भेरी अस्पताल मृगौला प्रत्यारोपणका लागि सूचीकृत



नेपालगन्ज ।

नेपालगन्जस्थित भेरी अस्पतालमा गरिने मृगौला प्रत्यारोपण तथा पेरिटोनियल डायलासिसको सबै शुल्क अब नेपाल सरकारले व्यहोर्ने भएको छ। स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले भेरी अस्पताललाई निःशुल्क मृगौला डायलासिस दिने संस्थाको रूपमा सुचीकृत गरेसँगै अब उक्त सेवा दिएवापतको शुल्क नेपाल सरकारले व्यहोर्नेछ ।

भेरी अस्पतालमा २०८२ सालको वैशाख ९ गते दुईजना बिरामीमा मृगौला प्रत्यारोपण गरी सेवा सुरु गरिएको थियो । तर उक्त प्रत्यारोपण सुरु हुँदा महाशाखामा सुचीकृत नभएको हुँदा सबै खर्च अस्पतालले व्यहोरेको थियो । त्यसयता अस्पतालले खर्च धान्न नसकिने अवस्था रहेको भन्दै मृगौला प्रत्यारोपण गर्न सकेको छैन । महाशाखामा सूचीकृत हुन कम्तीमा एकपटक मृगौला प्रत्यारोपण सेवा दिएको हुनुपर्ने व्यवस्था रहेकोले अस्पतालले पहिले मृगौला प्रत्यारोपणपछि सूचीकरणका लागि पहल गरेको थियो ।

उक्त पहलपछि महाशाखाको टोली अस्पतालमा आई मूल्यांकनपश्चात सूचीकरण गरेको हो । महाशाखाले अस्पताललाई भदौ ३० गते जारी गरेको पत्रमा मन्त्रालयको सचिवस्तरको भदौ १५ गतेको निर्णयले सूचीकरण गर्ने निर्णय गरेको उल्लेख छ । अब अस्पतालले मृगौला प्रत्यारोपण र पेरिटोनियल डायलासिस गर्दा बिरामीबाट कुनैपनि किसिमको शुल्क लिन पाउने छैन भने उक्त शुल्क सरकारले शोधभर्ना गरिदिनेछ ।

त्यसका लागि अस्पतालले प्रत्यारोपण गरेको सङ्ख्यासहितको विवरण र बिरामीको नागरिकतासहितको विवरण विद्युतीय प्रणालीमा अपडेट गर्नुपर्ने हुन्छ । भेरी अस्पतालमा सेवा सुरु गर्दा हरेक महिनामा मृगौला प्रत्यारोपण सेवा दिइने भनिएको थियो । तर, पहिलो प्रत्यारोपण सेवा दिएयता उक्त सेवा अघि बढ्न सकेको छैन । अब महाशाखामा सुचीकृत भएसँगै अब प्रत्यारोपणका लागि तयारी भइरहेको अस्पतालमा मेसु डा. निराजन सुवेदीले जानकारी दिए ।

भेरी अस्पतालका मृगौला रोग विशेषज्ञ दिपेश गुप्ताका अनुसार अस्पतालमा जनशक्तिका कारण सेवा दिन नसकिने अवस्था छैन । उनले अस्पतालमा मृगौला प्रत्यारोपणका लागि आधारभूत जनशक्ति तथा पूर्वाधारहरू उपलब्ध रहेको र नपुगेको जनशक्ति सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्राप्त हुने भएकोले सेवा सुचारुका लागि अरु बाधाहरू नरहेको बताए । अस्पतालमा अहिले दुईजना मृगौला विशेषज्ञ रहेका छन् भने जनरल सर्जरी, एनेस्थेसिया, फिजिसियनलगायत विधाका विशेषज्ञ चिकित्सकहरूसमेत उपलब्ध छन् ।

मृगौला विशेषज्ञहरू ड. दीपेश गुप्ता र डा. शौरभ हमाल, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टीम अस्पतालमा छ । डा. गुप्ताले प्रत्यारोपणका लागि लाइसेन्स पनि प्राप्त गरिसकेका छन् । उनले अन्य पूर्वाधारका सम्बन्धमा भने, ‘अस्पतालमा अपरेशन थियटर, आइसियु बेड लगायतको व्यवस्था पनि छ । केही नर्सहरूले तालिम पनि लिएर आउनुभएको छ । यसले गर्दा हामी प्रत्यारोपणका लागि सक्षम छौँ ।’

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेरीसँगै कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सुरु भएपनि निरन्तरता हुन सकेको छैन । कर्णाली प्रदेश अस्पतालमा जनशक्तिकै अभावले सेवा निरन्तरता दिन नसकिने अवस्था रहेको अस्पताल बताउँछ । अब भेरी अस्पतालमा मृगौला प्रत्यारोपण नियमित हुन सकेमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बिरामीहरूले काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने, यात्रा तथा अस्पताल बस्दा हुने खर्चको भार कम हुने अपेक्षा गरिएको थियो । साथै, उक्त सेवाले अस्पतालहरूको सेवाको गुणस्तरीयता पनि बढ्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार