बाँसको चोयाका सामग्रीबाट दैनिक आम्दानी



धनगढी ।
कैलालीका एक कृषकले बाँसबाट विभिन्न घरायसी सामग्री बनाएर दैनिक आम्दानी गर्दै आएका छन् । कैलारी गाउँपालिका –१ बिसनपुरका ६१ वर्षीय चुल्हुवा चौधरी बाँसबाट छिटुवा डालो र डिलिया माछा राख्ने भाँडो बनाएर आम्दानी गरिरहेका हुन । घर वरिपरि बाँस लगाएका उनले बाबु–बाजेले सिकाएको परम्परागत सिप उपयोग गरेर बाँसको सामग्री बनाएर बिक्री वितरण गर्दै आएका छन् ।
चौधरी भन्छन्, ‘बाँस आफ्नै घरमा छ ।

बसिबियाँलो गर्दै बाँसबाट अलि–अलि कमाइ गरिरहेको छु ।’ बाँसको चोयाबाट छिटुवा, डिलिया बनाउन पोख्त चौधरी एक महिनामा १० वटा छिटुवा र २० वटासम्म डिलिया तयार पार्ने गरिन्छ । आफूले बनाएको बाँसका ती सामग्रीलाई उनले आफ्नै गाउँदेखि लिएर आसपास रहेका मनाउँ, मझरा, हसुलिया, पवेरा, मनिकापुरदेखि भर्री लगायतका गाउँसम्म डुलेर उनले आफ्नो सामग्री बिक्री गर्दै आएका छन् । ‘आज बिहानमात्र दुई हजार रुपैयाँको सामग्री बिक्री गरिसकेको छु,’ उनले भने ।

चौधरीले प्रतिछिटुवा पाँचसय र डिलिया दुईसय रुपैयाँको दरले बिक्री गर्दै आएका छन् । माछाका पारखी थारू समुदायका मानिसले डिलियामा माछा राख्ने गर्दछन् । यसैगरी, तरकारीदेखि लिएर घाँस, दाउरा छिटुवामा राखेर बोक्ने गर्दछन् । यी सामग्री गत विगतदेखि नै थारु समुदायमा उपयोग हुँदै आएको छ । समुदायको मागअनुसार आफूले छिटुवा, डिलिया बिक्री गरी कमाएपछि घर गुजारा गर्न निकै सहज भएको चौधरीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार