नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित



बाँके ।

बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष थिए । महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरेकी छन् । निर्वाचनको अन्तिम नतिजाअनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे ।उपमहासचिव पदमा प्रदीप आचार्य विजयी भएका छन् । उनले ८६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्ष पदमा टीकामणि उपाध्याय ९१७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईंले १८३ मत प्राप्त गरेका गरेका छन् ।

दश जना कार्यसमिति सदस्य पदका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा नन्दराम जैसी शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएका छन् । निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ निर्विरोध  भएका थिए ।

रासस

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार