निःशुल्क आँखा अप्रेसन भएपछि स्थानीय खुसी



खगेन्द्र दाहाल । खजुरा (बाँके) ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ भैरवगन्ज निवासी ५७ वर्षीया साबदा कुरैसीको परिवारमा साँझबिहान के खाने ? भन्ने नै पिर छ । झण्डै ६० वर्षअघि बनाएको सानो घर पनि भत्किँदै गएको छ । त्यसैमाथि उनको आमासहित आफ्नो आँखामा मोतिविन्दु भएपछि सक्ने काम पनि गर्न नसक्ने अवस्थामा भएकी थिइन् उनी । शिविरमा आएकी साबदाले आँखा परीक्षण र मोतिविन्दुको अप्रेसन निःशुल्क रुपमा गराउन पाइन् ।

आँखा देख्न थालेपछि साबदा भन्छिन्, ‘धेरै नै धमिलो देख्ने मेरो आँखाले अहिले चामलसमेत केलाउन सक्छ ।’ ५२ वर्षिय नाजमा हल्वाईको दुवै आँखाले राम्रोसँग देख्न नसकेको १८ महिना बढी भइसक्यो । नेपालगन्ज उपमहानगरपालिका ५ मा बस्ने नाजमा देखिरहेको मान्छेले बीचमा राम्रोसँग देख्न छाड्दा दुनियाँ अँध्यारो जस्तो लाग्न थालेको बताइन् । रुइत फाउन्डेशनको सहयोगमा फत्तेबाल आँखा अस्पतालमा हल्वाईको आँखामा भएको मोतिविन्दुको अप्रेसन भयो । अहिले सहजै रुपमा देख्न सक्ने भएकी छन् । अप्रेसनपछि हल्वाईको खुसीको सीमा छैन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष ७० की गोगी रावतलाई आँखामा ५ महिना अघिदेखि जाली लागेको जस्तो हुन्थ्यो । दुवै आँखामा मोतिविन्दु भएपछि छामछुम गरेरै बस्न बाध्य भएकी उनले प्रष्ट देख्न सकिनन् । आर्थिक रुपमा कमजोर उनको परिवारले उपचार गराउन पनि सकिरहेको थिएन । नजिकै निःशुल्क शिविर आएपछि उनको चेकजाँचसहित आँखाको मोतिविन्दुको अप्रेसनसमेत भयो ।

नेपालगन्ज शारदानगर बस्ने ७४ वर्षीय निमबहादुर रानाको चिकित्सकले एउटा आँखा ४ महिनाअघि नै अप्रेसन गर्नुपर्छ भनेका थिए । तर, घरको आर्थिक अवस्था नाजुक हुँदा उपचार गर्नबाट वञ्चित थिए । रानाजस्तै रुकुम बाफिकोट ७ का ८६ वर्षीय रनवीर कुसारीको पनि दुवै आँखामा मोतिविन्दु भएको थियो । उनले नेपालगन्ज आएको बेला शिविरमा आँखा परीक्षण गराए । कुसारीले आँखाको उपचार गराउन रुकुममा प्रयास नगरेका भने होइनन् ।

रुकुममा उपचार सम्भव नभएपछि नेपालगन्ज समय मिलाएर आउनुपर्ने बाध्यता थियो । नेपालगन्जमा शिविर सञ्चालन भैरहेको थाहा पाएपछि कुसारीले आँखा परीक्षण गराए । मोतिविन्दुको अप्रेसन तत्कालै गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझावअनुसार शिविरमार्फत परीक्षण हुँदा निःशुल्क रुपमा अप्रेसन गराउने अवसर प्राप्त गरे । दुई वर्षदेखि दुवै आँखामा मोतिविन्दु भएपछि उनलाई हिँडडुल गर्नमै समस्या थियो तर अहिले कुसारीले राम्रो देख्न सक्छन् ।

चितवन माडीका खगेन्द्र सापकोटाले नेपालगन्ज सम्धीको घर आएको बेला शिविर अवधिभर दुवै आँखाको मोतीविन्दुको अप्रेसन गराए । ‘नेपालगन्जमा रहेको फत्तेबाल आँखा अस्पतालको नाम धेरै सुनेको थिएँ, अहिले आफूले सेवा लिन पाउँदा हर्षित छु,’ सापकोटाले भने । सापकोटाले पनि राम्रोसँग आँखा देख्न छाडेको २ वर्ष भएको थियो। सापकोटा भन्छन्, ‘मैले त नजिकैको समेत देख्दैन थेँ । अहिले शिविरमार्फत सहज रुपमा उपचार सेवा पाउँदा हर्षित छु ।’ निःशुल्क रुपमै सेवा प्रदान गरेकोमा सापकोटाले धन्यवाद दिए ।

नेपालगन्जका १ देखि १२ सम्मका वडामा सञ्चालन भएको निःशुल्क मोतिविन्दु छनोट शिविरबाट उनीहरु जस्ता बिरामीलाई सहायता भएको छ । फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजना, रुइत फाउण्डेशन काठमाडौँको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वय रहेको शिविरले आर्थिक अवस्था कमजोर रहेका परिवारमा आशाको दियो बालिदिएको छ ।

आँखा शिविरमा छनोट भएका १४९ जनालाई मोतिविन्दुको अप्रेसनका लागि सिफारिस गरि पालौपालो बोलाउने काम भइरहेको अस्पतालले जनाएको छ । नेपालगन्जको १२ वटै वडामा गरिएको शिविरमा ९२२ जना बिरामीलाई सेवा दिइएको फत्तेबाल आँखा अस्पताल फुल्टेक्राका नेत्र अधिकृत उमर सादिक बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार