जुम्लामा एक हजार नौ सय छ नयाँ मतदाता थपिए



जुम्ला ।

जुम्लामा एक हजार ९०६ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार गत चैत २२ गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमअन्तर्गत गत भदौ १५ गतेसम्म राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८२५ जनाले नाम दर्ता गराएका छन् । यस्तै, कार्यालयमा उपस्थित भएर बायोमेट्रिकमार्फत ८१ जनाले नाम दर्ता गराएका छन् ।

आयोगको अद्यावधिक कार्यक्रमअन्तर्गत त्रुटि सच्याउने, ठाउँ सार्ने लगायतका प्रक्रियाबाट १०२ जना मतदाताको विवरण अद्यावधिक गरिएको छ । त्यस्तै, जिल्लाका आठ स्थानीय तहसँगको समन्वयमा मृत्यु भएका १८६ जना मतदाताको नाम हटाइएको निर्वाचन अधिकारी कँडेलले जानकारी दिए ।

कार्यालयले दोहोरो नाम हटाउने, त्रुटि सच्याउने, मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्ने लगायतको विवरण अद्यावधिक गरिरहेको छ । नयाँ मतदाता दर्ता तथा विवरण अद्यावधिकको काम नियमित भइरहेको कँडेलले बताए ।

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जुम्लामा हाल ७१ हजार ३७९ मतदाता छन् ।

रासस

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार