लुम्बिनी प्रदेशका २५३ संरचनामा आगजनी र तोडफोड



नेपालगन्ज ।

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा दुई सय ५३ संरचनामा तोडफोड तथा आगजनी गरिएको छ । इन्सेकले संकलन गरेको क्षतिको विवरणअनुसार प्रदेशमा एक सय ४७ वटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरू र ६८ वटा निजी सम्पत्ति गरी दुई सय ५३ संरचनामा तोडफोड तथा आगजनी गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गतका १२ जिल्लामध्ये बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्युठान, कपिलवस्तु, रुपन्देही, गुल्मी र नवलपरासी जिल्लामा आन्दोलनका क्रममा भौतिक संरचना तथा सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको छ भने रोल्पा, पाल्पा, रुकुमपूर्वमा कुनै क्षति नभएको पाइएको छ । सबैभन्दा बढी दाङमा ५० सरकारी कार्यालयसहित ७५ भौतिक संरचनामा तोडफोड तथा आगजनी गरिएको पाइएको छ ।

दाङमा ५० सरकारी कार्यालय, १० वटा राजनीतिक दलका कार्यालय, पाँच वटा सार्वजनिक तथा व्यावसायिक भवन तथा फर्म र १० वटा जनप्रतिनिधि तथा दलका नेताका निवासमा तोडफोड र आगजनी गरिएको छ । घोराहीमा सबैभन्दा धेरै ४५, तुलसीपुरमा २४ र लमहीमा सातवटा संचनामा क्षति पु¥याइएको छ । घोराहीमा जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, घोराही उपमहानगरपालिका, घोराहीका ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १७ र १८ नम्बर वडा कार्यालयमा क्षति पु¥याएका छन् ।

यसैगरी जिल्ला अदालत, सरकारी वकिल कार्यालय, भूमि आयोग, नगर विकास, शिक्षा समन्वय इकाइ, खानेपानी डिभिजन, घरेलु, सडक डिभिजन, पूर्वाधार विकास, जिल्ला निर्वाचन, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालय, जिल्ला हुलाक कार्यालयमा आन्दोलनकारीहरूले तोडफोड, आगजनी गरिएको छ ।

त्यसैगरी तुलसीपुर क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका ८, १६ र १८ नम्वर वडा कार्यालय, मालपोत कार्यालय, उच्च अदालत, उच्च सरकारी वकिलन कार्यालय, नापी, लोकसेवा आयोग, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व, यातायात व्यवस्था कार्यालय, आयल निगम, नगर विकास, सिँचाइ कार्यालय र भूसंरक्षण कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । यस्तै लमहीमा लमही नगरपालिका तथा वडा नं. ५ को कार्यालय र प्रदेश मन्त्री निवासमा पनि तोडफोड र आगजनी गरिएको छ ।

यस्तै घोराहीमा सार्वजनिक सभाहल र तुलसीपुरमा उपमहानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय व्यापारिक टावरमा पनि तोडफोड गरेर क्षति पु¥याइएको छ । त्यस्तै घोराहीमा सामाजिक संस्था जेसीज भवन, होटेल माला इनमा पनि तोडफोड र आगजनी गरिएको छ । आन्दोलनकारीहरूले राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । उनीहरूले घोराही, लमही र तुलसीपुरमा नेकपा एमालेका तीन, नेपाली काँग्रेसका तीन र नेकपा माओवादी केन्द्रका तीन र राप्रपाको एक गरी १० वटा पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

यस्तै जनप्रतिनिधि र पार्टी नेताका घर पनि आन्दोलनकारीले आगजनी गरेका छन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको बिजौरीस्थित घर, एमाले केन्द्रीय सदस्य कोमल वलीको तुलसीपुरस्थित घर, एमाले नेता हिराचन्द्र केसीको तुलसीपुरस्थित घर, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको घोराही पनौरास्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको तुलसीपुरस्थित घर, लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको घोराहीस्थित घर, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको घर र उपप्रमुख हुमाकुमारी डिसीको घरमा तोडफोड र आगजनी गरेका छन् ।
क्षतिको विवरण त आउँदै गर्ला जनतासँग प्रत्यक्ष जोडिएका कार्यालयमा आगजनी र तोडफोड गरिएपछि नागरिकले पाउने सेवा भने अनिश्चित भएको छ ।

दैनिक कामकाजसँग जोडिएको स्थानीय सरकारका भवन, कम्युटर, इन्टरनेट सेवा, महत्वपूर्ण तथ्याङकसहितका फाइलहरू आगलागीले नष्ट भएपछि स्थानीय सरकारले तत्काल जनतालाई सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । उपमहानगरपालिका र वडा कार्यालयमात्रै होइन अदालत, मालपोत, नापी, सरकारी वकिलजस्ता महत्वपूर्ण कार्यालयमा पनि तोडफोड, आगजनी र महत्वपूर्ण फाइलहरू जलेर नष्ट भएपछि तत्काल सेवा दिनसक्ने अवस्थामा छैनन् ।

आन्दोलनका क्रममा बाँके जिल्लामा ४७ सरकारी कार्यालय तथा सार्वजनिक स्थल, पाँच पार्टी कार्यालयहरू, एक संस्था, चार निजी सम्पत्ति, फर्निचर, सवारीसाधनमा तोडफोड र आगजनी गरिएको छ । उता बर्दिया जिल्लामा गुलरिया नगरपालिका कार्यालय, गणेशमान सिंहको शालिक, नेकपा (एमाले)को पार्टी कार्यालय, नेपाली काँगे्रसको पार्टी कार्यालय, प्रदेश सांसद सञ्जय गौतमको घरमा तोडफोड तथा आगजनी गरिएको छ ।

इन्सेक रुपन्देही प्रतिनिधि रीमा बीसीका अनुसार आन्दोलनकारीहरूले त्यहाँका १९ सरकारी कार्यालय, चार वटा पार्टी कार्यालय र १५ जना व्यक्तिहरूको निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन् । नवलपरासीमा १८ वटा सरकारी कार्यालय तथा सार्वजनिक स्थल, चार वटा पार्टीका कार्यालयहरू र २१ वटा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएका छन् ।

कपिलवस्तुमा प्रदर्शनकारीहरूले ६ वटा सरकारी कार्यालयहरू, तीन पार्टीका कार्यालयहरू, नौ जनाको निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरूले भूमि सुधार, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, वाणगंगा नगरपालिकाको कार्यालय तोडफोड र आगजनी गरी क्षति पु¥याएका छन् ।

अर्घाखाँची जिल्लामा चार वटा सरकारी कार्यालय, चार वटा राजनीतिक दलका पार्टी कार्यालय, एउटा निजी भवनमा तोडफोड र आगजनी गरिएको छ । उनीहरूले जिल्ला समन्वय समितिको कार्यालय, सन्धीखर्क नगरपालिकाको कार्यालय, १ नं वडा कार्यालय सन्धीखर्क नगरपालिका, २ नं वडा कार्यालय सन्धीखर्क नगरपालिका, नेपाली काँगे्रसको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको छ ।

प्युठान जिल्लामा प्युठान नगरपालिका कार्यालय, नेकपा (एमाले)को पार्टी कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, नेपाली काँग्रेसको पार्टी कार्यालय र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी, गुल्मी जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड गरिएको इन्सेकले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार