२०८३ वैशाख २६ गते कोहलपुर नगरपालिकाले शान्तिनगर सुकुम्वासी बस्तीमा डोजर लगाएपछि त्यहाँका नागरिकलाई अहिले तीन वटा होल्डिङ सेन्टरमा ११६ परिवारलाई राखिएको छ । जहाँ नयाँ बसपार्कको टर्मिनल भवनमा एक सय परिवार, दिपशिखा आधारभूत विद्यालयमा १४ परिवार र पुरानो बसपार्कमा दुई परिवार बसोबास गर्दै आएका छन् ।
शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
कोहलपुर–११ स्थित बसपार्कको टर्मिनल भवन, जसलाई अहिले होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिएको छ । जहाँ एक सय सुकुम्वासी परिवार छन् । २०८३ वैशाख २६ गते कोहलपुर–११ स्थित शान्तिनगर बस्तीमा नगरपालिकाले डोजर लगाएपछि त्यहाँ बसोबास गरिरहेकाहरूलाई अहिले टर्मिनल भवनमा राखिएको छ । भवनको तीन वटा तलामा उनीहरूलाई राखिएको छ । होल्डिङ सेन्टर प्रवेश गर्ने मूल ढोकामै बसपार्कको प्रतीक्षालय छ ।
सोमबार दिउँसो त्यहाँ पुग्दा केही यात्रु बसको प्रतिक्षा गरिरहेका थिए । होल्डिङ सेन्टरको तल्लो तलामा लहरै बसेका छन्, एक दर्जन बढी सुकुम्वासी । जहाँ कोही खाटमा सुतिरहेका थिए । केही महिला एकआपसमा गफिदै थिए । बालबालिकाहरूको एक हुल भुइँमा खेलिरहेको थियो । केही सिँढीमा तलमाथि गर्दै थिए । होल्डिङ सेन्टरको दोस्रो तला पुग्दा भने तीन जना महिला भेटिए । त्यही हुलमा भेटिइन् ७० वर्षीया गंगा परियार । जो विगत दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बसोबास गरिरहेकी छन् । उनको परिवारमा ५ जना सदस्य छन् ।
पुख्र्यौली घर सुर्खेत भएकी उनी विगत १८ वर्षदेखि शान्तिनगर बस्तीमा बस्दै आएकी थिइन् । तर, दैनिकी मजदुरी गरेर बनाएको छाप्रो नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि उनी होल्डिङ सेन्टरमा आइपुगिन् । एकल महिला समेत रहेकी परियारले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै आफ्ना आर्तनाद सुनाइन् । उनले निकै उकुसमुकुस अवस्थामा बसोबास गरिरहेको बताइन् । ‘बुढो शरीर छ । मन बेचैन छ । स्वास्थ्य ठिक छैन । राति सुत्यो । बिहान उठ्दा के खाने ? केही पनि यकिन छैन । यहाँ निकै गाह्रो छ,’ गंगाले भनिन् ।
उनीसँगै बसिरहेका छोरा बुहारी नै बिरामी भएर अहिले भेरी अस्पतालमा उपचारत छन् । आफू भने नाति र नातिनी सम्हालेर बसिरहेको उनको भनाइ थियो । तपाईँलाई यहाँ के–के कुराको समस्या छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘कति वटा समस्या सुनाउँ हजुरलाई । सबैभन्दा ठूलो समस्या रासनको छ । भोलि के खाने भन्ने पीर छ । यहाँबाट पनि कहिले लखेट्ने हुन्, साह्रै डर लाग्छ,’ बिनाविकल्प नगरपालिकाले घरबारविहीन बनाइदिँदा आफू जस्ता सुकुम्वासीहरूको बिचल्ली भएको उनले गुनासो गरिन् ।
होल्डिङ सेन्टरमै बस्दै आएकी खुम्बिनी सार्की सुनाउँछिन्, ‘सरकारले हाम्रो बास खोस्यो । होल्डिङ सेन्टरमा ल्याएर राखेको छ । हामी त खुला कारागारमा राखिएका कैदीजस्ता भएका छौँ । न कहीँ जाने ठाउँ छ, न त केही गर्ने ठाउँ छ ।’ ६ जनाको परिवारसँगै बसोबास गर्दै आएकी उनका श्रीमान् मकै पोलेर बिक्री गरि जीविकोपार्जन गरिरहेका छन् । उनका अनुसार होल्डिङ सेन्टरमा खाने, लाउने र स्वास्थ्य उपचारको निकै ठूलो समस्या रहेको छ ।
उनले होल्डिङ सेन्टरमा रासन र बस्नको लागि जग्गाको व्यवस्थापन गरिदिन सरकारसँग माग गरिन् । उनले भनिन्, ‘एउटै कोठामा दुई परिवार राखिएको छ । हाम्रा बच्चाबच्ची छन् । पढ्न पनि पाउँदैनन् । लेख्न पनि पाउँदैनन् । बालबालिकाहरूको पढ्ने अधिकार नै हनन भएको छ ।’ अर्की सुकुम्वासी मीना दमाईले जसोतसो खाने गास भए पनि उचित बास नहुँदा आफूहरू निकै चिन्तिन भएको बताइन् । उनले एकसुत्रीय माग सुनाइन्, ‘बालेन सरकारलाई दश औँला जोडेर बिन्ती छ, हामीलाई बस्ने उचित बास चाहियो । अरु केही पनि चाहिँदैन ।’ होल्डिङ सेन्टरमा स्वास्थ्यसम्बन्धी कुनै पनि आधारभूत आवश्यकता नै नभएको उनले सुनाइन् ।
होल्डिङ सेन्टरको सबैभन्दा तल्लो तलामा बसोबास गर्दै आएकी दिलसरा परिवारको दुई महिनादेखि दिल खुसी छैन । उनका अनुसार होल्डिङ सेन्टरमा सुकुम्वासीलाई अपराधीसरह राखिएको छ । ‘हामीसँग जग्गा नहुनु हाम्रो अपराध हो र ?, दुःख गरेर सानो झुपडी बनाएका थियौँ । त्यो पनि सरकारले डोजर लगाएर भत्काइदियो । यहाँ कैदीबन्दी जस्तो जीवन जिइरहेका छौँ । गरिब दुःखीको पक्षमा सरकार पनि नहुँदो रहेछ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् ।
जोखिममा महिला र बालबालिका
२०८३ वैशाख २६ गते कोहलपुर नगरपालिकाले शान्तिनगर बस्तीमा डोजर लगाउँदा सयौँ घरपरिवार घरबारविहीन भए । कोहलपुर नगरपालिकाका अनुसार तीन वटा होल्डिङ सेन्टरमा हाल ११६ घरपरिवार सुकुम्वासी बसोबास गर्दै आएका छन् । नयाँ बसपार्कको टर्मिनल भवनमा एक सय परिवार, दिपशिखा आधारभूत विद्यालयमा १४ परिवार र पुरानो बसपार्कमा दुई परिवार बसोबास गर्दै आएका छन् ।
उनका अनुसार नगरपालिकाले त्यहाँ रहेका सुकुम्वासीहरूको दैनिक रूपमा निगरानी गर्दै आएको छ । नगर प्रहरी प्रमुख थापाले दैनिक निगरानी गरिरहेको बताए पनि होल्डिङ सेन्टरको वास्तविकता अर्कै छ । त्यहाँ बसिरहेका सुकुम्वासी बेचैन छन्, उत्तिकै असुरक्षा छ । आवश्यक सुरक्षा प्रबन्ध नहुँदा होल्डिङ सेन्टर असुरक्षित छ । त्यहाँ सबैभन्दा बढी जोखिममा महिला र बालबालिका रहेका छन् ।
नयाँ बसपार्कस्थित टर्मिनल भवनको होल्डिङ सेन्टरमा बसिरहेकी जानकी सुनारका अनुसार शौचालयको प्रबन्ध नहुँदा रातिको समयमा छोरी मान्छे र महिला जोखिममा रहेका छन् । त्यहाँ तल्लो तलामा रहेका सुकुम्वासी बसपार्कको सार्वजनिक शौचालय प्रयोग गर्दै आएका छन् । तेस्रो तलामा अर्को शौचालय छ । त्यौ शौचालय सयौँ जनाले संयुक्त रूपमा प्रयोग गर्छन् ।
त्यहाँ रातिको समयमा महिलाहरूलाई निकै असुरक्षा रहेको सुनार बताउँछिन् । खानेपानी र विद्युत्को व्यवस्था रहेको छ । होल्डिङ सेन्टरमा बालबालिका बढी जोखिममा छन् । बाहिरबाट आउने व्यक्तिहरूबाट सबैभन्दा असुरक्षा रहेको छ । दैनिक त्यहाँ बाहिरबाट आउने समूहबीच झगडा हुने गरेको छ । नगर प्रहरीले रातिको समयमा होल्डिङ सेन्टरमा ड्युटी गर्दैनन् । कोहलपुर नगरपालिकाले पनि झुल वितरण गर्नुबाहेक अन्य कुनै पनि सहयोग गरेको छैन ।









प्रतिक्रिया दिनुहोस्