दसैँमा घर जान सडक र सवारीकै चिन्ता



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

विभिन्न पेसा व्यवसायको सिलसिलामा देशको राजधानीमा रहेका मानिसहरू दसैँ नजिकिन थालेसँगै थातथलो फर्किन थालेका छन् । दसैँको समयमा यात्रुको चाप बढी हुने र सवारी साधनको कमी हुने कारण मानिसहरू अहिलेदेखि नै घर फर्किन थालेका हुन् । पछिल्लो राजधानीका विभिन्न बसपार्कमा बाहिरिने यात्रुहरूको चाप बढ्न थालेको छ । यातायात व्यवसायीहरूले समेत यात्रुहरूको चाप र मागका आधारमा सवारीको सङ्ख्या बढाउने गरेका छन् ।

अहिले वर्षायाम भएकोले देशका विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुने समस्यासमेत हुने गरेको छ । देशको सबैभन्दा लामो पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने गरेको छ । देशका पूर्वी जिल्लाबाट पश्चिम आउने र राजधानीबाट पश्चिम आउने क्रममा सबैभन्दा बढी पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा सडक अवरुद्ध हुने गरेको छ ।

वर्षा हुन बित्तिकै दाउन्ने क्षेत्रका विभिन्न स्थानमा त्यस्तो समस्या देखिने गरेको हो । दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न यात्रुले वर्षौँदेखि निकै सास्ती खेप्दै आएपनि त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल उक्त क्षेत्रमा विविध कारणले सडक अवरुद्ध हुने गरेको छ ।

उनका अनुसार पानीको निकास नहुनु, हिलाम्मे र चिप्लो सडकका कारण सवारी आवागमनमा निकै समस्या हुने गरेको छ । राज्यले वैकल्पिक मार्गका विषयमा ध्यान नदिँदा दसैँ, तिहार लगायतका पर्वको बेला दुःख पाउने गरेको उनको भनाइ छ । पहिरो हटाउने काम भइरहे पनि पानी परिरहेकाले सडकको अवस्था राम्रो नहुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्ने गरिएको उनले जानकारी दिए ।

बाँकेदेखि कर्णाली पुग्न झनै सकस

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि जुम्लासम्म पुग्न सवारीमा २३२ किलोमिटर दुरी पार गर्नुपर्छ । बाँकेदेखि सुर्खेतसम्म पुग्न ८६ किलोमिटर दुरीसमेत जोड्दा बाँकेदेखि जुम्लासम्म ३१८ किलोमिटर दुरी पार गर्नुपर्छ । सवारीमा यात्रा गर्दा बाँकेदेखि सुर्खेतसम्म खास्सै समस्या नभएपनि सुर्खेतदेखि जुम्ला खडकखण्डमा यात्रा गर्न निकै सकस हुने गरेको छ । कर्णाली राजमार्गको सबैभन्दा धेरै समस्या हुने दैलेख र कालीकोट सडकखण्डमा हो ।

त्यहाँका विभिन्न स्थानमा समस्या हुने गरेको नागरिक बताउँछन् । कालीकोटका लोकेन्द्र बम वर्षायाम र चाडपर्वको समयमा निकै समस्या भोग्नुपर्ने अनुभव सुनाउँछन् । उनका अनुसार बिग्रेको सडकका कारण निधै दुःख हुने गरेको छ । यस्तै गाडीमा यात्रा गर्दासमेत सकस हुने उनले बताए । ‘कर्णाली राजमार्ग व्यापक सुधार गर्नुपर्ने अवस्थामा छ । झन् वर्षायाममा त बिजोग नै हुन्छ ।’ उक्त सडकमार्गमा सबैभन्दा ठूलो समस्या कालीकोट सडकखण्डमा रहेको छ । कालीकोटको गगने खोलामा पछिल्लो दुई महिनामा दर्जनौपटक सडक अवरुद्ध भइसक्यो । उक्त क्षेत्र यो राजमार्गको दुःखसमेत हो ।

गगने खोला लगायतका क्षेत्रमा लगातार समस्या हुन थालेपछि त्यसको वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । डिभिजन प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले वर्षायाम र चाडपर्वलाई लक्षित गरेर कार्यालयले विभिन्न कारणले अवरुद्ध हुन सक्ने स्थानमा जनशक्ति र आवश्यक सामग्री पूर्वतयारी अवस्थामा रहेको उनले बताए । यता विभिन्न यातायात व्यवसायी संघहरूले दसैँमा यात्रुका लागि सवारी साधन थप्ने योजनामा रहेको बताए ।

बाँकेबाट हरेक दिन कर्णालीका विभिन्न जिल्लाका लागि सयौँ सवारी छुट्ने गरेका छन् । व्यवसायी दीपराज रावतले दसैँलाई लक्षित गरेर केही गाडी थप्ने योजनामा रहेको बताए । उनका अनुसार दसैँ, तिहारमा यात्रुको चाप धेरै हुने भएकोले व्यवसायीहरू मिलेर सहज यात्राका लागि सहजीकरणसमेत गरिनेछ । यात्रुको सङ्ख्या धेरै हुने भएकोले स्वभाविक रूपमा गाडी थपिन्छन् । हामीले शुलभ सेवा दिने छौँ । सोही अनुसार विभिन्न व्यवसायीहरूबीच समन्वय भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार