आँखा उपचार केन्द्रमा आधारभूत पूर्वाधार अभाव



मुगु।

जिल्लास्थित आँखा उपचार केन्द्र आफैँ आधारभूत पूर्वाधारको अभावमा जकडिएको छ । आवश्यक उपकरण र उपचार सेवा उपलब्ध भए पनि खानेपानी, नियमित विद्युत् र घेरबारजस्ता अत्यावश्यक पूर्वाधार नहुँदा बिरामीदेखि स्वास्थ्यकर्मीसम्मले दैनिक सास्ती खेप्नुपरेको हो । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित मुगु आँखा उपचार केन्द्र २०६८ सालमा स्थापना भएको थियो ।

केन्द्र स्थापना भएपछि जिल्लामै आँखासम्बन्धी सामान्य उपचार सेवा उपलब्ध हुँदै आएको छ । यसअघि सामान्य आँखाको समस्या लिएर पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेका स्थानीयका लागि केन्द्रको सेवा राहत बनेको छ । तर सेवा सञ्चालनका लागि आवश्यक आधारभूत संरचना कमजोर हुँदा केन्द्रको प्रभावकारिता भने प्रभावित हुँदै आएको छ ।

केन्द्रका कार्यालय प्रमुख ध्रुव बुढथापाका अनुसार उपचारका लागि आउने बिरामी र कार्यरत स्वास्थ्यकर्मीका लागि सहज रूपमा प्रयोग गर्न मिल्ने स्थायी खानेपानीको व्यवस्था छैन् । उपचार केन्द्रजस्तो संवेदनशील स्थानमा पानीको अभाव हुँदा सरसफाइदेखि बिरामीको दैनिक आवश्यकतासम्म प्रभावित हुने गरेको उनको भनाइ छ ।
उनका अनुसार बिरामी उपचारका लागि आउँछन्, तर पानीको समेत सहज व्यवस्था छैन् । भने आधारभूत सुविधा नहुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई समस्या भइरहेको छ ।

‘खानेपानीको अभावसँगै केन्द्रको अर्को ठूलो समस्या विद्युत् हो’ उनले भने, ‘नियमित विद्युत् आपूर्ति नहुँदा आँखाको परीक्षण तथा उपचारमा प्रयोग हुने उपकरण सञ्चालन प्रभावित हुने गरेको छ ।’ विद्युत् आउने समय निश्चित नहुँदा उपचारका लागि पुगेका बिरामीले लामो समयसम्म केन्द्रमै पर्खनुपर्ने अवस्था आएको हो । विशेषगरी उपकरणबाट गरिने परीक्षण तथा उपचारका लागि विद्युत् आवश्यक पर्ने भएकाले विद्युत् अवरुद्ध हुँदा सेवा नै रोक्नुपर्ने अवस्था आउने गरेको बुढ्थापाले बताए ।

उनका अनुसार विद्युत् आउने समय कुर्दाकुर्दै बिरामी घण्टौँसम्म केन्द्रमा बस्नुपर्ने अवस्था आउँछ । दुर्गम क्षेत्रबाट उपचारका लागि आएका बिरामीका लागि यस्तो प्रतीक्षा थप कष्टकर बन्ने गरेको छ । ‘विद्युतको समस्या समाधानका लागि केन्द्रमा वैकल्पिक ऊर्जा प्रणालीको आवश्यकता देखिएको छ’ उनले थपे, ‘नियमित विद्युत् आपूर्ति नहुने अवस्थामा जेनेरेटर वा सोलार प्रणाली जडान गर्न सके उपचार सेवा निरन्तर सञ्चालन गर्न सहज हुनेछ ।’

यस्तै उपचार केन्द्रको आफ्नै घेरबारसमेत छैन । खुला अवस्थामा रहेको परिसरमा बिरामी तथा सेवाग्राहीको आवतजावत व्यवस्थापन गर्न कठिनाइ हुनुका साथै केन्द्रको सुरक्षामासमेत चुनौती देखिएको केन्द्रले जनाएको छ । घेरबार नहुँदा उपचार केन्द्रको परिसर व्यवस्थित गर्न कठिन भएको कर्मचारीहरू बताउँछन् । उपचार सेवा सञ्चालन हुने स्वास्थ्य संस्थाको परिसर व्यवस्थित र सुरक्षित बनाउन घेरबार आवश्यक भए पनि त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको केन्द्रको गुनासो छ ।

यसैबीच, केन्द्रले वर्षमा दुईपटक आँखा शिविर सञ्चालन गर्दै आएको छ । शिविरमार्फत मुगुका विभिन्न स्थानबाट आउने आँखाका बिरामीलाई परीक्षण तथा उपचार सेवा दिइँदै आएको छ । केन्द्रका अनुसार यस्ता शिविरबाट हालसम्म हजारौँ वृद्धवृद्धासहित आँखासम्बन्धी समस्या भएका बिरामी लाभान्वित भइसकेका छन् । आँखा शिविरका कारण उपचारको पहुँचसमेत बढेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकका लागि जिल्लामै सेवा उपलब्ध हुनु ठूलो राहत हो । सामान्य आँखाको समस्या लिएर नेपालगन्ज, सुर्खेत वा अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता केही हदसम्म घटेको नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष तिलकबहादुर मल्लले बताए । उनको पहलमा स्थापना भएको केन्द्रले मुगुमा आँखा उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

तर सेवा विस्तार हुँदै जाँदा पूर्वाधारको कमजोरी झनै स्पष्ट देखिन थालेको छ । स्थानीय तहमा आँखा उपचार सेवा पु¥याउने उद्देश्यले स्थापना भएको स्वास्थ्य संस्थाले नै खानेपानी र विद्युतजस्ता आधारभूत सुविधाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘केन्द्रमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने गरेका छन्’ उनले भने, ‘उनीहरूलाई एकैपटक उपचार, परीक्षण र औषधि सेवा उपलब्ध गराउन सके समय र खर्च दुवै बचत हुन्छ । तर विद्युत् अभावका कारण उपचारमा ढिलाइ हुँदा दुर्गमबाट आएका बिरामीलाई थप आर्थिक तथा समयको भार पर्ने गरेको छ ।’

उनका अनुसार केन्द्रको क्षमता विस्तार र सेवा प्रभावकारी बनाउन तत्काल आधारभूत पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थायी खानेपानी, नियमित विद्युतको वैकल्पिक व्यवस्था, घेरबार तथा परिसर व्यवस्थापनलाई प्राथमिकतामा राख्न सके केन्द्रबाट प्रदान हुँदै आएको सेवा थप प्रभावकारी बन्ने उनको भनाइ छ ।
उनले भने, ‘विशेषगरी विद्युतको समस्याका लागि सोलार वा जेनेरेटरको व्यवस्था, खानेपानीका लागि स्थायी स्रोतको सुनिश्चितता र घेरबार निर्माण गर्न सके बिरामीले अहिले भोग्दै आएको समस्या उल्लेख्य रूपमा घटाउन सकिन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार