नेपालगन्ज ।
नेपालगन्ज भन्सारले आइतबारबाट सबै किसिमको आयातनिर्यातको सेवा सुचारु गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भन्सारको यात्रु शाखा, अस्थायी पैठारी सवारीसाधन भन्सार कक्ष र मुद्दा शाखा सञ्चालनमा रहेको जमुनाह नाकास्थित पुरानो भवनमा आगजनी र लुटपाट भएको थियो । आइसिपीमा रहेको मुख्य भन्सार कार्यालय सुरक्षित रहेपनि उत्पन्न जटिल परिस्थितिका बीच असुरक्षाको कारणले आयातनिर्यातको काम रोकिएको थियो ।
शुक्रबारबाट पेट्रोलियम पदार्थ आयात सुचारु भएकोमा आइतबारबाट भारतबाट आएका गाडीहरूको नयाँ प्रज्ञापन भर्ने काम पनि सुरु भएको भन्सार प्रमुख जनार्दन पौडेलले बताए । यात्रु शाखा, सवारीसाधन भन्सार गरिने कक्ष र मुद्दा शाखालाई पनि सञ्चालनको तयारी गरिरहेको प्रमुख पौडेलले जानकारी दिए । चाडबाड नजिकिँदै गरेकोले अब यात्रु शाखा सकेसम्म आज सोमबारबाटै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । अहिले यात्रुहरूलाई धेरै सामान बोकेर खरिद गरी ल्याउन निरुत्साहित गरिएको पनि पौडेलले बताए ।
आइसिपीमा भने कुनै क्षति नभएकाले कार्यालय सञ्चालन र जाँचपासको काम गर्न कुनै समस्या छैन । नेपालगन्ज भन्सारका लागि दैनिक करिब पाँचदेखि ६ करोडको राजस्व संकलनको लक्ष्य तोकिएको छ । प्रदर्शनको समयमा उपद्रवीहरूले भन्सारको मुद्दा फाँट रहेको पुरानो भन्सार भवनमा लिलामी र मुद्दाको लागि राखिएका झण्डै दुई सयभन्दा बढी सवारीसाधनहरू लुटेर लगेका पौडेलको भनाइ छ ।
गोदाममा राखिएका मुद्दाका सामानहरू, लिलामीमा राखिएका सामानहरू सबै जलेर नष्ट भएका छन् भने कतिपय सामानहरू लुटपाट भएका छन् । यसैगरी कम्प्युटर, प्रिन्टर, ल्यापटप र फर्निचरहरू पनि लुटेर लगिएका छन् भने स्टाफहरूको कोठाका सामानहरू पनि लुटपाट भएका छन् । धेरै सामानहरू जलेर नष्ट भएका छन् ।
नेपालगन्ज क्षेत्रमा इन्धनको अभाव नहुने
नेपालगन्ज नाकाबाट पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आयात गरिएको कुनै किसिमको अभाव नहुने आयल निगमको नेपालगन्जस्थित कार्यालयले जनाएको छ । नेपालगन्ज डिपोका प्रमुख मनोहर डिसीका अनुसार संकटका बेला इन्धनको अभाव नहोस् भनेर आयल निगमले खपतभन्दा बढी आयात गरिरहेकाले आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताए ।
उनले सामान्यतया दैनिक पाँच देखि ६ वटा ट्यांकर इनधन आयात हुने गरेकोमा शनिबार एकैदिन २३ वटा ट्यांकरमा इन्धन आयात भएको बताए । ‘अहिले खपत पनि साविकभन्दा कम देखिएको छ । त्यसैमाथि हामीले खपतभन्दा बढी आयात गरिरहेका छौँ । त्यसकारण कुनैपनि किसिमको इन्धनको अभाव हुने सम्भावना छैन,’ डिसीले भने ।
उनले एसपी ग्याँस पनि पर्याप्त आयात भइरहेको र कुनै समस्या नरहेकोले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरे । डिसीका अनुसार नेपालगन्जबाट सुर्खेत र दाङ समेतमा इन्धन सप्लाई गरिन्छ । यस क्षेत्रमा दैनिक दुई सय किलोलिटर पेट्रेल, चार सय किलोलिटर डिजल र एकसय ८ मेट्रिक टन एलपी ग्याँस खपत हुन्छ । अहिले यसभन्दा धेरै आयात भइरहेको डिसीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्