यारी नाकामा लक्ष्यभन्दा तीन गुणा बढी राजस्व उठ्यो



हुम्ला ।
यारी नाका भन्सार कार्यालय हिल्साले आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व संकलन गरेको छ । चीनसँगको सीमावर्ती हिल्सा नाकाबाट हुम्लाका लागि आयात हुने वस्तुको भन्सार उठाउँदै आएको यारी नाका भन्सारले राजस्व संकलनमा लक्ष्य हासिल गरेको हो । सीमित व्यापारिक गतिविधि हुने हिमाली नाकाबाट अपेक्षाभन्दा उल्लेख्य राजस्व उठेपछि हिल्सा भन्सारको राजस्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ का लागि कार्यालयलाई ६ लाख ६ हजार ५८० रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यभन्दा करिब तीन गुणा बढी अर्थात् २० लाख दुई हजार रुपैयाँ राजस्व असुली गरेको कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए ।

उनका अनुसार हिल्सा नाकाबाट संकलन भएको यो राजस्व कार्यालय स्थापना भएयताकै सबैभन्दा बढी हो । भौगोलिक विकटता, सीमित व्यापारिक पूर्वाधार र हुम्लाका लागि आवश्यक वस्तु मात्रै आयात हुने अवस्थाका बीच राजस्व संकलनमा आएको वृद्धि उल्लेखनीय मानिएको उनले बताए । हिल्सा नाका हुँदै चीनको ताक्लाकोटबाट हुम्लाका लागि आवश्यक विभिन्न वस्तु आयात हुने गरेका छन् । आर्थिक वर्ष २०८२–०८३ मा विशेषगरी निर्माण सामग्रीतर्फ सिमेन्ट र छडको आयात भएको कार्यालयले जनाएको छ । निर्माण सामग्रीसँगै दैनिक उपभोग तथा अन्य प्रयोजनका सामानसमेत नाका भएर भित्रिएका छन् ।

भन्सार कार्यालयका अनुसार दूध, चिया, जुस, जुत्ता, पिजी ब्लाङ्केट, विभिन्न प्रकारका कपडा तथा खेलौनालगायत वस्तु चीनबाट आयात भएका छन् । निर्माण सामग्री र अन्य वस्तुको आयातमा आएको वृद्धिले भन्सार राजस्वसमेत बढाउन योगदान गरेको देखिन्छ । हिल्सा नाका हुम्लाको उत्तरी क्षेत्रमा चीनसँगको प्रमुख व्यापारिक प्रवेशद्वार हो । जिल्लाको आवश्यकता पूरा गर्न चीनको ताक्लाकोटबाट सामान आयात हुने भएकाले यहाँको व्यापारिक गतिविधि जिल्लाको निर्माण, उपभोग र आपूर्ति व्यवस्थासँग प्रत्यक्ष जोडिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा पनि हिल्सा भन्सारको राजस्व संकलनमा ठूलो वृद्धि भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८१–०८२ मा भन्सार विभागले कार्यालयलाई ८३ हजार रुपैयाँको लक्ष्य दिएको थियो । तर उक्त वर्ष कार्यालयले ६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसको तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्य र वास्तविक संकलन दुवैमा उल्लेख्य वृद्धि भएको हो ।

अघिल्लो वर्षको ६ लाख ५४ हजार रुपैयाँको तुलनामा पछिल्लो आर्थिक वर्षमा संकलन भएको २० लाख दुुई हजार रुपैयाँले राजस्वमा करिब १३ लाख ४८ हजार रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, विभागले तोकेको लक्ष्यको तुलनामा अघिल्लो आर्थिक वर्षमा पनि कार्यालयले उल्लेख्य बढी राजस्व उठाएको थियो । तर २०८२–०८३ मा भने लक्ष्य नै बढाइएको अवस्थामा त्यसलाई समेत तीन गुणाभन्दा बढीले पार गर्दै भन्सार कार्यालयले आफ्नो स्थापनाकालकै उच्च राजस्व संकलन गर्न सफल भएको हो ।

हिल्सा नाकाबाट हुने आयातमा नियमितता, व्यापारिक पूर्वाधारको विकास तथा जिल्लाभित्र निर्माण तथा विकास गतिविधि विस्तार हुँदै जाने हो, भने आगामी दिनमा राजस्व संकलन अझ बढ्न सक्ने सम्भावना छ । तर हिमाली सीमा नाकाको मौसमी प्रकृति, सडक तथा यातायातको अवस्था र सीमा व्यापार सञ्चालनका विभिन्न व्यावहारिक चुनौतीले यहाँको आयात–निर्यातलाई प्रभावित पार्दै आएका छन् । तर यस्तो अवस्थामा पनि पछिल्लो वर्षको राजस्व वृद्धिलाई हिल्सा नाकाको व्यापारिक गतिविधिमा आएको सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ । कार्यालय स्थापना भएयताकै उच्च राजस्व संकलन हुनुले हिल्सा नाकाबाट हुने सीमित व्यापारलाई व्यवस्थित र विस्तार गर्न सके थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार