काठमाडौँ ।
साढे पाँच हप्ताको रोमाञ्चक प्रतिस्पर्धापछि २०२६ को विश्वकप अब बिस्तारै ओझेल पर्दैछ । फुटबल इतिहासकै यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताले अनेकन सम्झनाहरू छोडेर गएको छ भने विजेता स्पेन अझै पनि आफ्नो उत्सवमा रमाइरहेको छ । स्पेन (ला रोजा) ती टोलीहरूमध्ये एक थियो जसलाई केही अविश्वसनीय प्रतिभाशाली किशोर खेलाडीहरूको प्रदर्शनले ऊर्जा दियो ।
लामिन यामल र फिफाको ‘योङ्ग प्लेयर’ अवार्ड विजेता पाउ कुबार्सी दुवै लुइस दे ला फुएन्टेको टोलीका लागि मुख्य भूमिकामा थिए । १९ वर्षको उमेरमा उनीहरूले देखाएको क्षमताले उनीहरु सन्यास लिने बेलासम्म विश्वकपका महान् खेलाडी (लेजेन्ड) बन्ने संकेत गरेका छन् । अन्यत्र, अयुब बौदीले मोरक्कोका लागि गरेको प्रदर्शनले उनी किन विश्वकै सबैभन्दा खोजिएका युवा मिडफिल्डर हुन् भन्ने प्रमाणित गरे ।
गिल्बर्टो मोराले सह–आयोजक मेक्सिकोका लागि उत्कृष्ट प्रदर्शन गरे भने इब्राहिम म्बाये र करिम अलाज्बेगोभिचले क्रमशः सेनेगल र बोस्निया एण्ड हर्जगोभिनाका लागि शानदार गोलहरू गरे । अहिले अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिकामा महादेशीय च्याम्पियनसिपहरू प्राथमिकतामा भए पनि, यस्तो बेला अर्को विश्वकपको बारेमा नसोची बस्न गाह्रो छ । स्पेन, पोर्चुगल र मोरक्कोले आयोजना गर्ने (र सुरुआती तीन खेल दक्षिण अमेरिकामा हुने) २०३० को विश्वकपले फेरि एकपटक भविष्यका ताराहरूलाई विश्वभरका प्रशंसकहरूमाझ चिनाउने मञ्च प्रदान गर्नेछ ।
त्यसोभए अर्को विश्वकपमा चम्कनसक्ने सम्भावित युवा ताराहरू को–को हुन् त ? ‘गोल डटकम’ले २० जना नयाँ पुस्ताका प्रतिभावान खेलाडीहरूको सूची बनाएको छ, जसले २०३० को प्रतियोगितामा तहल्का मच्चाउन सक्छन् ।
२०३० को विश्वकपमा उदय हुन सक्ने २० स्टार खेलाडीहरु
१. एस्तेभाओ (ब्राजिल–चेल्सी)
ब्राजिल २०२६ को विश्वकपको अन्तिम १६ बाटै बाहिरिनुमा धेरै कारणहरू थिए, तर चोटका कारण एस्तेभाओको अनुपस्थिति मुख्यमध्ये एक थियो । चेल्सीका यी विङ्गरले २०२५ को अन्त्यतिर ब्राजिलका लागि उत्कृष्ट प्रदर्शन गर्दै भिनिसियस जुनियरको विपरित विङ्गमा आफ्नो स्थान पक्का गरिसकेका थिए ।
गम्भीर ‘ह्यामस्ट्रिङ’ चोटका कारण उनी २०२६ बाट वञ्चित भए । १९ वर्षका यी खेलाडीसँग अझै पर्याप्त समय छ र उनको शरीर प्रिमियर लिगको कठिन वातावरणमा अभ्यस्त भयो भने उनी २०३० मा ब्राजिलको प्रमुख खेलाडी बन्ने क्षमता राख्छन् ।
२. एडुआर्डो कन्सेइसाओ (ब्राजिल– पाल्मेइरास)
एस्तेभाओ र एन्ड्रिकजस्तै पाल्मेइरासको एकेडेमीबाट निस्किएका कन्सेइसाओ १७ वर्ष पुग्नै लाग्दा पहिलो रोजाइको टोलीमा स्थान बनाउन संघर्षरत छन् ।
बायाँ विङ्गबाट खेल्न रुचाउने उनी अर्को आक्रामक ‘सुपरस्टार’ हुने अपेक्षा गरिएको छ । म्यानचेस्टर युनाइटेड, सिटी, बार्सिलोना र पीएसजी जस्ता विश्वका ठूला क्लबहरू उनलाई अनुबन्ध गर्न अहिलेदेखि नै तँछाडमछाड गरिरहेका छन् ।
३. लेनार्ट कार्ल (जर्मनी –बायर्न म्युनिख)
एस्तेभाओजस्तै कार्लले पनि चोटकै कारण २०२६ को विश्वकप गुमाए । १८ वर्षका यी खेलाडीले जर्मनीको राष्ट्रिय टोलीका लागि सुरुवाती खेलहरूमा यति प्रभावशाली प्रदर्शन गरेका थिए कि उनलाई जुलियन नागेल्सम्यानको टोलीको मुख्य खेलाडी मानिएको थियो ।
उनको तीक्ष्ण सोच र बल पास गर्ने कलाको अभावमा जर्मनी अन्तिम ३२ बाटै बाहिरियो । योर्गेन क्लोपले जर्मनीको बागडोर सम्हालेपछि कार्ल उनको योजनाको केन्द्रमा रहने निश्चित छ।
४. केनेट आइचोर्न (जर्मनी– बायर लेभरकुसेन)
१६ वर्षकै उमेरमा हेर्था बर्लिनबाट सिनियर फुटबलको अनुभव बटुलिसकेका आइचोर्नले हालै लिभरपुलको प्रस्ताव लत्याएर बायर लेभरकुसेन रोजेका छन् ।
उनलाई जर्मनीमा ‘टोनी क्रुस’ सँग तुलना गरिन्छ । जर्मनीले लगातार तीन विश्वकपमा अन्तिम १६ सम्म पनि पुग्न नसकेको अवस्थामा क्लोपको आगमनसँगै आइचोर्नले मिडफिल्डमा नयाँ उर्जा दिने आशा गरिएको छ ।
५. मार्क बर्नाल (स्पेन – बार्सिलोना)
स्पेन विश्व विजेता बने पनि आगामी चार वर्षमा ‘रोड्री’को विकल्प खोज्नुपर्ने हुनसक्छ । रोड्रीले गोल्डेन बल जिते पनि उनको उमेर र चोटको समस्या चुनौती बन्न सक्छ ।
यस्तोमा बार्सिलोनाका १९ वर्षीय मार्क बर्नाल तयार देखिन्छन् । उनलाई लामो समयदेखि सर्जियो बुस्केट्ससँग तुलना गरिँदै आएको छ, तर उनले रक्षापंक्ति जोगाउनुका साथै आक्रमणमा पनि सघाउन सक्ने क्षमता देखाएका छन् ।
६. जाभी एस्पार्ट (स्पेन – बार्सिलोना)
स्पेनको यू–१९ टोलीले युरोपेली च्याम्पियनसिप जित्दा १९ वर्षीय एस्पार्ट उत्कृष्ट देखिए । मिडफिल्ड र फुल–ब्याक दुवै स्थानमा खेल्न सक्ने उनको क्षमताका कारण उनलाई जोशुवा किमिचसँग तुलना गरिएको छ । हान्सी फ्लिकको बार्सिलोना टोलीमा नियमित स्थान बनाउन सके उनी छिट्टै राष्ट्रिय टोलीमा पुग्नेछन् ।
७. एब्रिमा तुनकारा (स्पेन – बार्सिलोना)
१६ वर्षीय तुनकारालाई ला मासियाबाट लामिन यामलपछिकै उत्कृष्ट आक्रामक प्रतिभा मानिएको छ । उनी आक्रामक मिडफिल्डरको रूपमा सेन्टर वा विङ्ग दुवैबाट खेल्न सक्छन् । बार्सिलोनाको क्याम्प नाउमा यामल र तुनकाराको जोडीले आगामी दशकमा विपक्षी डिफेन्सलाई ध्वस्त बनाउने विश्वास गरिएको छ ।
८. फ्रान्को मास्टान्टुआनो (अर्जेन्टिना – रियल मड्रिड)
लियोनल मेसीपछिको युगमा अर्जेन्टिनाले मास्टान्टुआनोबाट ठूलो आशा राखेको छ। १८ वर्षीय यी खेलाडी अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । रियल मड्रिडमा पहिलो सिजन सोचेजस्तो नभए पनि उनीसँग नम्बर १० वा विङ्गरको रूपमा विश्व फुटबलमा राज गर्ने प्रतिभा छ ।
९. म्याक्स डोम्यान (इङ्ल्यान्ड– आर्सनल)
आर्सनलका यी १६ वर्षीय किशोरलाई ‘एक पुस्ताकै उत्कृष्ट प्रतिभा’ भनिएको छ । उनी प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छा गोलकर्ता हुन् । आक्रामक मिडफिल्डमा खेल्ने उनलाई र जुड बेलिङहमलाई कसरी एउटै टोलीमा अटाउने भन्ने विषयमा इङ्ल्यान्डमा अहिल्यैदेखि बहस सुरु भइसकेको छ ।
१०. रियो नुमोहा (इङ्ल्यान्ड – लिभरपुल)
१७ वर्षीय नुमोहाले न्युजिल्यान्ड विरुद्धको मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डका लागि डेब्यु गरिसकेका छन् । लिभरपुलका नयाँ प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा उनले थप अवसर पाउनेछन् । उनको तीव्र गतिको ड्रिब्लिङ र प्रहार गर्ने क्षमताले प्रिमियर लिगका डिफेन्डरहरूलाई अहिले नै तनाव दिन थालिसकेको छ ।
११. जेजे गेब्रियल (इङ्ल्यान्ड – म्यानचेस्टर युनाइटेड)
१५ वर्षकै उमेरमा युनाइटेडको यू–१८ टोलीका प्रमुख खेलाडी बनेका गेब्रियललाई कतिपयले मेसीसँग तुलना गर्छन् । ओल्ड ट्राफोर्डमा उनलाई ‘क्लास अफ ९२’ पछिकै उत्कृष्ट ‘होमग्राउन’ खेलाडी मानिएको छ । २०३० को विश्वकपमा उनी किशोरावस्थामै टोलीमा पर्ने सम्भावना छ ।
१२. काभान सुलिभान (अमेरिका – फिलाडेल्फिया युनियन)
सुलिभानलाई अमेरिकी फुटबलको नयाँ अनुहार मानिएको छ । २०२७ मा म्यानचेस्टर सिटीमा आबद्ध हुने पक्का भइसकेका १७ वर्षीय सुलिभानले अमेरिकी लिग (एमएलएस)मा आफ्नो प्रभाव जमाउन सुरु गरिसकेका छन् । उनलाई आफ्नो उमेर समूहको विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ ।
१३. जुलियन हल (अमेरिका – न्यूयोर्क रेड बुल्स)
१८ वर्षीय हलले अमेरिकी शीर्ष लिगमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका छन् । यस सिजन उनले १५ खेलमा ९ गोल र ४ असिस्ट गरिसकेका छन् । उनी चाँडै नै युरोपका ठूला क्लबमा देखिनेछन् र २०३० मा अमेरिकी आक्रमणको नेतृत्व गर्नेछन् ।
१४. रोड्रिगो मोरा (पोर्चुगल – पोर्टो)
रोनाल्डोपछिको पोर्चुगलमा पोर्टोका रोड्रिगो मोराले नायकको भूमिका निभाउने अपेक्षा गरिएको छ । १९ वर्षीय मिडफिल्डर मोराले पोर्टोलाई पोर्चुगिज लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। बार्सिलोना र पीएसजीले उनलाई अनुबन्ध गर्न निकै चासो देखाएका छन् ।
१५. सन स्टुर (नेदरल्याण्ड्स – न्युक्यासल)
न्युक्यासलले आयाक्सका १८ वर्षीय स्टुरका लागि २३ मिलियन पाउन्ड खर्चिएर सबैलाई अचम्ममा पारेको थियो । पास गर्ने उत्कृष्ट कला र मैदानमा लामो समय दौडिन सक्ने क्षमता भएका स्टुर २०३० सम्ममा डच मिडफिल्डका निर्विकल्प खेलाडी बन्नेछन् ।
१६. नाथन डे क्याट (बेल्जियम – होफेनहाइम)
१८ वर्षीय डे क्याट २० मिलियन युरोमा होफेनहाइममा आबद्ध भएका छन् । रक्षात्मक मिडफिल्ड र नम्बर १० दुवै स्थानमा खेल्न सक्ने उनी बेल्जियमको नयाँ पुस्ताका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् ।
१७. गेब्रियल राज्कोभिक (नर्वे – भालरेन्गा)
१५ वर्ष नपुग्दै नर्वेको शीर्ष लिगमा डेब्यु गरेर इतिहास रचेका राज्कोभिक बायाँ विङ्गबाट खेल्छन् । उनलाई एर्लिङ हालान्ड र मार्टिन ओडेगार्ड जस्तै विश्वस्तरको खेलाडी बन्ने बाटोमा रहेको मानिएको छ ।
१८. अब्देल्लाह ओआजेन (मोरक्को – आयाक्स)
नेदरल्याण्ड्समा जन्मिएका १७ वर्षीय ओआजेनले मोरक्कोको प्रतिनिधित्व गर्छन् । आयाक्सको एकेडेमीमा प्रशिक्षित उनलाई अनुबन्ध गर्न रियल मड्रिडले अन्तिम समयसम्म प्रयास गरेको थियो । उनी मोरक्कोलाई विश्वकपको फाइनलसम्म पु¥याउने सपना बोकेका खेलाडी हुन् ।
१९. जोर्थी मोकियो (डिआर कंगो – आयाक्स)
आयाक्सका १८ वर्षीय मोकियो रक्षापंक्ति र मिडफिल्ड दुवैमा उत्तिकै प्रभावशाली छन् । म्यानचेस्टर युनाइटेड र चेल्सीको नजरमा परेका उनले हालै आयाक्ससँग २०३१ सम्मका लागि सम्झौता गरेका छन् ।
२०. सामुएल इनासियो (इटाली – बोरुसिया डर्टमन्ड)
लगातार विश्वकप गुमाइरहेको इटालीका लागि इनासियो एउटा ठूलो आशा हुन् । १८ वर्षकै उमेरमा बुन्डेसलिगामा गोल गरिसकेका र इटालीको सिनियर टोलीबाट डेब्यु गरिसकेका उनी आक्रामक मिडफिल्डका भविष्यका तारा हुन् ।









प्रतिक्रिया दिनुहोस्