर छ ।

यस्तै त्रिवि प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरजकुमार गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुशिल लामिछाने, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, प्रगतिशील पत्रकार संघका उपाध्यक्ष तिलक गाउँले, भ्वाइस नेपालगन्जका अध्यक्ष रमेश सिटौला र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश मिश्रले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय महासचिव पोषण केसीले प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले प्रमुख जिल्ला अधिकारीलाई मुलुकमा लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था छ भन्ने कुरा हेक्का राख्न पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘यो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हो, तपाईँ तानाशाह बन्ने सोचबाट मुक्त हुनुहोस् । लोकतन्त्रमा सबै समान हुने भएकाले सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्न सिक्नुहोस् ।’ उनले पत्रकार मात्र नभर जनप्रतिनिधि, दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत सिडिओले हुर्मत लिने र मानमर्दन गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार