कोहलपुर (बाँके) ।
प्रहरी चौकी सम्झना बाँकेको भवन हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच चौकीको भवन हस्तान्तरण गरिएको हो । बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले उक्त भवनको उद्घाटन गरिन् । बैजनाथ गाउँपालिका वडा नम्बर ६ स्थित गाउँपालिका र वडा नम्बर ६ को कार्यालयले भोगचलन गरेको जग्गा र सो जग्गामा निर्माण गरिएको भवन प्रहरी चौकी सम्झनालाई हस्तान्तरण गरिएको हो ।
दुईतले चारकोठे पक्की भवनसहितको जग्गाको कूल क्षेत्रफल १ कठ्ठा १७ धुर रहेको छ । प्रहरी चौकीलाई प्रदान गरिएको भवनमा वडा कार्यालय सञ्चालन भइरहेको थियो । वडा कार्यालयको भने आफ्नै पक्की संरचना निर्माण हुँदैछ । सम्झना चौकदेखि ३ सय मिटर दूरीमा रहेको पार्वतीपुरमा बन्दै छ । गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा वडा कार्यालय निर्माणका लागि ७० लाख रूपैयाँँ विनियोजन गरिसकेको छ।
वडा कार्यालय निर्माणका लागि कूल १ करोड ५० लाख रूपैयाँँको स्टिमेट गरिएको वडा अध्यक्ष भुपाल पुनमगरले बताए । वडा कार्यालय निर्माणका लागि चारजना स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् । यसअघि नै उक्त जग्गा प्रहरी चौकी सम्झना बाँकेका लागि हस्तान्तरण गर्ने भनी गरिएको निर्णय भइसकेको छ । सोहीबमोजिम वडा नम्बर ६ का वडाअध्यक्ष भुपाल पुनमगरको अध्यक्षतामा भवन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले प्रहरी नागरिकको लागि खटिने भएकोले स्थानीय सरकारको तर्फबाट सेवाप्रवाहमा सहज होस् भन्ने उद्देश्यले जग्गा प्रदान गरिएको बताइन् । उनका अनुसार सेवाप्रवाहका लागि भौतिक संरचनासमेत महत्वपूर्ण हुन्छ ।
‘आजको दिन ऐतिहासिक छ । प्रहरी चौकीको भवन उद्घाटन भएको छ । आगामी दिनमा अझै नागरिकले सहज र शुलभ सेवा पाउने अपेक्षा राखेका छौँ,’ उपाध्यक्ष रोकायाले भनिन् । भवन हस्तान्तरण कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्